"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद्मा उठेका विषय कार्यान्वयन गर्न सरकारसंग सांसदको माग

प्रकाशित मिति :  १९ चैत्र २०८०, सोमबार १५:०३


काठमाडौं । प्रतिनिसभा बैठकको शून्य समयमा सांसदहरुले मुलुकमा महङ्गी बढ्दै गएको, तुइन विस्थापित गर्नुपर्ने, सडक पुनर्निर्माणमा ध्यान दिनुपर्नेलगायतका समसामयिक विषयमा सरकारको ध्यानार्कषण गराउनुभएको छ ।

सोमबारको बैठकमा सांसद अञ्जनी श्रेष्ठले मुलुकमा महङ्गी, भ्रष्टाचार, बेरोजगार र हिंसाका घटना न्यूनीकरणका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रधानमन्त्री तथा मन्त्रीहरुलाई सडकमार्फत यात्रा गर्न पनि आग्रह गर्नुभयो ।

सांसद अनिसा नेपालीले २०७२ सालमा दुई वर्षभित्र तुइन विस्थापित गर्ने भनिए पनि अहिलेसम्म पनि पूर्णरुपमा तुइन विस्थापित नभएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

सांसद अम्बरबहादुर रायमाझीले सङ्घीय संसदमा हुने छलफल र बहसलाई सिङ्गो मुलुकले नियाल्ने भएकाले लोकतन्त्रको रक्षाका लागि सदनमा उठेका विषय कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद अमृतलाल राजवंशीले झापा निर्वाचन क्षेत्र २ कन्काई नगरपालिका–९ मा पर्ने राजवंशी समुदायको इतिहास, कला, संस्कृति पहिचान झल्किने सङ्ग्रहालय सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

सांसद अमृतादेवी अग्रहरीले सरकारले आम नागरिकलाई जथाभावी कर लगाउने गरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो सांसद अर्जुननरसिंह केसीले प्रहरी बढुवामा वरिष्ठलाई पाखा लगाइएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद अशोककुमार चौधरीले थारु समुदायलाई राष्ट्रिय मूलधारमा ल्याएर सामाजिक न्याय र अधिकारको उपयोग गर्न आगामी आर्थिक वर्षको बजेटमा आवश्यक बजेट व्यवस्थापन गर्न माग गर्नुभयो । सांसद आश्माकुमारी चौधरीले यही चैत १० गते दाङमा विद्युत्को तार चुँडिएर करेन्ट लाग्दा एकै घरका तीन जनाको मृत्यु भएको घटनामा नेपाल विद्युत प्राधिकरण दोषी रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद असिम शाहले हावाको गुणस्तर सबैभन्दा खराब भएका दश देशमा नेपाल पनि परेको उल्लेख गर्नुभयो । उहाँले सरकारले प्रदूषण कर लिएर कोष निर्माण भएको भए पनि खर्च नभएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद ईश्वरी रिजालले चट्याङ्बाट धेरै मानिसहरुको मृत्यु भइरहेको भन्दै सरकारले चट्याङबाट बच्ने, विद्यालयको सामग्रीमा पढ्ने र गाउँका घरमा पनि अर्थिङ गर्नुपर्ने विषयमा जानकारी गराउनुपर्ने बताउनुभयो ।

सांसद ईश्वरी घर्तीले पछिल्लो समय समाजमा व्यक्ति हत्या, समूहबीच हत्या भएको र ८० प्रतिशत घटना चिनेजानेकै व्यक्तिबाट हुने गरेको प्रहरीको प्रतिवेदनले देखाएको हुँदा सरकारले त्यसप्रति ध्यान दिन आग्रह गर्नुभयो ।

सांसद ईश्वरीदेवी न्यौपाने त्रिभुवन विश्वविद्यालयले परीक्षाको उत्तरपुस्तिका हरायो भन्दै फेरि परीक्षा दिन आउभन्दा विद्यार्थीलाई कस्तो अनुभव हुन्छ भन्नेप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । सांसद उर्मिला माझीले लमजुङलगायत ताप्लेजुङ, पाँचथर र इलाममा उत्पादित छुर्पी निर्यात हुन नसक्दा थुप्रिरहेको विषयप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद ऋषिकेश पोखरेलले मोरङमा सडक योजना अलपत्र भएको हुँदा उक्त सडक निर्माणमा ध्यान दिन आग्रह गर्नुभयो । सांसद एकनाथ ढकालले नेपालमा मानसिक समस्या धेरै बढ्दै गएको भन्दै वर्षमा औसतमा सात हजार व्यक्तिको मृत्यु तथा आत्महत्या भएको देखिएको हुनाले मानसिक उपचारको प्रबन्ध  गर्न सरकारको ध्यानार्कण गराउनुभयो । सांसद ऐनबहादुर शाहीले सवारी दुर्घटना बढदै गएकाले त्यसप्रति सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सांसद कल्पना चौधरीले वर्षाको समयमा इटहरीमा धेरै समस्या हुने बताउनुभयो । उहाँले इटहरी उपमहानगरपालिकामा राम्रो सरकारी अस्पतालको माग गर्नुभयो । सांसद डा कालुराम राईले झापाका सडक चालु आर्थिक वर्षमै पक्की बनाउन आग्रह गर्नुभयो ।

सांसद किरणकुमार साहले मधेशका विभिन्न ठाउँमा पानी सुक्दै गएको भन्दै भविष्यमा पानीको ठूलो समस्या हुनसक्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद गगन थापाले पूर्वी मधेश र पश्चिम मधेशका किसानका लागि नीलगाई असाध्यै राम्रो हुने भन्दै त्यससम्बन्धी अध्ययन गरी काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद गणेश पराजुलीले काठमाडौं उपत्यकामा शुद्ध खानेपानी नभएको, मेलम्चीको खानेपानी वितरण प्रणाली व्यवस्थित नभएकोभन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद गीता बस्नेतले जुन जिल्लामा बीमा गरिएको हो त्यही स्थानबाट सुविधा लिनुपर्ने अवस्था रहेको भन्दै देशभरबाट उपचार लिन मिल्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद गङ्गा कार्कीले हङकङ र सिङ्गापुरबाट लाहुरेहरु घर फर्किंदा सामान व्यवस्थित गरेर पठाएको भए पनि नेपालमा आउँदा टुटने, फुट्ने र हराउने समस्या रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद चन्दा कार्की भण्डारीले १५ महिनादेखि सदनमा जनताको दुःख र विकास निर्माणका काम समेटिएको प्रश्न राष्ट्रिय महत्त्वको विषय उठाएको तर सरकारले सम्बोधन नगरेकोप्रति ध्यानाकर्षण गरानुभयो ।

सांसद छिरिङ ल्हामु लामा (तामाङ)ले कर्णाली राजमार्ग सडक आर्थिक वर्ष २०६२/६३ सालमा सुरु भए पनि अझै सम्पन्न हुन नसकेको र कर्णालीमा राजमार्ग नै विस्तार हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

सांसद जर्नादन शर्माले डोटी, बझाङ र जाजारकोटमा गएको भूकम्पका कारण हावाहुरीले पाल उडाउने, विद्यार्थीले पढ्न नपाएको र जनजीवन प्रभावित भएकोप्रति त्यसतर्फ ध्यान दिन माग गर्नुभयो ।

सांसद जीवन परियारले पर्यटन राजधानी पोखराको विमानस्थल सञ्चालन गर्नुपर्ने, तत्काल अन्तर्राष्ट्रिय सभाहल निर्माणको विषय उठान गर्नुभयो । सांसद जुलिकुमारी महतोले धनुषा क्षेत्र नं ३ मा बाँसलाई विद्युतीय पोलको प्रयोग गरिएको हुनाले हावाहुरीले लत्रेको तारबाट करेन्ट लागेर धेरैको मृत्यु हुने गरेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । 

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट

काठमाडौं । गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले ३० सांसदकै समर्थनमा विश्वासको मत पाएको भनी गरेको घोषणाविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा रिट

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जनालाई रिहा गर्न अस्वीकार गरेको छ ।

काठमाडौं । सरकारले विद्यमान कानुन र संरचनाबाट सहकारीको समस्या समाधान गर्न सम्भव नभएको निष्कर्ष निकालेको छ । सहकारी पीडितको समस्या