"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सांसदहरुले नै किन उठाए सभामुखको निष्पक्षतामाथि प्रश्न ?

प्रकाशित मिति :  ३० श्रावण २०८०, मंगलवार १३:३६


काठमाडौँ । सुन तस्करी प्रकरणले राजनीतिक दलहरूबीच आरोपप्रत्यारोप मात्रै नभई त्यसको प्रभाव संसद्मा परेपछि सभामुख देवराज घिमिरेमाथि निष्पक्षताको प्रश्न उठेको छ । पदीय गरिमा र जिम्मेवारी निर्वाह गर्न नसकेको भन्दै सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले घिमिरेमाथि प्रश्न गरेका हुन् ।

बैठकको सुरुमै एमालेका सबै सांसद, कांग्रेसका सुनील शर्मा, नेमकिपाका प्रेम सुवाललगायत आकस्मिक समयमा बोल्न भन्दै सिटबाट उठेका थिए । कांग्रेस, माओवादी, रास्वपालगायतका दलले भने आकस्मिक समयमा बोल्ने सांसदहरूको नाम सभामुखलाई टिपाएका थिए । उभिएका सांसदमध्ये सभामुखले कांग्रेसका शर्मालाई बोल्न माइक दिए, एमालेका सांसदलाई बस्न आग्रह गरे ।

यसअघिका बैठकमा सांसद उभिइरहेका बेला अर्को सांसदलाई बोल्न नदिने अभ्यास थियो । सभामुखले उभिएर विरोध गरिरहेको अवस्थामा माइक नदिने गरेका थिए । सोमबार भने एमाले सांसदलाई एक पटक मात्रै बस्न आग्रह गरे तर उनीहरू बसेनन् । कांग्रेस सांसद शर्माले आफ्ना धारणा राखिरहे । एमाले सांसदहरू सुवास नेम्वाङ र रघुजी पन्तबाहेकका सांसद उभिएका थिए । नक्कली प्रमाणपत्रको अभियोगमा पक्राउ परेर छुटेका शर्माले संसद्मा उक्त प्रकरण उठाए ।

‘अहिलेका गृहमन्त्रीले मलाई आतंककारीजस्तो बनाएर अरेस्ट गर्नुभयो, उहाँले बिनासर्त राजीनामा गर्नुपर्छ । अहिलेदेखि अन्तिमसम्म मेरो यो माग रहनेछ,’ उनले भने । कांग्रेस संसदीय दलको सोमबार मात्रै सकिएको बैठकमा उनले संसद्मा आफूले गरेको प्रस्तुति र प्रहरी हिरासतबाट छुटेपछि गरेका गतिविधिलाई लिएर क्षमायाचना गरेका थिए ।

शर्माले बोल्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई लाञ्छना लगाउने भाषा प्रयोग गरेको भन्दै माओवादी मुख्य सचेतक हितराज पाण्डेले नियमापत्ति जनाए । तर, सभामुखले समय दिएनन् । एकातिर प्रमुख प्रतिपक्षका सांसद र अर्कातिर सरकारको नेतृत्व गरिरहेको माओवादीका सांसद पनि उभिए ।

सभामुख घिमिरेले भने न एमाले सांसदलाई बस्न भने न माओवादीलाई नियमापत्ति राख्नका लागि समय दिए । नियमापत्तिका लागि उभिँदा सभामुखले तत्काल बोलिरहेका सांसदलाई रोकिन भन्ने र नियमापत्ति गर्नेलाई कुन नियमअनुसार के विषयमा नियमापत्ति हो भन्ने अभ्यास छ । तर, सभामुख घिमिरेले सांसद शर्माले बोलिसकेपछि पनि पाण्डेलाई समय दिएनन् । उनले एमालेका सांसद मानवीर राईलाई बोल्न समय दिए । त्यतिबेला माओवादीका अरू सांसद पनि उठेर विरोध गर्न थाले ।

सत्तापक्षबाट होहल्ला र टेबल ठोकेर नियमापत्तिका लागि समय माग चर्को भएपछि राईलाई रोकेर सभामुखले पाण्डेलाई समय दिए । पाण्डेले बोल्न लाग्दा एमालेका सांसदहरूले होहल्ला गर्न थाले ।

पाण्डेको नियमापत्तिप्रति ध्यानाकर्षण भएको भनेपछि माओवादी सांसदहरू बसे र फेरि एमालेका राई बोल्न थाले । राईले बोलिनसक्दै सभामुखले ‘शून्य समय’ सुरु गर्ने घोषणा गरे । जबकि आकस्मिक समयमा बोल्नका लागि कांग्रेस, रास्वपालगायतका सांसदले समय मागेका थिए । सभामुखले शून्य समय सुरु गर्ने भनेपछि एमाले सांसदले नाराबाजी गर्न थाले ।

एमाले सांसदका नारा सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठनका अलवा ‘सुशासन कायम गर’, ‘संसदीय मर्यादा कायम गर’ लगायतका थिए । एमालेले नाराबाजी गरिरहँदा रास्वपाका सभापति रवि लामिछाने, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसहित सबै सांसद सिटबाट उठेर विरोध गर्न थाले ।

लामिछानेले सभामुखतिर औंला तेर्स्याएर ‘सदन हाइज्याक’ भएकाले खुलाउन र बोल्नका लागि माइक दिन आग्रह गरिरहेका थिए भने श्रेष्ठले संसद्मा बोल्न नदिएर विभेद गरिएको भन्दै असन्तुष्टि जनाइरहेका थिए । नाराबाजी र संसद् हाइज्याक भएको चेतावनीका बीच सभामुखले प्रतिनिधिसभाको बैठक भदौ ३ सम्मका लागि स्थगित भएको घोषणा गरिदिए ।

प्रतिनिधिसभा बैठक साता दिनका लागि स्थगित भएपछि संसद्को चौथो ठूलो दल रास्वपाका सभापति लामिछानेले संसद् भवनस्थित बैठक कक्षमा प्रवेश गर्ने ढोकामा उभिएर सभामुखको निष्पक्षतामाथि प्रश्न उठाए । सभामुखको कुर्सीमा पुगे पनि घिमिरेले दलीय व्यवहार त्याग्न नसकेको लामिछानेले आरोप लगाए ।

‘दल छाडेर सदन छिरिसकेपछि, सम्मानित कुर्सीमा बसिसकेपछि दलको बन्न पाइँदैन । व्यवहारले पनि पाइँदैन, क्रियाकलापले पनि पाइँदैन । भित्री र बाहिरी रूपमा पनि पाइँदैन,’ उनले भने । सभामुखले दलीय आबद्धता त्याग्न नसके लोकतन्त्रको मूल्य र मान्यतामाथि ठूलो कुठाराघात हुने उनको भनाइ थियो । ‘यो क्रियाकलापले पदीय गरिमा, स्वतन्त्रताको पर्याय बन्नुपर्ने त्यो ठाउँमा शंकाको ठूलो एउटा घेरा देखिएको छ । अत्यन्तै धेरै शंका गर्नुपर्ने घेरा देखिएको छ,’ उनले भने ।

सत्तारूढ कांग्रेसका सांसद तथा प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति सदस्य रामहरि खतिवडाले सभामुख घिमिरेले संसद्मा मनखुसी कार्यक्रम अगाडि सारिरहेको भनाइ राखे । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पार्टीबाट बोल्नका लागि दिएको सांसद सूची सभामुखले आफूखुसी चलाएको बताए । ‘सभामुख घिमिरेले आज पनि मनखुसी कार्यक्रम गर्नुभयो ।

कांग्रेसबाट पहिलो वक्ताको रूपमा आकस्मिक समयमा मलाई राखिएको थियो । दोस्रोमा रमा कोइराला र तेस्रोमा सुनील शर्मा बोल्ने सूची दिइएको थियो । तर सभामुखले सूचीको तेस्रो नम्बरको सांसदलाई सुरुमा समय दिनुभयो,’ उनले भने, ‘शर्माले सुरुवात गरेपछि सिधै प्रतिपक्षलाई समय दिनुभयो । आफू र एमालेलाई फाइदा हुने किसिमले कार्यक्रम प्रस्ताव गर्नुभएको देखियो ।’ सभामुखले पार्टी राजनीतिप्रतिको लगाव त्याग्न नसकेको खतिवडाले आरोप लगाए । ‘सभामुखप्रति नकारात्मक त होइन तर उहाँ पहिलो पटक प्रतिनिधिसभा छिर्नुभएको हो र उहाँको कुनै नेताप्रति अगाध स्नेह भयो । त्यो स्नेह त्याग्न सक्नुभएन,’ उनले भने, ‘सभामुख भएपछि पार्टीको राजनीति त्याग्न सक्नुभएन ।’

कांग्रेस सांसद खतिवडाले सभामुख घिमिरेले दलीय आबद्धता सदनको आसनबाट देखाइरहे एमालेलाई नै घाटा हुने बताए । ‘प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो र सभामुख अग्निप्रसाद सापकोटा । उहाँले सभामुख सापकोटालाई दलबाट सञ्चालित भन्नुहुन्थ्यो । अहिलेका सभामुख घिमिरे यसरी नै चल्नुभयो भने उहाँहरूले त्यस्तो भनेको अर्थै नहुने भयो,’ उनले भने ।

एमाले प्रमुख सचेतक पदम गिरीले भने सभामुखले आफ्नो पार्टीसँग सल्लाह गरेर सदन चलाएको भन्ने आरोप कपोलकल्पित भएको बताए । ‘सभामुखले एमालेसँग सल्लाह गरेर चल्यो भन्ने निराधार, तथ्यहीन र कपोलकल्पित कुरा हो । सभामुखमाथि आरोप लगाएर रास्वपाले धैर्य गुमाएको छ,’ उनले भने । प्रतिपक्षले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति मागेर विरोध गरिरहेको कुरालाई मध्यनजर गर्नुपर्ने गिरीको भनाइ थियो ।

  • कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

वेस्ट इण्डिज ए विरूद्धको टी-२० सिरिजमा नेपालले आज चौथो खेल खेल्दैछ। तीन खेलमा दुई खेल गुमाइसकेको नेपालले सिरिज आफ्नो पक्षमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका

काठमाडौँ । ट्वान्टी-२० विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले बुधबार रोहित पौडेलको कप्तानीमा १५

काठमाडौँ । तेस्रो टी-२० खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई ७६ रनले पराजित गरेको छ। यससँगै सिरिजमा वेस्ट इन्डिजले २-१ को अग्रता