सेलेना गोमेजले किन सामाजिक सञ्जालबाट विश्राम लिने घोषणा गरिन ?

एजेन्सी । अमेरिकी गायिका सेलेना गोमेजले सामाजिक सञ्जालबाट विश्राम लिने घोषणा गरेकी छन् । पूर्वप्रेमी जस्टिन बिबरकी पत्नी हेली बिबरसँगको हालैको विवादपछि उनले फ्यानलाई सामाजिक सञ्जालबाट टाढा हुने निर्णयबारे जानकारी गराएकी हुन् । उनको यो घोषणामा फ्यानले प्रतिक्रिया दिएका छन् ।
इन्स्टाग्राममा धेरै पछ्याइने महिलाको कीर्तिमान राखेको केही दिनमै सेलेनाले दोस्रोपटक सामाजिक सञ्जालबाट टाढिन लागेको जनाएकी हुन् । पूर्वप्रेमी जस्टिन बिबरकी पत्नी हेलीसँग चलिरहेको ‘आँखी भौं’ विवादमा उनी संलग्न थिइन् । यो घटना टिकटकमा सेलेनाको स्वीकारोक्तिबाट सुरु भएको हो जुन संयोगवश उनको आइब्रो ‘ओभर–लेमिनेट’ गरिएको थियो ।
प्रतिक्रियामा अर्की सेलिब्रिटी काइली जेनरले तस्वीर पोस्ट गर्दै क्याप्सन लेखेकी थिइन्, ‘के यो एक दुर्घटना थियो ?’ साथै उनले सेलेना र हेलीको तस्वीरमाथि पनि टिप्पणी गरेकी थिइन् । काइली जेनर र हेली बिबरसँग झगडापछि सेलेनालाई कठिन भएको हुनसक्ने अड्कल काटिएको छ । फ्यानले सामाजिक सञ्जालबाट टाढा हुने सेलेनाको निर्णयलाई समर्थन गरेका छन् ।