"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

देशभर विभिन्न कार्यक्रम गरेर २० औं राष्ट्रिय धान दिवस मनाइँदै

प्रकाशित मिति :  १५ असार २०८०, शुक्रबार १२:२८


सङ्खुवासभाको खाँदबारी नगरपालिका-३ स्थित महेन्द्र माध्यमिक विद्यालय मानेभञ्याङले आयोजना गरेको धान दिवसमा धान रोप्दै कृषि क्याम्पसमा विद्यार्थी । तस्बिर ः भविन कार्की/रासस

काठमाडौँ। आज देशभर विभिन्न कार्यक्रम गरेर २० औं राष्ट्रिय धान दिवस मनाइँदै छ। यो वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ सरकारी तथा निजी क्षेत्रका विभिन्न संघ संस्थाले रोपाइँ कार्यक्रम गरेर धुमधामका साथ दिवस मनाइँदै छ। दिवसका अवसरमा देशभर धान रोपाइँ र दही चिउरा खाने कार्यक्रम आयोजना गरिएको छ।

कृषि विभागको आयोजनामा खुमलटारस्थित कृषि अनुसन्धान परिसद् परिसरमा रोपाइँ महोत्सव आयोजना गरिएको छ। उक्त कार्यक्रममा कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसाललगायत उच्च सरकारी अधिकारीको सहभागिता रहनेछ।

यस वर्ष जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि मूल नाराका साथ विभिन्न सरोकारवालासँगको समन्वय तथा सहकार्यमा २०औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० देशभर विभिन्न तह र स्थानमा मनाइँदै छ।

यसै अवसरमा उत्पादन र उत्पादकत्व दिगो तथा उच्च कायम गर्नका लागि धान बालीमा जलवायु अनुकूलित कृषकमैत्री प्रविधिको सम्बन्धमा अधिकतम् प्रचार-प्रसार गरी राष्ट्रिय कार्यक्रमलाई सफल बनाउन कृषि विभागका महानिर्देशक एवम् रोपाइँ महोत्सव, मूल आयोजक समितिका अध्यक्ष डा. हरि केसीले विज्ञप्तिमार्फत अनुरोध गरेका छन्।

धान हरेक नेपालीको आर्थिक, सामाजिक तथा सांस्कृतिक जीवनसँग गाँसिएको छ। जन्मेदेखि मृत्युसम्मका कर्ममा तथा वर्षभरि मनाइने विभिन्न चाडपर्वमा समेत धानको प्रयोग अपरिहार्य हुने भएकाले धान हाम्रो खाद्यान्नमात्र नभएर संस्कृतिको धरोहर पनि हो।

कृषि विभागका अनुसार समुद्री सतहबाट तराईमा ६० मिटरदेखि संसारको सबैभन्दा उच्च स्थानमा जुम्लाको छुमचौरमा तीन हजार ५० मिटर उचाइसम्म धानको खेती गरिन्छ। मुलुकको कुल ग्राहस्थ्य उत्पादनमा करिब २४ दशमलव एक प्रतिशत कृषिको योगदान रहेकामा कृषि क्षेत्रका ग्राहस्थ्य उत्पादनमा धानको १५ प्रतिशत योगदान रहेको छ। यस तथ्यले पोषण सुरक्षामा धानको उल्लेखनीय महत्व दर्शाउँछ।

राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउनसमेत धानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। आर्थिक वर्ष २०६१/६२ देखि असार १५ गतेलाई राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन थालिएको हो।

यसै सन्दर्भमा देशको आवश्यकता र प्राथमिकताका आधारमा विभिन्न नारा तय गर्ने सिलसिलामा यस वर्ष धानमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्ने कुरालाई मध्यनजर गरी राष्ट्रिय धान दिवसको नारा तय गरिएको छ।

विभागको विवरणमा आव २०७९/८० मा १४ लाख ४७ हजार हेक्टर क्षेत्रफलमा धानखेती भई ५४ लाख ८६ हजार मेट्रिक टन धान उत्पादन भएको छ। अघिल्लो वर्षको तुलनामा धानको क्षेत्रफल शून्य दशमलव १९ प्रतिशतले घटेको भए पनि उत्पादन भने छ दशमलव नौ प्रतिशतले वृद्धि भएको छ।

जलवायुमैत्री कृषि प्रविधिले जलवायु परिवर्तनका प्रभावसँग अनुकूलन गरी हरितगृह ग्यासको उत्सर्जनलाई कम गर्ने, धान उत्पादनमा वृद्धि गर्ने तथा खाद्य सुरक्षालाई सुनिश्चित गर्दछ। जलवायु अनुकूलन भन्नाले बदलिँदो वातावरणसँग मिल्दो हुने गरी प्रविधि विकास गर्ने भन्ने बुझिन्छ।

०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा पनि यो दिवसका रूपमा मनाउन सुरु गरिएको हो। मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेलाई रोपाइँ जात्रा, हिलो खेल्ने, दही चिउरा खानेजस्ता नामले पनि मनाउने चलन छ।

असारे भाकामा लोकदोहोरी गीत गाउँदै, हिलो छ्यापाछ्याप गर्दै आज धान रोप्ने चलन रहेको छ। असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। कृषिसहित सबै पेसा-व्यवसायमा लागेका नेपालीले आज दही चिउरा खाई असार १५ मनाउँछन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले हरे वर्ष ल्याउने बजेट लक्ष्य अनुसार खर्च किन हुदैन आर्थिक वर्षको अन्त्यमा कहिले पनि छलफल गर्ने गरेको छैन

स्याङ्जा । गल्याङ कृषि पशु उद्यमशीलता विकास परियोजना अन्तर्गत २५६ बीउ बाख्रा वितरण गरिएको छ । ‘भोकालाई एक छाक भोजन

काठमाडौं । विश्व बैंकले नेपालका लागि थप ८ करोड (१० अर्ब ६९ करोड रुपैयाँ) अमेरिकी डलर बराबरको विकास नीति ऋण

काठमाडौं । अनुसन्धानको क्षेत्रमा काम गर्ने विश्वचर्चित गार्टनर इङ्कको तथ्याङ्क अनुसार सन् २०२४ मा विश्वभर ५० खर्ब अमेरिकी डलर (छ