"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

समृद्ध ओखलढुंगाको सम्भावना र चुनौती

प्रकाशित मिति :  ४ बैशाख २०७९, आईतवार १३:२२


ओखलढुंगा भूगोलको हिसाबले एक पहाडी जिल्ला हो । पूर्वमा खोटाङ, पश्चिममा रामेछाप, उत्तरमा सोलुखुम्बु र दक्षिणमा सिन्धुली र उदयपुर जिल्लाले घेरिएको ठाउँ हो । ओखलढुंगालाई विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथाको आधारशिविर पुग्ने प्रवेशद्वारको रूपमा पनि चिन्न सकिन्छ ।

ओखलढुंगा समुन्द्री सतह देखि करिब ३ सय ९० मि. उचाइमा रहेको छ । धार्मिक, सांस्कृतिक एवं पर्यटकीय महत्वका दृश्यले पनि धनी छ । बहुजाति, भाषा, धर्म, संस्कृति एवं मिश्रित समाजको बिशेषता बोकेको ओखलढुंगा साँस्कृतिक रुपमा पनि सम्पन्न छ। यहाँको समाज “अनेकतामा एकता” को प्रतिकको रूपमा मिलेर बसेको छ । ओखलढुंगाले सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले उत्तर र दक्षिण व्यापार, सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक पर्यटकीय मार्गका रुपमा मानसरोवरको प्रतिनिधित्व गर्दछ । डाडापाँखा, भिरपाखा, खोल्साखोल्सी, वनजङ्गल, टार, बेसी आदि विविधतायुक्त धरातलीय स्वरूपमा पनि धनी रहेकोे छ । जस्तैः बेसी वा नदिखोलाका किनारमा रहेका मानिसहरुको मुख्य पेशा कृषि भएता पनि फलफूल खेती, तरकारी खेती, पशुपालन माछा मार्ने रहेको छ । मध्य पहाडी क्षेत्रका मानिसहरुको मुख्य पेशामा धान, मकै, गहुँ, कोदो, फापर, तोरी, तरकारी, फलफूल खेती, पशुपालन गर्छन् । अलि लेकाली क्षेत्रका मानिसहरुको मकै, आलु, जौ, गहुँ, उवा, स्याउ आदिको खेती गरिनुका साथै भेडा र चौंरी पालनको कार्य रहेको छ । र, यी उत्पादित बस्तुलाई बिक्रीवितरण गर्ने मुख्य बजारहरु ओखलढुंगा, रामपुर, रुम्जाटार, मानेभन्ज्याङ, खिजीफलाटे, खानीभन्ज्याङ, कोशहाट, घोराखोरी आदि छन् ।

ओखलढुंगा जल सम्पदामा पनि धनी छ । यहाँका नदीनाला, खोलाखोल्सी र झरनाहरु सिंचाईका लागि मात्र नभई पर्यटकीय हिसाबले पनि उत्तिकै महत्वपुर्ण रहेको छ । त्यस्तै जलविद्युतको भण्डारको रुपमा समेटेको छ । जस्तै : प्रमुख नदीहरु दूधकोशी, सुनकोशी र लिखु हुन् भने खोलानालाहरु मोलुङ्गखोला, ठोटनेखोला, सिस्नेखोला, सेर्नाखोला, बाङ्गेखोला, खानीखोला, ढाँडखोला, पङ्खुखोला, लिपेखोला, साल्पूखोला, डुँडेखोला, जुंगेखोला, चोक्टीमङ्गलाखोला, अँधेरीखोला, पातालेखोला, सेप्लीखोला, खार्तेखोला हुन् । यहाँका प्रमुख झरनाहरुको रूपमा पोकली झरना (१३१ मिटर), रातमाटे झरना (१११मिटर) रहेका छन् ।

पूर्वको पशुपतिनाथ भनेर चिनिने प्रसिद्ध खोटाङको हलेशी महादेव दर्शन गर्न आउने आन्तरिक तथा वाह्यय पर्यटकहरुका लागि पनि ओखलढुंगा उत्कृष्ट विश्रामस्थल रहेकोे छ । त्यस्तै विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविर जाने पर्यटनहरुलाई यहाँका धार्मिक, साँस्कृतिक तथा पर्यटकीय दृश्यअवलोकन गराउन सक्ने प्रशस्त सम्भावनाहरु छन् । हामीले देश तथा विदेशबाट आउने हजारौँ-हजार पर्यटकलाई ओखलढुंगामा सुविधा सप्पन्न होटेल, पार्क, मनोरञ्जन स्थल लगायतको राम्रो व्यवस्थापन स्थानीय तहले गर्न सक्नुपर्छ। जसका माध्यम बाट ओखलढुंगा जिल्लालाई नेपालको एक महत्त्वपूर्ण पर्यटकीय स्थल वा व्यवसायीक क्षेत्रको रूपमा चिनाउन सकिन्छ ।

मुलुक संघीयतामा गएपछि प्रत्यक्ष तर्फ प्रतिनिधि सभामा एक र प्रदेश सभा तर्फ “क” र “ख” क्षेत्र गरी दुई जना जनप्रतिनिधि निर्वाचन हुन पाउने व्यवस्था छ । यस्तै स्थानीय तह तर्फ एउटा सिद्धिचरण नगरपालिका र गाउँपालिकाहरु: खिजीदेम्वा, चम्पादेवी, चिशंखुगढी , मानेभञ्ज्याङ, मोलुङ, लिखु र सुनकोशी गरी जम्मा ८ वटा स्थानीय तहको संरचनामा निर्माण भएको छ ।

समृद्धि के हो ?

बास्तवमा समृद्ध भन्नाले नागरिकको आर्थिक समृद्धता (Economic well being) बुझ्नुपर्छ । अर्थात, विकासको सबैभन्दा उन्नत र विकसित रूप नै समृद्ध हो । नेपालमा समृद्ध शब्दको प्रयोग असाध्यै धेरै भइरहेको छ । खासगरी यो शब्द ल्याटिन भाषाको ‘प्रस्पिरस’ बाट उत्पत्ति भएको हो । यसको अर्थ राम्रो गर्नु भन्ने हुन्छ । राम्रो गर्दै जानेक्रमको लामो प्रक्रिया पछि प्राप्त हुने चरम सुख, शान्ति, वैभव र एकरूपता नै समृद्ध हो ।

समृद्धको महत्त्वपूर्ण पक्ष भनेको सापेक्ष परिवर्तन हो । समृद्ध ओखलढुंगाका लागि नागरिकको शिक्षा र स्वास्थ्यमा प्रभावकारी रूपमा लगानी गर्नुपर्छ । जुन माध्यमबाट ओखलढुंगाका लागि आवश्यक पर्ने शक्ति र स्रोतको परिचालन गर्न सजिलो हुन्छ । मुलतः हामीले ओखलढुंगाको समृद्धि राजनीतिको जगमा नै उभिएको हुन्छ भन्ने बुझ्नु जरुरी छ । त्यस्तै अर्थनीति निर्धारण अर्थराजनीतिकको स्थान भन्दा माथि हुने गर्दछ । राजनीतिक इच्छाशक्तिविना ओखलढुंगाको समृद्धको प्रयास तथा सुधारले सफलता पाउन गाह्रो हुन्छ । ओखलढुंगाको समृद्धिको लागि स्वतन्त्रता, शान्ति, स्थायित्व र जवाफदेहीता, पारदर्शिता अपरिहार्य हुँदाहुँदै पनि प्रजातान्त्र प्राप्तिपछि स्थिरता, सुशासन, नैतिकता, इमानदारीता र सदाचारीताका विषयमा हामी सधैं कमजोर भयौं । हामीले विकासका धेरै पाटा/पक्षहरू पूरा नगरी समृद्धि हासिल गर्नै सक्दैनौं ।

विकासलाई भौतिक संरचना निर्माणसँग मात्र दाँज्ने गरिन्छ, जुन असाध्यै गलत हो । सबै क्षेत्रको समानुपातिक विकास प्रक्रियाविना उचित सामाजिक उत्पादन सम्बन्धको विकास गर्न सकिन्न । भौतिक पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, सांस्कृतिक विकास, भाषिक विकास, बौद्धिक विकास, चिन्तन विकास अनि मनोवैज्ञानिक विकास जस्ता समग्र विकास समृद्ध ओखलढुंगाका विविध पक्षहरू बीच अन्तरनिहित हुनु जरुरी छ । तसर्थ, समृद्ध ओखलढुंगा कसरी निर्माण गर्ने र त्यसका चुनौतीहरु के के हुन सक्छन् भन्ने कुरामा व्यापक बहस हुनु जरुरी छ । तर, अहिलेसम्म बहस तथा छलफल गरेको देखिदैन ।

समृद्ध ओखलढुंगाका आधार :

झरना, हरियो वन, अनुपममूर्ति तथा वास्तुकला, प्रशिद्ध धार्मिक स्थल, नदिनाला, प्राकृतिक सुन्दरता आदि समृद्ध ओखलढुंगाका आधारहरु हुन् । तर हामीकहाँ एकलकाँटे विकास अवधारणाले हामीलाई समृद्धतर्फ दिशानिर्देश गर्दैन । सडक बनाउनु मात्र विकास हो भन्ने मानसिकता जनप्रतिनिधिहरुको बुझाइ छ, जुन असाध्यै गलत हो । समृद्ध मापनगर्ने अर्थतन्त्रका र भौतिक विकासका धेरै सूचाङ्कहरु हुन्छन् । यी सूचाङ्कहरुलाई लाई भेटिसकेपछि मात्रै समृद्धको दर्जामा राख्न सकिन्छ । जस्तै ओखलढुंगाको जीडीपी (कुल ग्राहस्थ उत्पादन), शैक्षिक गुणस्तर, स्वास्थ सुविधाको स्तर, सञ्चार सुविधा, स्वच्छ खानेपानी, यातायात ( हवाई, सडक सञ्जाल), नविनतम प्रविधिको उपयोगको उचतमविन्दु समृद्धिका मापदण्डहरु हुन् । तसर्थ यी मापदण्डहरु पुरा गरेपछि मात्र ओखलढुंगा विकास र समृद्धिको दर्जामा पुग्न सक्छ । तबमात्र आर्थिक र भौतिक रुपले सम्पन्न समाजलाई समृद्ध ओखलढुंगा भन्न सकिन्छ । 

ओखलढुंगाका राजनीतिकर्मी वा जनप्रतिनिधिहरु रोजगारी सिर्जना गर्नाले मात्र ओखलढुंगाको मुहार फेरीने हावादारी गफ गर्न माहिर छन् । पछिल्लो समय प्रधानमन्त्री स्वरोजगार  कार्यक्रमका नाममा अर्बौं बजेटको दुरुपयोग भएको देख्न सकिन्छ । बास्तवमा रोजगारी बढ्दैमा देशको आर्थिक स्तरमा सुधार आउँदैन । वस्तु तथा सेवाको उत्पादन गर्ने रोजगारीले मात्र हाम्रो आर्थिक स्तरमा सुधार आउँछ । उदारहणका लागि सन् १९७० को दशकमा अमेरिकका बाट चीन भ्रमण गरेका एक जना इन्जिनियरको प्रसंग उल्लेख गर्न चाहन्छु । भ्रमणका क्रममा इन्जिनियरले चीनमा ठुलो संख्यामा मान्छे गैंची र बेल्चा प्रयोग गरेर बाँध बनाइरहेको भेटेछन् । उनले अचम्ममा परेर ती कामदारको सुपरिवेक्षकलाई भनेछन्, “यीनलाई डोजर तथा अन्य साधन दिनुभयो भने त यो काम महिनौं नभएर केहि दिनभित्रै सकिन्थ्यो नि !” उक्त सुपरिवेक्षकले जवाफ दिएछन्, “त्यसो गर्यो भने यत्रो रोजगारी सबै नष्ट भइहालल्छ नि !” यस्तो जवाफ सुनेर इन्जिनियरले भनेछन्, “ए म त तपाईको उद्देश्य बाँध बनाउनु पो हो भन्ठानिरहेको । तपाईलाई रोजगारी सिर्जना गर्ने छ भने त यी मान्छेलाई बेच्चाको साटो चम्चा दिनुस् न !” तसर्थ हामीले तात्कालीन नतिजालाई मात्र नहेरेर दीर्घकालीन नतिजाहरु पनि हेर्नु जरुरी हुन्छ, प्राथमिक प्रभावलाई मात्र नभएर द्धितीय प्रभावलाई पनि हेर्न पर्दछ, र कुनै विशेष समूहमाथिको प्रभाव मात्र नहेरेर सबैलाई प्रभाव पर्ने तत्वहरु हेर्नुपर्दछ । 

विकास र समृद्धिको बाधक :

ओखलढुंगा जिल्ला विकासको दृष्टिले पछाडी छ । दुर्गम पहाडी जिल्लाको रुपमा चिनिने यस जिल्ला प्राकृतिक श्रोत र साधनले सम्पन्न हुंदाहुदै पनि यसको समुचित प्रयोगमा चुकेको देखिन्छ ।ओखलढुंगाका जनताको आर्थिक अवस्था सु्ध्रिन सकेको छैन । विकासका आधारभुत कुराहरू जस्तैः यातायात, विधुत, संचार, सिंचाई, शिक्षा, स्वास्थ्य, खानेपानी आदि कुराहरूमा राम्रो विकास नभएकोले जनताले विकासको अनुभव गर्न सकेका छैनन् । हवाइ सेवाको लागि रूम्जाटार विमानस्थल नियमित रूपमा संचालन हुन सकेको छैन । लामो समयको प्रतिक्षापछि सुनकोशी पुलको निर्माण सम्पन्न भएपश्चात यस जिल्लाको राजधानीसंग सडक यातायातको सिधा पहुँच हुँदा जनतालाई केही राहत त भएको छ। तर दैनिक उपभोग्य वस्तुहरू महंगो हुनुका साथै यस क्षेत्रको कृषि तथा अन्य उत्पादित वस्तु व्यवसायिक हुन नसक्दा जनताको आर्थिक अवस्था परम्परागत शैलीबाट माथि उठ्न सकेको छैन ।

समृद्ध ओखलढुंगाको बाधकको रूपमा गुणस्तरहीन पुर्वाधार, राजनीतिक दाउपेच, नीति कार्यान्वयनमा अनिश्चितता, आसेपासे अर्थतन्त्र, सुशासनमा कमी र व्याप्त भ्रष्टाचार जस्ता कार्य रहेको पाइन्छ । त्यस्तै उत्पादकत्वमा कमी, वातावरणमा अन्योल, पुँजीको प्रतिफलमा कमी जस्ता थप कारण पनि हुन् । हामीकहाँ रहेको कमजोर शासन प्रणाली नै समृद्धको मुख्य बाधक हो । तसर्थ, हामीले सुशासनको माध्यम बाट मात्र ओखलढुंगाको विकास र समृद्धि हासिल गर्न सक्छौ । तर, समृद्ध ओखलढुंगामा जानुभन्दा पहिले ओखलढुंगाले भोगेका आधारभूत समस्याहरुको पहिचान गर्नु जरुरी छ । श्रम सहभागीतामा वृद्धि, समावेशी र आर्थिक क्रियाकलापमा विस्तार जस्ता कुरा ओखलढुंगाको समृद्धिको लागि चाहिन्छ । यस्तै जनताको आम्दानी वृद्धि गर्नका लागि पुँजी, रोजगारी, प्रविधि, स्वास्थ्य र शिक्षाको स्तर, उधमशीलता र व्यापार तथा आर्थिक सुधारको स्थिरताले महत्त्वपूर्ण भुमिका खेल्न सक्छ । समृद्धिका लागि श्रम र पुँजीको महत्त्वलाई गहिरो अध्यन गरेर उद्योगको विकास, पुँजीको सुरक्षा, श्रम र कानुन जस्ता यावत विषयलाई विशेष ध्यान दिनुपर्छ । त्यस्तै राजनीतिक प्रतिस्पर्धा, सहभागीता र जवाफदेहीताको बलियो प्रणाली, संयन्त्र र संस्थागत संरचना लाई दिगो र स्वीकार्य बनाउनु जरुरी छ । जबसम्म विधिको शासन कायम हुदैन, तबसम्म विकास र समृद्ध नारामा मात्र सीमित हुन्छ । 

 समृद्ध हासिल गर्नका लागि ओखलढुंगाका जनप्रतिनिधिहरुले आफ्नो भौगालिक बनावट, भूराजनीतिक स्थिति र आफ्नो सामर्थ्य र आवश्यकताका आधारमा समृद्धिको खाकाकोर्न सक्नुपर्छ । यस्तो खाकाकोर्न दुरदर्शी, रणनीतिक, टिकाउ, भरपर्दो र वातावरणमैत्री बुझ्न सक्ने नेतृत्वको आवश्यकता पर्छ अनिमात्र समृद्ध आउँछ। त्यस्तै ओखलढुंगामा सुदृढ र भरपर्दो यातायात सञ्चालन, जलविद्युतको विकास, दिगो र भरपर्दो पर्यटनको विकास, कृषिको आधुनिकीकरण, जडिबुटी उत्पादन र प्रशोधन, धार्मिक पर्यटनको प्रचार प्रसार र पुर्वाधार निर्माण आदिले मात्र समृद्धि दिन सक्छ । समृद्ध एउटा गतिशील तथा निरन्तर रूपमा आर्थिक, सामाजिक, सास्कृतिक, प्रशासनिक र वातावरणीय क्षेत्रमा भएको सकारात्मक परिवर्तन हो । जबसम्म पछाडिपारिएका ओखलढुंगाका जनतामा अनुभुति हुने गरी उनीहरूको जीवनमा कुनै परिवर्तन आउदैन् त्यो समृद्ध होइन् । अब ओखलढुंगाका जनताले हामी विकासको कुन चरणमा छौं? ओखलढुंगामा समृद्धिका प्रमुख अवरोधहरु के-के छन् ? के गर्‍यो भने समृद्ध  हुन्छ? यी र यस्ता यावत प्रश्नहरुको हामीले समाधान खोज्नु आवश्यक देखिन्छ ।

चुनौती र सम्भावना :

घाँसे मैदान, वनजंगल, कृषि भूमि, नदीनाला, झरना आदिले विशिष्ट पर्यटकीय क्षेत्र, उत्पादन तथा औषधिजन्य उत्पादनको सम्भावना ओखलढुंगाले बोकेको छ । प्राकृतिक स्रोत साधनको प्रचुर सम्भावनाहरु रहेता पनि ती स्रोतहरुको प्रभावकारी उपयोग हुन नसक्दा यो क्षेत्रको विकासको स्थिति तुलनात्मक रूपमा न्यून हुन गएको छ । त्यसैले यहाँ अर्थतन्त्रका विभिन्न क्षेत्रको तीब्र विकास हुन आवश्यक छ ।  

ओखलढुंगा जिल्लामा नमस्ते, स्काई फोन, इमेल, ईन्टरनेट जस्ता संचार सेवाहरु सदरमुकाम क्षेत्रमा मात्र राम्रो सँग चलेता पनि सदरमुकाम भन्दा बाहिर अझै पनि राम्रो सग चलेको पाइदैन । सार्वजनिक शिक्षा र स्वास्थ्यमा लगानी अनुरुप सुधार हुन अझै सकेको छैन । सामुदायिक कलेज तथा अस्पताल गुणस्तरीय बनाउन कसैको पहल गरेको देखिदैन । सामुदायिक अस्पताल (मिसन) र रुम्जाटार अस्पतालसहित थुप्रै स्वास्थ्य चौकीहरुलाई सुधार गर्दै गुणस्तरीय बनाउनु आवश्यक छ । विद्यालय भर्नादरमा सुधार हुँदै गएतापनि बीचैमा पढाई छाड्ने प्रवृत्ति अझै उच्च नै रहेको छ । तसर्थ, गुणस्तरीय स्वास्थ्य र प्राविधिक शैक्षिक संरचनाहरु निर्माण गर्नु जरुरी छ । शिक्षा र स्वास्थ्यको अवस्थामा सुधार ल्याउनका लागि स्थानीय जनप्रतिनिधि र जनसमुदायहरु बीचमा समन्वयकारी भुमिका हुनु पर्छ ।

यस्तै ओखलढुंगामा चुनौतिका साथसाथै, अथाह सम्भावनाहरु समेत रहेका छन् । जुन निम्न अनुसार छन् :

सम्भावनाहरु:

– शिक्षा र स्वास्थ्य क्षेत्रलाई लगानीका माध्यमबाट गुणस्तरीय बनाउने ।

– दुधकोशी नदिबाट ६ सय २५ मेगावाट जलविद्युत उत्पादन कार्यलाई अगाडि बढाउने ।

– साघुटार – ओखलढुंगा – कुइभिर (सिलौरी) सडक पालोपत्रे निर्माण गर्ने ।

– विकास तथा लगानीका लागि कृषि उद्योग खोल्ने ।

– आर्गनिक कृषि उत्पादन गर्ने ।

– युवाहरुको जनसांख्यिक लाभ लिने ।

– नदीनाला तथा खोलाहरु बाट जलविद्युत परियोजना अगाडि बढाउने ।

– जलस्रोतको समुचित उपयोग गर्ने  ।

– आकर्षक पर्यटक स्थलहरु (झरना, मठ, मन्दिर, मनोरम दृश्य, नदी, पहाड ) मनोरम बनाउने ।

– संघीय संरचना अनुकूल पर्यटन क्षेत्रको पुनःसंरचना निर्माण गर्ने ।

– पर्यटन क्षेत्रमा निजी लगानीको वृद्धि गर्ने ।

– संघ, प्रदेश र स्थानीय तह अनुसारको प्रोफाइल तयार गर्ने ।

– सुरक्षित, भरपर्दो यातायात तथा हवाई सेवाको सुनिश्चितता गर्ने।

 – गन्तव्यहरुको पहिचान, प्रवद्र्धन तथा बजारिकरण गर्ने ।

– वातावरणीय दीगोपनामा जोड दिने ।

– परम्परागत मौलिक संस्कृतिहरुको संरक्षण र प्रवद्र्धन गर्ने ।

– व्यवसायिक, दक्ष जनशक्ति विकास गर्ने ।

चुनौतीहरु:

– विकास सम्बन्धी नीतिको अभाव रहनु तथा विद्यमान ऐन/नीतिमा समयसापेक्ष सुधार नहुनु ।

– सेवा क्षेत्र सबै नौलो हुनु ।

– पर्यटकीय सूचनाको अभाव र सहि व्यवस्थापन नहुनु ।

– भौतिक योजना र लगानी कार्यक्रमबीच तालमेल नहुनु ।

– नियमित, सुरक्षित र भरपर्दो यातायात (हवाई, स्थलमार्ग) सेवा प्रभावकारी नहुनु ।

– शिक्षा र स्वास्थ्यमा गुणस्तरीय तथा गुणात्मक बृद्धि गर्न नसक्नु ।

– स्थानीय तहहरू आधारभूत सुविधा निर्माणमा भन्दा आय आर्जन हुने आयोजनामा आकृष्ट हुनु ।

– प्रतिष्पर्धात्मक क्षमता अभिबृद्धि नगर्नु ।

– विकासलाई व्यवस्थित र समन्वय गर्न अधिकार सम्पन्न उच्च स्तरको निकायको अभाव हुनु ।

– पूर्वाधार विकासमा लगानी बृद्धि नहुनु ।

– सम्भावना र अवसरलाई आय आर्जनमा रुपान्तरण नगर्नु ।

-जिल्लाका सबै क्षेत्रमा खानेपानी तथा सरसफाइको दिगो उपलब्धता नहुनु ।

– लैंगिक समानता र महिला सशक्तीकरण नहुनु ।

– समावेशी र दिगो आर्थिक बृद्धि एवं रोजगारी दिन नसक्नु ।

– निजी क्षेत्रलाई जग्गा विकास तथा आवास निर्माणमा आकृष्ट गर्न ऐनको अभाव रहनु ।

अन्त्यमा :

दीर्घकालीन विकासको दृष्टिकोणबाट सरकारले तय गरेको लक्ष्य तथा उदेश्यहरु र वर्तमान आर्थिक मार्गचित्रको वास्तविक जानकारी विना कुनै पनि भावी कार्यक्रमहरु तय गर्न नसकिने हुँदा उपरोक्त आर्थिक धरातलीय अधारमा आगामी विकासको मोडल ओखलढुंगाले तय गर्नु आवश्यक देखिन्छ । केन्द्रीय तथा स्थानीय सरकारले संभावना र अवसरहरुलाई प्राथमिकतामा राखी ओखलढुंगाको नीति, योजना र कार्यक्रम तय गरी सोही अनुसार कार्यान्वयन गरेमा ओखलढुंगाको द्रुत गतीमा आर्थिक विकास हुने देखिन्छ । ओखलढुंगामा पुर्वाधार निर्माण र उद्योग स्थापना भएमा बेरोजगारीको समस्या अन्त्य हुन्छ । जसका कारण ओखलढुंगामा रहेका श्रमशक्तिहरु विदेश नगई स्थानीय स्तरमा नै काम गर्ने प्रवृत्ति उच्च रहेको देखिन्छ ।

समृद्धका लागि उच्च आर्थिक वृद्धि अपरिहार्य हुने गर्दछ । आर्थिक वृद्धिले रोजगारी सिर्जना, आयवृद्धि र गरिबी घटाउछ । ओखलढुंगाले पनि आर्थिक वृद्धिदर बढाएर र आय आसमानता घटाएर निम्न र मध्य वर्गको संख्या बढाउन सक्छ । कुनै पनि लोकतन्त्रमा आर्थिक रुपमा साक्षर जनसंख्याले संस्थाहरुको स्थापना तथा स्वतन्त्रता, आर्थिक वृद्धि तथा समृद्धसँग अनुकूल हुने किसिमका नीतिहरु अवलम्बनका लागि आधार प्रदान गर्दछ ।  ओखलढुंगा समृद्ध निर्माणका लागि लगानी आकर्षित गर्ने, उत्पादन गर्ने, सफल व्यवसायिक अभ्यासहरु अनुकरण गर्ने, वस्तु तथा सेवाहरुको आपूर्ति गर्ने र उच्च आर्थिक वृद्धि हासिल गर्न ठूलो सहयोग पुग्छ । विशेषगरी आर्थिक वृद्धिले जीवनस्तर उकास्छ र मानिसको जीवनको लम्बाई र गुणस्तर दुबैमा अभिवृद्धि गर्ने गर्दछ । मुलतः समृद्ध अर्थतन्त्र जग संग जोडिएको हुन्छ। तसर्थ, ओखलढुंगाको समृद्ध प्राप्त गर्न ठुलो संकल्प नै चाहिन्छ । यस्तो संकल्प पुरा गर्न सक्षम नेतृत्वको आवश्यकता पर्छ। नेतृत्व लोभ, इष्र्या र पुर्वाग्रहबाट मुक्त र लक्षप्रति अठोट भएको हुनु पर्छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सार्वजनिक क्षेत्रमा वित्तीय जवाफदेहीताको माध्यम मात्र होइन कि बजेट निर्माण आम सरोकारको विषय पनि हो । त्यसो त बजेट भनेको

सङ्घीय संसद्को निर्वाचन भएपश्चात् एक वर्षमा दुई अधिवेशन सकिएर तेस्रो अधिवेशनको तयारीमा छ सरकार । जनताबाट निर्वाचित भएर संसद्मा आएका

सन् २०२४ मा ७६ देशमा हुने निर्वाचनमा विश्वको आधाभन्दा धेरै जनसङ्ख्याले तिनीहरुको स्थानीय नगरप्रमुखदेखि केन्द्रीय प्रतिनिधि अर्थात राष्ट्रपति, प्रधानमन्त्री, चान्सलर

नेपालले अर्थतन्त्रको आकार बढाउनुपर्नेछ। नयाँ अवसर र सम्भावनाको खोजी गर्नुपर्ने आवश्यकता छ। नयाँ-नयाँ रोजगारी सृजना गर्दै आर्थिक गतिविधि बढाउनुपर्नेछ। अर्थतन्त्रमा