"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पोखराका सहकारी पीडितले गरे आन्दोलनको तयारी

प्रकाशित मिति :  ६ बैशाख २०८१, बिहीबार १०:४९


पोखरा । सर्वसाधारणका बचत अपचलन गरेका पोखराका सबै सहकारी पीडितहरू एकै ठाउँमा भेला भएर आन्दोलनको तयारी गरेका छन्।सहकारीमा राखेको बचत फिर्ता गर्न सरकार र राजनीतिक दलहरूले चासो नदिएको भन्दै पीडितहरूले संगठित रूपमा आन्दोलनमा जान लागेका हुन्।

पोखरामा अहिले ६ वटा सहकारीले बचत अपचलन गरेको मुद्दा अदालतमा विचाराधीन छ। यी ६ वटै सहकारीका पीडितहरूले संयुक्त रूपमा जाने निर्णय गरेका हुन्। पोखरामा भएको पीडितहरूको भेलाले ‘कास्की सहकारी बचत पीडित संघर्ष समिति’ गठन गरेको छ।

सूर्यदर्शन सहकारी पीडित किरण श्रेष्ठको संयोजकत्वमा गठित समितिमा इमेज सहकारी पीडित हरिबहादुर खत्री, कोषाध्यक्षमा शिव शिखर सहकारी पीडित टेकराज तिमिल्सिना, सचिवमा मित्र मिलन सहकारी पीडित प्रकाश पौडेल र सहसचिवमा बलिदानी सहकारी पीडित धम पुन छन्।

संघर्ष समितिको भेलाले अर्को साता पोखरामा बृहत प्रदर्शनी गर्ने निर्णयसमेत गरेको संयोजक श्रेष्ठले बताए।सहकारी पीडितको बचत फिर्ता गर्न भन्दा पनि सरकार र पार्टीहरूले पदको सौदाबाजीमा लागेकाले आन्दोलनमा जानुपरेको उनले बताए। ‘सरकारले कुनै टेरपुच्छर लगाउने देखिएन, दलहरू पनि पीडितका पक्षमा देखिएनन्,’ उनले भने, ‘पीडितहरू आफैं आन्दोलनमा नगइकन हुँदैन भनेर अगाडि बढ्न खोजेका हौं।’

सरकार र राजनीतिक दलहरूले पीडितको आवाज दबाएको पनि उनले बताए। सहकारीमा राखेको बचत २ वर्षभन्दा लामो समयदेखि फिर्ता नहुँदा कतिपय पीडितको मृत्यु भएको र कतिपय अत्यन्त नाजुक जीवन बिताइरहेको उनले बताए। 

पोखरामा आएका बेला प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरू एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने लगायतलाई ज्ञापन पत्र बुझाउँदा पनि सुनुवाइ नभएको उनले गुनासो गरे। 

‘नेपालका सबै ठूला नेता, प्रधानमन्त्री, गृहमन्त्री सबैलाई ज्ञापन पत्र बुझायौं, त्यतिबेला हुन्छ गर्छौं भन्छन्,’ उनले भने, ‘कसैले पनि हाम्रो पीडा बुझेन, अब हामी आवाज बुलन्द बनाउँछौं।’

पीडितहरूले सहकारी ठगीका सबै अभियुक्तलाई तत्काल पक्राउ गर्नुपर्ने, निष्पक्ष छानबिन गर्नुपर्ने, तत्काल पीडितका बचत रकम फिर्ता गर्नुपर्ने लगायतका माग राखेका छन्। उक्त माग पुरा नहुँदासम्म आन्दोलनमा जाने पनि निर्णय भएको श्रेष्ठले बताए। ‘सरकारलाई दबाब दिन संघर्ष समिति गठन गरियो, अब आन्दोलनमा जान्छौं,’ उनले भने, ‘हामीलाई देखाएर राजनीतिक सौदाबाजी धेरै भयो, न्यायको कुरै भएन।’

कास्कीमा खुलेका सहकारीहरूमध्ये सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट मात्र १ अर्ब ३१ करोड बढी अपचलन भएका छन्। यसका अध्यक्ष एवं ग्यालेक्सी टेलिभिजनका अध्यक्ष गीतेन्द्र बाबु (जिबी) राई सहकारी ठगीमा अझै फरार छन्। पोखरामै खुलेको अर्को इमेज बचत तथा ऋण सहकारीबाट पोखरामा मात्र करिब १ अर्ब अपचलन भएको छ। पोखरा र बागलुङमा छुट्टाछुट्टै इमेज सहकारी चलाएका ढोरपाटनका मेयर देवकुमार नेपाली पनि सहकारी ठगीमा फरार छन्।

यस्तै, मित्रमिलन, शिव शिखर, बलिदानी सहकारीले पनि करोडौं ठगी गरेको आरोप अदालतमा विचाराधीन छ। यी ठगीका केही आरोपी अझै फरार छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । तेस्रो टी-२० खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई ७६ रनले पराजित गरेको छ। यससँगै सिरिजमा वेस्ट इन्डिजले २-१ को अग्रता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको

नवलपुर । विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ । बयालीस महिनामा सडक विस्तारको काम सक्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले इलाम-२ को उपनिर्वाचनको परिणामले पार्टीमा कैयौं कमीकमजोरी रहेको इंगित गरेको जनाएको छ । मंगलबार इलामको