"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कास्कीको सिक्लेसमा सिनेमा संवाद

प्रकाशित मिति :  ८ माघ २०८०, सोमबार ११:२३


पोखरा । आफू सानै छँदादेखि मन पराएको नायकलाई चलचित्र विकास बोर्डको अध्यक्षको रुपमा पाउँदा कलाकार एवं निर्माता दीपाश्री निरौला आशावादी थिइन् । भुवन केसी बोर्डको अध्यक्षमा नियुक्त भइसकेपछि नेपाली चलचित्र क्षेत्रले देखिने गरी फड्को मार्न नसकेकोप्रति उनले आइतबार निराशा प्रकट गरिन् ।

चलचित्र पत्रकार संघ कास्कीले पर्यटकीय गाउँ सिक्लेसमा आयोजना गरेको सिनेमा संवाद कार्यक्रममा उनले केसीलाई काम गर्न अप्ठेरो भएको भए कलाकारले साथ दिन तयार रहेको बताइन् ।

सिनेमा संवादको ‘सरकार र सिनेमा : हिजो, आज र भोलि’ सत्रमा नेपाली चलचित्रको विकासमा चलचित्र विकास बोर्डको भूमिकाको खोजी भयो । सञ्चारकर्मी प्रकाश सुवेदीले बोर्डको काम गर्न नसकेकोप्रति प्रश्न गरे ।

अध्यक्ष केसीलाई सोधे, ‘तपाईंबाट ठूलो आशा थियो, पहिलेका अध्यक्षभन्दा कमजोर देखिनुभयो । बोर्ड कहाँ रुमल्लिइरहेको छ ?’ जवाफमा केसीले अहिलेसम्म पनि चलचित्र ऐन २०२६ बमोजिम नै काम गर्नुपर्दा अप्ठेरो भएको बताए । विकास बोर्ड स्वायत्त हुन नसक्दा काम गर्न नसकेको उनले स्वीकार गरे ।

‘विकास बोर्ड कहाँ हरायो भनेर खोज्न गएँ,’ उनले भने, ‘त्यहाँ गइसकेपछि के थाहा भयो भने विकास बोर्ड सञ्चार मन्त्रालयभित्र हराएको रहेछ । अहिले पनि त्यहीनेर अड्केको छ ।’

उक्त सत्रका सहजकर्ता सुवेदीले आफूले ६ महिनाभित्र परिणाम दिन नसके राजीनामा दिने केसीको भनाइ स्मरण गराए । केसीले कसैले एक वर्षभित्र बोर्डलाई स्वायत्त बनाउँछु भनेर आए आफू राजीनामा दिन तयार रहेको समेत दोहोर्‍याए।

‘जबसम्म चलचित्र विकास बोर्ड स्वायत्त हुँदैन, सञ्चार मन्त्रालयको अन्डरमा जहिलेसम्म रहिरहन्छ, तबसम्म चलचित्र क्षेत्रको विकास हुँदैन भन्ने मेरो ठम्याइ छ,’ उनले भने, ‘सेन्सर बोर्डलाई पनि विकास बोर्ड मातहत ल्याउनुपर्छ ।’

चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामाथि छलफल चलिरहको र सञ्चारमन्त्री रेखा शर्मा समेत छिटोभन्दा छिटो ऐन पास गर्न सकारात्मक रहेको उनले सुनाए ।

उक्त शत्रमा निर्माता संघका पूर्व अध्यक्ष आकाश अधिकारीले बोर्डले आफ्नो भवन निर्माण गर्नु बाहेक अन्य उपलब्धि हासिल गर्न नसकेकोमा दुखेसो पोखे । स्वतन्त्र फिल्म निर्माताले चलचित्र क्षेत्रलाई यहाँसम्म ल्याएको बताउँदै सरकारको भूमिका प्रभावकारी हुन नसकेको उल्लेख गरे ।

‘बोर्डभित्र पार्टीको सिफारिसमा परेको व्यक्ति नियुक्त हुँदासम्म चलचित्र उद्योग दिगो हुँदैन,’ उनले भने, ‘न्युट्रल व्यक्ति आउनुपर्छ ।’ उनले विश्वभर छरिएका नेपालीभाषीलाई लक्ष्य गर्दै ओटीटीमा नेपाली चलचित्र पुर्‍याउन प्रयासरत रहेको सुनाए ।

कलाकार एवं निर्माता दीपाश्री निरौलाले सरकारले चलचित्र क्षेत्रलाई प्राथमिकतामै नराख्नु विडम्बना रहेको बताइन् । नेपाली चलचित्र क्षेत्रको विकासका लागि यथेष्ट बजेट छुट्याएर तालिममार्फत दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने उनको भनाइ छ । ‘सरकारले यो क्षेत्रमा चासो राखेजस्तो गर्छ, योजना पनि बनाउँछ तर कार्यान्वयन गर्ने बेला सरकार परिवर्तन भएर अर्को आइसक्छ,’ उनले भनिन् ।

नेपाली सिनेमा ‘आई लभ यू’ बाट माथि उठेन

सिनेमा संवादको ‘सिनेमाको स्वाद : कस्तो छ, कस्तो हुनुपर्छ ?’ सत्रमा निर्देशक मनोज पण्डित, अनुप बराल र कलाकार दीया मास्केसँग लेखक सुरज सुवेदी गफिए । नेपाली सिनेमाले जुन स्तरमा फड्को मार्नुपर्ने हो त्यो गतिमा फड्को नमारेकोप्रति तीनजना वक्ता एकमत देखिए ।

नेपाली सिनेमाले ०६२/६३ को जनआन्दोलनपछि बौद्धिकतामा फड्को मारे पनि अहिले हराएको उनले बताए । ‘नेपाली सिनेमाको स्वाद अहिले पछिल्लो समय बिल्नो भएको छ,’ उनले भने, ‘अस्पतालमा खाने खानाको स्वाद जस्तो भएको छ ।’

नेपाली समाजजस्तै सिनेमा पनि भाग्यवादी सिद्धान्तमा आधारित भएकोले लेखक र निर्देशकले सिमित प्रविधि र ज्ञानमा रहेर काम गरिरहेको उनले उल्लेख गरे । सिनेमाको पात्रले संघर्ष नगरी निर्देशक र लेखकको दास बन्नुपर्दा स्थापित बन्न नसकेको उनको तर्क छ ।

‘मान्छेले आफ्नो भविष्य आफै बनाउँछ भन्ने अस्तित्ववादबाट अघि बढ्यो भने पात्रले अपत्यारिलो सफलता हासिल गर्न सक्छ,’ उनले भने, ‘यहाँ लेखक र निर्देशकले मात्र संघर्ष गर्छन् । पात्रलाई स्वतन्त्र बनाउन सक्नुपर्छ ।’ अधिकांश नेपाली सिनेमाले प्रेमीले प्रेमिका चाहने वा प्रेमिकाले प्रेमी चाहनेसम्म मात्रै सिमित रहेको बताए । ‘नेपाली फिल्म आई लभ यूभन्दा माथि उठेन,’ उनले भने, ‘त्यसभन्दा माथि उठेर आई एम ह्युम भन्ने हुनुपर्छ ?’ अब आशा जगाउने किसिमका चलचित्र बन्नुपर्ने उनको धारणा छ ।

उनले नेपाली सिनेमा बिग्रनुमा निर्माताको मुख्य भूमिका रहेको आरोप लगाए । निर्माताले सही कलाकार नछान्ने, आफ्नो मान्छे छान्ने गरेको र कुन कथालाई कस्तो कलाकार चाहिन्छ भन्ने ज्ञान नभएर चलचित्र बिग्रिने गरेको उनको अनुभव छ । निर्माता, निर्देशक र लेखकको अंहकार सिनेमामा प्रस्तुत हुँदा पनि चलचित्र असफल हुने गरेको उनले सुनाए । भने, ‘ममा भएका अहंकारले पनि मेरा चलचित्र चलेनन् ।’

निर्देशक तथा कलाकार अनुप बरालले आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रले सिनेमाको स्वाद निर्धारण गर्ने बताए । सिनेमा आफैमा साहित्य भएको बताउँदै उनले सिनेमा भन्ने शैली नै गायब भएको स्विकारे । कलाकार दीया मास्केले बजेटमा सम्झौता गर्नुपर्दा कतिपय सिनेमा उत्कृष्ट बन्न नसकिरहेको बताइन् । ‘बजेट कम हुँदा मेकिङमा कम्प्रोमाइज गर्नुपर्छ,’ उनले भनिन्, ‘हाम्रो फिल्म धेरै हदसम्म हिन्दी फिल्मको फोटोकपी हो । ६० वर्ष लामो नेपाली फिल्मको इतिहासमा यो हुनु पनि गलत हो ।’

सिनेमा संवादमाअन्तर्गत सिनेमा संकथनमा ‘विचार व्यवसाय र कला : प्रविधि र प्रवृत्ति’ सत्रमा प्रकाश सायमी सुनिए । ‘सिनेमाभित्र म, मभित्र सिनेमा’ सत्रमा कलाकार भुवन केसी र गौरी मल्लसँग रेडियोकर्मी सन्जोक बस्यालले भलाकुसारी गरे । केसी र मल्लले आफ्ना सिनेमा अनुभव सिक्लेसबासीलाई सुनाए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । गत वर्षको ब्लकबस्टर ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको अर्को फिल्म ‘मनसरा’ प्रदर्शन पर्खाइमा छ। यही वैशाख २१ गतेदेखि

काठमाडौँ ।   मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ वटै जिल्लाका गरिब तथा जेहेन्दार

काठमाडौं । रंगकर्मी किशोर अनुरागको निर्देशनमा बनेको टेलि चलचित्र ‘भाग्य लक्ष्मी’ को प्रसारण सुरु भएको छ । पारिवारिक तथा सामाजिक

काठमाडौँ- शुक्रबारदेखि हलमा लागेको फिल्म ‘महाजात्रा’ले दुई दिनमा ३ करोड ६ लाखको ग्रस व्यापार गरेको निर्माताले दाबी गरेका छन्। निर्माताले सार्वजनिक