"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निर्वाचन २०७९ : चुनावी प्रतिस्पर्धामा ३१.३३ प्रतिशत युवा उम्मेदवार

प्रकाशित मिति :  ३ कार्तिक २०७९, बिहीबार १४:५४


काठमाडौँ । आसन्न निर्वाचनमा प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० सिटमा देशभरबाट पाँच हजार ६३६ जना उम्मेदवार छन् । तीमध्ये ४० वर्ष र सोभन्दा मुनिका युवा उम्मेदवारहरूको संख्या एक हजार ७६६ अर्थात् ३१.३३ प्रतिशत छ । तर, देशभर बलियो संगठन भएका प्रमुख दलहरूले भने युवालाई उम्मेदवार बनाएका छैनन् । ठूला दलले युवालाई उम्मेदवार नबनाएका कारण अधिकांश ठाउँमा युवा उम्मेदवारहरू मुख्य प्रतिस्पर्धामा आउने सम्भावना छैन ।

जसकारण उम्मेदवारीको ३१ प्रतिशत युवा भए पनि प्रतिनिधिसभा र प्रदेशसभामा भने युवाको संख्या न्यून हुने निश्चित छ । पाँच महिनाअघि भएको स्थानीय तह निर्वाचनबाट निर्वाचितमध्ये ४० प्रतिशत युवा छन् । तर, संसद्मा भने त्यतिकै संख्यामा युवा प्रतिनिधित्व हुने गरेको छैन ।

त्यसो त यसपटक प्रतिनिधिसभा र प्रदेशसभामा परेको युवा उम्मेदवारी विगतभन्दा कमजोर हो । ०७४ को निर्वाचनमा ५ हजार १९० ले उम्मेदवारी दिएकोमा एक हजार ८०९ अर्थात् ३४.८५ प्रतिशत युवा थिए । यसपटक पाँच वर्ष अघिको भन्दा कम उम्मेदवारी परेको हो ।

यसपटक प्रतिनिधिसभा सदस्यका लागि दुई हजार ४१२ जना उम्मेदवार छन् । तीमध्ये ७५९ जना युवा छन् । प्रदेशसभा सदस्यतर्फ तीन हजार २२४ उम्मेदवारमध्ये एक हजार सात जना युवा उम्मेदवार छन् । उम्मेदवारी दिएकामध्ये करिब आधाको संख्यामा स्वतन्त्र उम्मेदवार छन् । यसबाट राजनीतिक दलले युवालाई उम्मेदवारका रूपमा अघि सार्न विश्वास नगरेको पुष्टि हुन्छ ।

प्रतिनिधिसभा सदस्यका ७५९ युवा उम्मेदवारमध्ये ३५६ जना स्वतन्त्र उम्मेदवार हुन् भने दलबाट टिकट पाएका युवाको संख्या ४०३ हो । तर, प्रमुख राजनीतिक दलले भने औंलामा गन्न सकिने संख्यामा मात्रै युवालाई उम्मेदवार बनाएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेले ७, नेकपा माओवादी केन्द्रले ६ र नेपाली कांग्रेसले ३ जना युवालाई मात्रै उम्मेदवार बनाएका छन् । कांग्रेसले प्रतिनिधिसभा सदस्यकालागि ९१ उम्मेदवार उठाउँदा ६० वर्ष नाघेकाहरूको संख्या ४९ अर्थात् ५३.८४ प्रतिशत छ । तर, ४० नकटेका युवाको संख्या भने जम्मा तीन मात्रै छ । कांग्रेसबाट रौतहट–२ मा ३५ वर्षे मोहम्मद फिरदोस आलम, मुस्ताङमा २९ वर्षे योगेश गौचन थकाली र कपिलवस्तु–३ मा ४० वर्षे अभिषेकप्रताप शाह उम्मेदवार छन् ।

त्यस्तै, नेकपा एमालेले १४१ जना उम्मेदवार उठाएको छ । त्यसमध्ये ६० नाघेका उम्मेदवारको संख्या ४७ जना अर्थात् ३३.३३ प्रतिशत छ । तर, ४० नकटेका युवाको संख्या भने ७ मात्रै हो । एमालेले बारा–३ मा ४० वर्षे ज्वालाकुमारी साह, काठमाडौं–१० मा ३९ वर्षे हिमेश केसी, मकवानपुर–२ मा ४० वर्षे महेशकुमार बर्तौला, गोरखा–२ मा २९ वर्षे अब्दुस सलाम मियाँ, रोल्पा–१ मा ३६ वर्षे पूर्ण बुढामगर, बझाङमा ३८ वर्षे ऐनबहादुर महर र कैलाली–३ मा ४० वर्षे गौरी शंकर चौधरीलाई उम्मेदवार बनाएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रले देशभर ४६ जना उम्मेदवार उठाएको छ । त्यसमध्ये ६ जनामात्रै युवा छन् । मोरङ–४ मा ३७ वर्षे अमनलाल मोदी, सुनसरी–१ मा ४० वर्षे मुक्सामहाङ सुब्बा, काठमाडौं–७ मा ३६ वर्षे अस्मिता सिंह (मानुषी) यमि भट्टराई, भक्तपुर–१ मा ४० वर्षे सुनिल गोठे, जुम्लामा ३९ वर्षे गोमा गौतम कुँवर र कञ्चनपुर–१ मा ३८ वर्षे बीना मगरलाई उठाएको छ ।

नेपालमा युवाको कानुनी उमेर १६ देखि ४० हो । निर्वाचन कानुनले उम्मेदवार बन्नका लागि २५ वर्ष पूरा भएको हुनुपर्ने भनेको छ । त्यसअनुसार उमेरको हिसाबले २५ वर्ष पुगेको हरेक युवा निर्वाचनमा उम्मेदवार बन्न योग्य हुन्छ । यसपटक प्रतिनिधिसभा सदस्यका लागि २५ वर्षका २० जना उम्मेदवार छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले २५ वर्षका तीन उम्मेदवार खडा गरेको छ । उसले सप्तरी–१ बाट निरञ्जन कुशवाहा, धादिङ–१ बाट हिमेश पन्त र मुस्ताङबाट सुदेश गुरुङलाई उम्मेदवार बनाएको हो । त्यस्तै, सुनसरी–३ बाट पिछडावर्ग निषाद दलित जनजाति पार्टीले कुन्दर बहरदारलाई उम्मेदवार बनाएको छ भने कैलाली–२ बाट मंगोल नेशनल अर्गनाइजेसका पदमबहादुर बुढामगरलाई उम्मेदवार बनाएको छ । यसबाहेक २५ वर्ष उमेरका १५ जना स्वतन्त्र उम्मेदवार छन् ।

अन्य राजनीतिक दलहरूले युवालाई उम्मेदवार बनाएपनि मुख्य प्रतिस्पर्धामा आउने सम्भावना भएका क्षेत्र भने कम छन् । नागरिक उन्मुक्ति पार्टीले ४० नकटेका पाँच जनालाई उम्मेदवार बनाएको छ । त्यसमध्ये कैलाली–१ बाट अध्यक्ष रञ्जिता श्रेष्ठ (३९) र कैलाली–२ मा अरुनकुमार चौधरी (३७) मुख्य प्रतिस्पर्धी बन्न सक्ने देखिन्छन् ।

जनता समाजवादी पार्टीले १५ जना युवालाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १३१ क्षेत्रमा उम्मेदवारी दिँदा ४० नकटेका युवा ७२ जना छन् । विवेकशील साझा पार्टीबाट भने ४० नकटेका दुई जनामात्रै उम्मेदवार छन् ।

नेपाल मजदुर किसान पार्टीले १०९ उम्मेदवार उठाउँदा ३६ जना युवा छन् । राप्रपाले १४० क्षेत्रमा उम्मेदवारी दिएको छ भने ४० नकटेका युवाका २६ जना छन् । मंगोल नेशनल अर्गनाइजेसनले ३९, लोसपाले १५, आमूल परिवर्तन मसिहा पार्टीबाट १०, एकीकृत शक्ति नेपालबाट ६, जनमत पार्टीले १४ र जनसमाजवादी पाटीले ११ जना युवालाई उम्मेदवार बनाएका छन् ।

प्रदेशसभा सदस्यतर्फ भने ठूला दलले पनि तुलनात्मक रूपमा धेरै युवालाई उम्मेदवार बनाएका छन् । प्रदेशसभा सदस्यकालागि तीन हजार २२४ उम्मेदवारमध्ये एक हजार सात जना युवा छन् । त्यसमध्ये प्रमुख दलहरू नेकपा एमालेले १७, नेपाली कांग्रेसले १५ र नेकपा माओवादी केन्द्रले २१ जना ४० नकटेका युवालाई उम्मेदवार बनाएका छन् ।

कांग्रेसले ताप्लेजुङमा खगेनसिं हाङगाम, सिराहामा रामसगुन यादव, दोलखामा कुन्दरराज काफ्ले, नुवाकोटमा गीता अमात्य, भक्तपुरमा पवन भुजु, ललितपुरमा रिसा श्रेष्ठ, सिन्धुपाल्चोकमा कृष्णकुमार तामाङ, मुस्ताङमा नम्डु गुरुङ र बिकल शेरचन, बागलुङमा डिल्लीराम सुवेदी, रुपन्देहीमा वसी उद्धीन खाँ, प्यूठानमा सरोज थापा, दाङमा अनुराग खड्का, दैलेखमा घनश्याम भण्डारी र कैलालीमा प्रकाशबहादुर देउवालाई उम्मेदवार बनाएको छ ।

एमालेले झापामा छविलाल चुडाल, मोरङमा कृष्ण बस्नेत, उदयपुरमा जीवनाथ दाहाल, धनुषामा संजीव कुमार सुरज, रौतहटमा मोहम्मद जैद आलम, पर्सामा हरेराम प्रसाद, रसुवामा तेम्व्रेल तामाङ, धादिङ्गमा रमेशुकमार आचार्य, सिन्धुपाल्चोकमा युद्धविक्रम तामाङ, गोरखामा मोहनप्रसाद भट्टराई, मनाङ्गमा राजनबहादुर गुरुङ, रुपन्देहीमा सुनिलकुमार गिरी, रुकुमपुर्वमा तेजेन्द्र बुढामगर, बाँकेमा दुर्गाप्रसाद चौधरी, कालिकोटमा वीरेन्द्रबहादुर बोगटी, दैलेखमा धर्मराज रेग्मी र कैलालीमा राजबहादुर बुढालाई उम्मेदवार बनाएको छ ।

त्यस्तै, नेकपा माओवादी केन्द्रले पाँचथरमा इन्द्रबहादुर आङ्बो, इलाममा हर्कबहादुर लावती, झापामा श्यामविर लिम्बु, तेह्रथुममा दुर्गाप्रसाद चापागाई, मोरङमा जीवन आचार्य, बारामा मुकेश साह, पर्सामा रहवर अंसारी, नुवाकोटमा राधिका तामाङ, काठमाडौंमा प्रकाश फुयाँल, सिन्धुपाल्चोकमा युवराज दुलाल, म्गाग्दीमा हरिबहादुर भण्डारी र रेशमबहादुर जुग्जाली, पर्वतमा सुदिप कुँवर, बाँकेमा अकलबहादुर बम, बर्दियामा अञ्जु दहित, डोटीमा शिवसि ओली, कैलालीमा दिर्घराज बिनाडी, रमेशसिंह धामी र नन्दबहादुर साउद तथा कञ्चनपुरमा ओमविक्रम भाट र टेकेन्द्रप्रसाद भट्टलाई उम्मेदवार बनाएको छ ।

प्रदेशसभा सदस्यमा जनता समाजवादी पार्टीले ३५, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७४, लोकतान्त्रिक समाजवादी पार्टीले २१, नेकपा एकीकृत समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले २८, नेपाल मजदुर किसान पार्टीले ४८ र मंगोल नेसनल अर्गनाइजेसनले ७१ युवालाई उम्मेदवार बनाएका छन् ।

  • कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बुटवल ।  नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको म्याद सकिन तीन महिना बाँकी छ । पछिल्लो पटक थपिएको म्याद आगामी साउनमा सकिँदै छ।

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय तौलिहवाका नायब सुब्बा नरहरी खनाललाई ३० हजार घुससहित नियन्त्रणमा लिएको छ ।

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएर बनेको अशोक राई नेतृत्वको ‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपचुनावको नतिजा मिसन ०८४ तर्फ सफलताको सुरुवात भएको बताएका छन् । सोमबार