"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विश्वकप उपाधीका लागि अस्ट्रेलिया र भारतको भिडन्त

प्रकाशित मिति :  ३ मंसिर २०८०, आईतवार १२:२२


काठमाडौँ। तेह्रौँ सिजनको विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा अस्ट्रेलिया र भारत भिड्दै छन्। आज (आइतबार) दिउँसो सवा २ बजेदेखि अहमताबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने खेल क्रिकेट प्रेमीका लागि प्रतिक्षित बनेको छ। सामाजिक सञ्जाल फेसबुक तथा एक्समा दुवै टिमका समर्थकले समर्थनसहित जित्ने आकलन गरिरहेका छन्।

फाइनल यात्रा

रोहित शर्माको कप्तानीमा रहेको भारतले लिग चरणको आफ्नो पहिलो खेलमै अस्ट्रेलियाली टिमलाई ६ विकेटले हराएर जारी प्रतियोगिताको यात्रा सुरु गरेको हो। भारतले अस्ट्रेलिया पछि लिग चरणमा अफ्गानिस्तानलाई ८ विकेटले, पाकिस्तान तथा बंगलादेशलाई ७-७ विकेटले पराजित गरेको हो।

त्यस्तै न्युजिल्याण्डलाई लिग चरणमा ४ विकेट तथा सेमिफाइनलमा ७० रनले पराजित गर्दै भारतले फाइनल यात्रा तय गरेको हो।

सेमिफाइनल अघि लिग चरणकै खेलमा भारतले इंग्ल्याण्डलाई सय रन, श्रीलंकालाई ३०२ रन, साउथ अफ्रिकालाई २४३ रन तथा नेदरल्याण्ड्सलाई १६० रनले हराउँदै भारतको फाइनल पक्का भएको हो।

त्यस्तै अस्ट्रेलिया आफ्नो पहिलो खेलमा भारतसँग ६ विकेटको हार चाखेर दोस्रो खेलमा साउथ अफ्रिकासँग १३४ रनले पराजित भएको हो।

त्यसपछिका सबै खेल जित्दै खेलमा फर्केको अस्ट्रेलियाले श्रीलंकालाई ५ विकेट, पाकिस्तानलाई ६२ रन, नेदरल्याण्डसलाई ३०९ रन तथा न्युजिल्याण्डलाई ५ रनले पराजित गर्दै फाइनलतिर अगाडि बढेको हो।

अस्ट्रेलियाले इंग्ल्याण्डलाई ३३ रन, अफगानिस्तानलाई ३ विकेट, बंगलादेशलाई ८ विकेटले हराउँदै सेमिफाइनल पुगेको अस्ट्रेलियाले सेमिफाइनलमा साउथ अफ्रिकालाई ३ विकेटले हराउँदै फाइनलमा भारतसँगको भेट पक्का गरेको हो।

जारी प्रतियोगितामा दुवै टिमको प्रदर्शनअनुसार भारत बलियो देखिन्छ। कुल १० खेलमा १० नै जितको भारतीय टिममा टप अर्डर ब्याटरदेखि तल्लो क्रमसम्मै राम्रो देखिन्छ। आयोजकसमेत आफैँ रहेको भारतका बलर पनि प्रत्येक खेलमा कोही न कोही चलेकै हुन्छन्।

प्रतियोगिताको पहिलो खेलमै अस्ट्रेलियालाई पूरा ओभर खेल्न नदिई १९९ रनमै भारतले अल आउट गरेको थियो।

दुई टिमको हेड टु हेड

पहिलो संस्करणदेखि नै एक दिवसीय विश्वकपमा सहभागी हुँदै आएका दुवै टिमले जारी प्रतियोगितासम्म विश्वकपमा १३ खेल खेलेका छन्।

सोमध्ये अस्ट्रेलियाले ८ खेल जितेको छ। सन् २००३ को फाइनलमा पनि अस्ट्रेलिया र भारत नै भिडेका थिए। अस्ट्रेलियाले फाइनल जितेको थियो।

भारतले विश्वकपमा भएका उक्त खेलमध्ये ५ खेलमात्रै जितेको छ। दुवै टिमबीच हालसम्म १५० वटा एक दिवसीय खेल भएका छन्। त्यसमा अस्ट्रेलियाले ८३ तथा भारतले ५७ खेल जितेको छ। बाँकी १० खेल नतीजाविहीन रहेका छन्।

विगतमा भएका खेल र नतीजाको आधारमा अस्ट्रेलियाको इतिहास राम्रो देखिन्छ। जारी प्रतियोगितामा अस्ट्रेलियालाईसमेत हराएको र फाइनल पुग्दासम्म हारविहीन रहेको भारत बलियो देखिन्छ। घरेलु मैदानमा दर्शकको पनि राम्रो साथ पाइरहेका भारतीय खेलाडी निकै उत्साहित देखिन्छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

वेस्ट इण्डिज ए विरूद्धको टी-२० सिरिजमा नेपालले आज चौथो खेल खेल्दैछ। तीन खेलमा दुई खेल गुमाइसकेको नेपालले सिरिज आफ्नो पक्षमा

काठमाडौँ । ट्वान्टी-२० विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले बुधबार रोहित पौडेलको कप्तानीमा १५

काठमाडौँ । तेस्रो टी-२० खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई ७६ रनले पराजित गरेको छ। यससँगै सिरिजमा वेस्ट इन्डिजले २-१ को अग्रता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको