"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालद्वारा क्यानडाविरूद्धको सिरिज क्लिनस्विप

प्रकाशित मिति :  २९ माघ २०८०, सोमबार २०:४८


काठमाडौँ । क्याडनाविरूद्धको तीन खेलको एकदिवसीय सिरिज नेपालले ‘क्लिनस्विप’ गरेको छ। यसअघिका दुई खेल जितेर सिरिज आफ्नो बनाइसकेको नेपालले आज कीर्तिमानी जित निकाल्दै क्लिनस्वीप गरेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको तेस्रो खेलमा नेपालले ९ विकेटको जित निकाल्यो। टस जितेर पहिले फिल्डिङ गरेको नेपालले क्यानडाले दिएको २३३ रनको लक्ष्य १ विकेटको क्षतिमा ४४.३ ओभरमा पूरा गर्‍यो।

नेपालको जितमा ओपनिङ ब्याटर अनिलकुमार साह र तीन नम्बरमा ब्याटिङ गर्न आएका भीम सार्कीले शतक प्रहार गरे। अनिलले नटआउट ११२ रन र भीमले नटआउट १०१ रन बनाए। अनिलले १२४ बलमा १२ चौका र २ छक्काको मद्दतले शतक बनाए भने भीमले १२९ बलमा ११ चौका र १ छक्का प्रहार गर्दै शतक बनाए।

भीम र अनिल दुवैले एकदिवसीय खेलमा हानेको पहिलो शतक हो। यस्तै नेपालका लागि एकै इनिङ्ग्समा दुई खेलाडीले शतक प्रहार गरेको यो पहिलो हो। भीम र अनिलले नेपालका लागि अहिलेसम्मकै उच्च साझेदारी गरेर पनि कीर्तिमान बनाए। उनीहरू बीच नटआउट १८९ रनको साझेदारी भयो। यसअघि नेपालका लागि एकदिवसीय खेलमा उच्च साझेदारी १७१ रनको थियो। सो साझेदारी कुशल भुर्तेल र आसिफ शेखले जिम्बावेविरुद्ध पहिलो विकेटका लागि गरेका थिए।

नेपालका अर्का ओपनर कुशल भुर्तेल १४ बलमा ३ चौका प्रहार गर्दै १३ रन बनाएर आउट भए। कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ८ विकेटको क्षतिमा २३२ रन बनायो।

क्यानडाका लागि ओपनर नवनीत धिवालले अर्धशतक प्रहार गरे। ५० रन जोडे लगत्तै उनलाई नेपालका ललित राजवंशीले आकाश चन्दबाट क्याच गराए। त्यसअघि अर्का ओपनर आरोन जोनसनलाई डेब्यू खेलाडी हेमन्त धामीले देव खनालबाट ७ रनमा क्याच गराएका थिए। धामीले आज राष्ट्रिय टिममा डेब्यु खेल खेलेका हुन्।

क्यानडाका निकोलास किर्टन ३ रनमा आउट हुँदा हर्ष थाकेरले २९ रन जोडे। दुवैलाई नेपालका कुशल मल्लले आउट गरेका थिए।
विकेटकिपर श्रेयस मोभ्भालाई हेमन्त धामीले २५ रनमा कुशल भुर्तेलबाट क्याच गराए।

४८ ओभरमा आउट भएका निखिल दत्ताले ४५ रन जोडे। उनी रन आउट भएका हुन्। कप्तान शाद बीन जाफरले ३१ रन जोड्ने क्रममा १५ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

बलिङमा नेपालका हेमन्त धामीले ३ विकेट लिए। उनले ८ ओभरमा ४९ रन खर्चिए। कुशल मल्लले २ विकेट लिए भने ललित राजवंशी र आकास चन्दले १-१ विकेट लिए।

‍‍फागुन पहिलो सातादेखि त्रिवि मैदानमै हुने आइसिसी विश्वकप लिग-२ को सिरिजको तयारीका लागि नेपालले क्याडनासँग खेलेको हो। लिग-२ को यो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।

खेलमा नेपालले पेनाल्टीबाट पाँच रन प्राप्त गरेको छ। क्यानडाका कप्तान शाद बीन जाफरले ब्याटिङका क्रममा पीचमा कुदेपछि नेपाललाई पाँच रन पेनाल्टी दिइएको हो। क्रिकेटको नियमअनुसार ब्याटरले पीचमा टेकेपछि सुरुमा अम्पायरले चेतावनी दिन्छन्। त्यसपछि पनि पीचमा टेकेमा फिल्डिङ टिमलाई पाँच रन पेनाल्टी स्वरुप दिइन्छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौँ । नेपाली क्रिकेट राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२० को अलराउन्डरको वरीयताको शीर्ष १० भित्र पर्न सफल भएका छन्। उनी

काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल (कांग्रेस) सँग सहमति गर्न अपिल गरेका छन् । प्रधानमन्त्री

काठमाडौं । सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रबाट आगामी आर्थिक वर्ष ५ हजार रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । आगामी