"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कोभिडको संक्रमण पुनः बढ्न थालेसँगै सतर्कतामा विज्ञहरूले सुझाव

प्रकाशित मिति :  ८ पुष २०७९, शुक्रबार २२:१४


काठमाडौँ । छिमेकी मुलुकमा कोभिडको संक्रमण पुनः बढ्न थालेसँगै नेपालमा पनि सतर्कता अपनाउनुपर्ने विज्ञहरूले सुझाव दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै जीन सिक्वेन्सिङ गर्दा नेपालमा १७ वटा ओमिक्रोनको सव–भेरिएन्ट फैलिरहेको देखिएको जनाएको छ । पुष्टि भएका सव भेरिएन्टमध्ये बिएम.१.१.३ संक्रामक मानिन्छ ।

पछिल्लो समय छिमेकी मुलुकहरुमा पुष्टि भएका बी.एफ.७ हालसम्म नेपालमा पुष्टि नभएको मन्त्रालयले जनाएको छ । यो सव भेरिएन्ट यसअघि भारतमा ४ जनामा पनि पुष्टि भइसकेको छ । चीनमा बढ्दै गएको संक्रमणमा पनि यही सव भेरिएन्टको हात छ। चीनमा हाल दैनिक करिब ३ हजारसम्म संक्रमण पुष्टि भइरहेको र अस्पताल भर्ना हुनेको संख्या पनि बढिरहेको देखिन्छ । अमेरिका, जापान, ब्राजिल, दक्षिण कोरियामा पनि कोभिड केसहरु बढ्न थालेका छन् ।

नेपालमा हाल दैनिक दैनिक दसभन्दा कम व्यक्तिमा संक्रमण देखिएको बताइएको छ । पुष ३ गते कोभिड संक्रमित संख्या शून्य थियो । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक तथा संक्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनले फाट्टफुट्ट केस देखिए पनि संक्रमण फैलि नै रहेको बताए । उनले पछिल्लो समय छिमेकी देशहरुमा संक्रमण बढेको हुनाले नेपाल पनि अलर्ट रहनुपर्ने बताए । दोस्रो लहरमा जटिलतासहित कडा खालको कोभिड कम देखिनसक्ने विश्वास रहेको उनको भनाइ छ । उनी खोपले सुरक्षा प्रदान गर्ने भन्दै सबैलाई बुस्टर डोज लगाउन आग्रह गर्छन्। भन्छन्–‘ दुईवटा डोज खोप लगाए पनि बुस्टर डोज नलगाएका धेरै छन् । भाइरस एकदमै धेरै परिवर्तित भइराख्ने हुनाले थप सुरक्षित हुन बुस्टर डोज लगाउनुपर्छ ।खोप लगाउने विषयमा सरकारले पनि अपडेट गराइदिराख्नुपर्छ।’

भाइरोलोजिस्ट डा लुना भट्ट चीनमा फैलिएको संक्रमणमा धेरै जटिल लक्षण नदेखिए पनि कम नआक्न आग्रह गर्छिन् । उनी भन्छिन्–‘चीनमा फैलिएको ओमिक्रोनको सव भेरिएन्ट अहिलेसम्मकै संक्रामक मानिएको छ । त्यसले जटिल लक्षण देखाउँदैन भनेर हेल्चेक्र्‍याइँ गर्न भएन । संक्रमण यही फैलिरहेको पनि हुन सक्छ । सामान्य लक्षण नै भए पनि दीर्घरोगी तथा रोगप्रतिरोधी क्षमता कम भएकालाई त सिकिस्त बनाउन सक्छ ।’ उनले खोपले शतप्रतिशत नजोगाउने भए पनि खोपले जटिलता कम गर्ने भएकाले बुस्टर डोज सबैले लिन आवश्यक रहेको बताउँछिन् । ‘भाइरस परिवर्तन भइराखेको हुन्छ । अहिलेको खोपमा पहिला बनेको एन्टिबडीलाई रोक्न सक्ने क्षमता छैन तर पनि खोपले जटिल हुनबाट बचाउँछ,’ उनले भनिन् । उनी सरकारले खोप पाउने स्थान र समय तथा कोभिडबाट बच्न जनचेतना निरन्तर फैलाउनु जरुरी रहेको बताउँछिन् ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोभिड १९ को संक्रमणको जोखिम फरक स्वरुपमा देखिरहेकाले सबै जनाले मास्कको प्रयोग गर्न हुन, एक अर्कामा भौतिक रुपमा दूरी कायम राख्न र व्यक्तिगत हातको सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताए । उनले भने–‘छिमेकी देशहरुमा केस बढेसँगै सम्पूर्ण प्रवेश बिन्दुका हेल्थ डेस्कहरु तथा स्वास्थ्य संस्थाहरुलाई आवश्यक स्क्रिनिङ, निगरानी, सतर्कता एवं आवश्यक तयारी अवस्थामा रहन आग्रह गरिएको छ।’

करिब ५० लाख खोप मौज्दातमा, जनवरी दोस्रो सातामा थप खोप आउँदै

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा हाल दैनिक खोप लगाउन आउनेको संख्या निकै घटेको छ । अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार दैनिक ५० देखि ६० जनाले मात्र कोभिड खोप लिइरहेका छन् । उनका अनुसार धेरैजसो दोस्रो मात्रा र बुस्टर खोप विदेश जाने र बालबालिकाले लगाइरहेका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक हर्ने हो भने हालसम्म नेपालमा ६ करोड १७ लाख ७६ हजार ७७० खोप मात्रा प्राप्त भएको छ। हालसम्म कुल जनसंख्याको २ करोड ३२ लाख ८ हजार ४८३ जनाले एक मात्राको कोभिड विरुद्धको खोप लगाएका छन् भने पूर्ण मात्राको खोप २ करोड २३ लाख २४ हजार ९३३ जनाले लगाएका छन् । अतिरिक्त मात्राको खोप लगाउनेको संख्या एकदम कम देखिन्छ । बुस्टर(अतिरिक्त) मात्राको खोप ७९ लाख ७२ हजार ७९१ जनाले मात्र लगाएका छन् ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा सुरेन्द्र चौरसियाले खोपको अभाव नभए पनि संक्रमण घटेसँगै खोप लगाउने पनि कम देखिएको बताए ।उनका अनुसार हाल करिब ५० लाख मात्रा खोप मौज्दात छ जसमा सबैभन्दा धेरै भेरोसेल खोप बाँकी रहेको देखिएको छ । उनले खोपको म्याद अझै रहेकोले खोप खेर नजाने जनाए ।

शाखाको तथ्यांकअनुसार कोभिड विरुद्धको खोप ४९ लाख १४ हजार ९ सय १७ मात्रा मौज्दात रहेको छ भने भेरोसेल ४३ लाख ६५ हजार ९ सय ७१ मात्रा मौज्दात छ । केन्द्रीय भण्डारण केन्द्र टेकुमा ४० लाख भेरोसेल मौज्दात छ । त्यसैगरी फाइजर ५९ हजार १६ मात्रा र फाइजर (बालबालिकाका लागि) चार लाख ८९ हजार ९ सय ३० मात्रा मौज्दात छ।

यस्तै सरकारले बुस्टर डोजका लागि यही जनवरीको दोस्रो सातामा १५ लाख खोप ल्याउने तयारी गरिरहेको जनाएको छ । सरकारले बुस्टर डोजका रूपमा चौथो मात्रा खोप लगाउनका लागि १५ लाख मात्रा ‘वाई भायोलेन्ट’ खोप लिन कोभाक्स सुविधालाई सहमति जनाइसकेको छ ।

परिवार कल्याण महाशाखा प्रमुख डा विवेक लालका अनुसार ल्याउन लागिएको यो खोप नयाँ भेरिएन्टविरुद्ध पनि प्रभावकारी रहेको र ३ हप्ताभित्र आउन सक्ने छ । उनले भने–‘खोप आउन विलम्ब हुनुको कारण संशोधित औषधि ऐन हो । खोप ल्याउनका लागि आपतकालीन अनुमति आवश्यक पर्छ । औषधि सल्लाहकार समितिको बैठक बस्न समय लागेकाले थोरै ढिलाइ भएको हो। खोप छिट्टै आउँछ।’ उनले नेपालमा खोप ल्याउन समस्या नभए पनि लगाउनमा समस्या देखिएको औंल्याए ।‘संक्रमण बढेको देखिएको छ त्यसैले अहिलेको खोपको माग देखिएको छ । खोप भए पनि यहाँ लगाएको देखिँदैन । खोपको प्रयोग निश्चित गर्नका लागि स्थानीय सरकारले बढी जोड दिनुपर्छ,’ उनले भने।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । हात्तीपाइले रोग नियन्त्रणका लागि सरकारले सात जिल्लामा १६ वैशाख (आइतबार) देखि आम औषधि सेवन अभियान सुरु गर्ने भएको

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबारको प्रदेश सभामा कँडेलले २३ मत पाएका हुन्

काठमाडौं । कालिकोटको महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनराज शाहीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौँ ।  गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएका नेपाल टेलिकलका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल