"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काम नगर्ने निर्माण व्यवसायीलाई किन दिइयो ठेक्कैठेक्का ?

प्रकाशित मिति :  २३ माघ २०८०, मंगलवार १६:५०


सुर्खेत । जाजरकोटका तीन पालिकामा प्रदेश सरकारले निर्माण गर्न लागेका सडक, पुलहरुको ठेक्का लागेको लामो समय भए पनि निर्माण व्यवसायीले काम नगर्दा सर्वसाधारणले हैरानी खेप्नुपरेको छ। कतिपय ठाउँमा पुल निर्माण नहुँदा मानिसको अकालमै ज्यान गएको छ।

नलगाड नगरपालिका, जुनिचाँदे गाउँपालिका र छेडागाड नगरपालिकामा नेपाल मेघा सिस्ने जेभीले लिएका ठेक्का अलपत्र परेका छन्।

कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जाजरकोटस्थित पूर्वाधार विकास कार्यालयमार्फत ती ठेक्का भएको थियो। बहुवर्षे नाम दिइएको उक्त ठेक्काको काम सुरु नहुँदा कार्यालय प्रमुखदेखि अन्य सरोकारवालालाई टाउको दुखाइको विषय बनेको छ।

निर्माण व्यवसायीलाई काम गर्न पटकपटक कार्यालयले पत्र काट्छ, निर्माण व्यवसायी हुन्छ भन्छन् तर काम गर्दैनन्। जाजरकोटमा मात्र तीन वटा ठेक्का अलपत्र पार्ने नेपाल मेघा सिस्ने जेभीले अन्यत्र के गरेको होला खोजीको विषय बनेको छ। 

तीन करोड ९८ लाख रुपैयाँमा नलगाड नदी माथि नलगाड नगरपालिका–५ सिर्के र बारेकोट गाउँपालिका–८ साघुतरामा पुल अलपत्र परेको छ । यसको म्याद सकिएको छ महिना भइसकेको छ । त्यहाँ अहिलेसम्म काम सुरु नै भएको छैन ।

त्यस्तै छेडागाड नगरपालिकाको साल्म खोलामा रहेको पुलसमेत अलपत्र छ। ४८ करोड ८० लाख १५ हजार रुपैयाँमा निर्माण हुने उक्त पुलको ठेक्कासमेत यही जेभीले पाएको छ।

विसं २०७८ साउन २९ मा पुल निर्माण सम्झौता भएको थियो। यही माघ २८ गते म्याद सकिँदैछ। कामको प्रगति भने तीन प्रतिशत मात्र भएको पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख सोहिन्दर यादव बताउँछन्।

यो पश्चिम जाजरकोटमा पर्ने छेडा–जुम्ला सडकको मुख्य पुल हो। यो पुल निर्माण नहुँदा पश्चिम क्षेत्रको यातायात सेवा प्रभावित हँुदै आएको छ।

म्याद सकिन आठ दिनमात्र बाँकी रहँदा निर्माण व्यवसायीले पुल निर्माणतर्फ चासो देखाएका छैनन्। कार्यालयले आधा दर्जन पत्र काटिसकेपनि पुल निर्माणको काम अघि बढ्न सकेको छैन। यही सडकखण्डको छेडा, थालह सनाखोला चाँदे जुम्ला सडक, जुनिचाँदेमा काम नहुँदा अलपत्र छ।

३० किमी सडक निर्माण गर्नुपर्ने भए पनि नेपाल मेघा सिस्नेले काम नगर्दा अलपत्र पर्दै आएको हो। १५ करोड ५२ लाख रुपैयाँमा सम्झौता भएको उक्त सडकको अहिलेसम्म दुई प्रतिशत मात्र काम भएको छ।

यो सडक निर्माण गरिसक्नुपर्ने अन्तिम मिति २०८२ पुस ४ गतेसम्म हो। विसं २०७८ पुस ५ गते सम्झौता भएको थियो। २४ लाख ७१ हजार रुपैयाँ मात्र यो सडकमा खर्च भएको छ। 

पश्चिम जाजरकोटको पुल र सडकका विकासको बाधकका रुपमा उक्त जेभी देखापरेको स्थानीयवासी बताउँछन्। समयमै काम नगर्दा पश्चिम जाजरकोटको सडक मृत्यु मार्गजस्तै भएको जुनिचाँदेका रेशम खड्काले बताए।

सडक तथा पुल निर्माणको ढिलाइका विषयमा कार्यालयले गरेको ताकेतासमेत निर्माण व्यवसायीले नटेर्दा प्रशासनको सहयोग लिनुपरेको छ। प्रशासन कार्यालयको पनि जिल्लामा भएका विकास निर्माणका काममा खासै चासो नभएको खड्काले बताए। 

जिल्लाबाट निर्वाचित भएर गएका जनप्रतिनिधि विकास निर्माण हुने गरेको ढिलासुस्तीका विषयमा मुकदर्शक भएको आरोप लाग्दै आएको छ। त्यस्तै बारेकोट गाउँपालिका–२ र ५ को बीचमा रहेको घाटस्थित नलगाड खोलाको पुल निर्माण अलपत्र छ। एकमात्र पिल्लर उठाएर बीचमा काम रोकिएको छ।
 
 नारायनम् निर्माण सेवा नेपालगञ्ज १८ बाँकेले लिएको उक्त पुलको काम चार करोड ६५ लाख चार हजार ८५२ रुपैयाँमा लिएको थियो। विसं २०७९ जेठ २३ गते सम्झौता भएको उक्त पुलको गत मङ्सिरमा म्याद सकिएर पुनः थपी २०८१ मङ्सिर २२ बनाइएको छ।

एक करोड ४० लाख चार हजार ९११ रुपैयाँमा निर्माण व्यवसायीले भुक्तानी लिएको कार्यालयले जनाएको छ। हालसम्म ३० प्रतिशत मात्र काम भएको कार्यालयले जनाएको छ। सुरुमा निर्माण व्यवसायीले काम राम्रो गरे पनि पछिल्लो समय बीचमै छोडेर सम्पर्कविहीन भएको कार्यालय प्रमुख यादवले बताए। पटकपटक पत्र काटेर छलफलमा आई काममा लाग्न आग्रह गर्दा पनि निर्माण व्यवसायीले नसुनेको उनको गुनासो छ।

निर्माण व्यवसायीसँग सम्पर्क गर्दा फोन नउठी प्रतिक्रिया लिन सकिएन। जिल्लामा विकास निर्माणको काम अलपत्र पर्दासम्म यहाँका जनप्रतिनिधि साना गोष्ठी, सभा र उद्घाटनका कार्यक्रममा रमाइरहेको आरोप स्थानीयवासीले लगाउँदै आएका छन्।

जिल्लामा भएका सबैखालका बेथितिका विषयमा कोही पनि बोल्ने आँट नगर्ने स्थिति किन आयो नेकपा समाजवादीका जाजरकोट अध्यक्ष कमानबहादुर खड्का भन्छन्। जता हेरे पनि चित्त बुझाउने ठाउँ नभएको उनले बताए।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी हरिश्चन्द्र शर्मा भने गुनासो आएपछि मात्र छलफल हुने गरेको बताउँछन्। गुनासो नआउँदासम्म केही थाहा नहुने उनको भनाइ छ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सम्पत्ति शुद्धीकरण गरेको आरोपमा दोषी ठहर भएका नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई विशेष अदालतले ३ वर्ष कैद

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा भएको भनिएको नीतिगत तथा आर्थिक भ्रष्टाचार छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको

काठमाडौं। शनिबार इलाम र बझाङ् जिल्लाको उपनिर्वाचन उत्साहजनक रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबारको प्रदेश सभामा कँडेलले २३ मत पाएका हुन्