"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बगानको सुन्तला पाक्न नपाउँदै १० लाखमा बिक्री

प्रकाशित मिति :  १७ पुष २०८०, मंगलवार १२:००


इलाम । इलाम नगरपालिका-५ बरबोटेका किसान सामवेद चापागाईंले २० रोपनी क्षेत्रफलमा सुन्तलाखेती गरेका छन्। अन्यत्र उत्पादन घटेका बेला चापागाईंको बगानमा भने सुन्तला लटरम्म फलेको छ। सुन्तला लगाएको पहिलो वर्ष तीन हजारमा बिक्री भएको सम्झिँदै उनले यो वर्ष आफ्नो बगानको सुन्तला पाक्न नपाउँदै १० लाखमा बिक्री भएको बताए।

‘मैले २०६० सालदेखि सुन्तलाखेती गर्न थालेको, यो वर्ष सबैभन्दा बढी १० लाख रुपैयाँमा बेचेँ’, चापागाईंले भने।‘गत वर्ष चार लाखमा बिकेको यो बगानमा यो वर्ष उत्पादन राम्रो छ,’ उनले भने, ‘धेरैतिर उत्पादन कम भएपछि व्यापारीले पोहोरको तुलनामा दोब्बरभन्दा बढी मूल्य दिएका छन्।’ कृषि ज्ञान केन्द्र इलामले पनि चापागाईंको बगान नै इलाममा अहिले सबैभन्दा बढी सुन्तला उत्पादन हुने बगान रहेको हुनसक्ने जनाएको छ। केन्द्र प्रमुख टोनी बर्देवाले केन्द्रले किसानलाई सुन्तलाखेतीमा अनुदान र प्राविधिक सहयोग गरिरहेको बताए।

गत वर्ष दुई हजार ७४४ मेट्रिक टन सुन्तला उत्पादन भएको इलाममा यो वर्ष दुई हजार ७४० मेट्रिक टन सुन्तला उत्पादन भएको बर्देवाले बताए। कार्यालयका अनुसार यो वर्ष इलाममा विगतको तुलनामा सुन्तलाखेती गर्ने क्षेत्रफलसमेत घटेको छ। आर्थिक वर्ष २०८०/८१ मा २७८.५ हेक्टरमा मात्र सुन्तलाखेती भएको छ। गत आव २०७९/८० मा २८० हेक्टरमा सुन्तलाखेती गरिएको थियो। इलाम नगरपालिका–५ माइजोगमाईको नामसालिङ, रोङको वडा नं ६ लगायत क्षेत्रमा व्यावसायिकरूपमा सुन्तला उत्पादन भएको उनले बताए।

‘पुरानो बोट, रोग–कीरा, मौसम परिवर्तन, समयमा छाँटकाँट, सिँचाइ अभाव, जलवायु परिवर्तनको असर आदि कारणले पनि बगान मासिँदैछन्’, उनले भने, ‘अहिले उच्च क्षेत्रमा पनि सुन्तला फल्न थालेको खबर आएका छन्। किवीखेती हुने स्थानतिर सुन्तला फलेको पाइएको छ।’ केन्द्रले पनि सुन्तला मासिन नदिन बगैँचा व्यवस्थापन सुदृढीकरण कार्यक्रम शुरु गरेको बर्देवाले बताए।

सुन्तलाको आम्दानीलाई नियमित बनाउन जिल्लाका किसानको मेहनत घटेको छैन। किसान चापागाईँ बिहान उज्यालो नहुँदै सुन्तला स्याहार्न पुग्छन्। साँझसम्म पनि सुन्तलाको स्याहारसुसारमै दिन बित्छ। सुन्तलामा लाग्ने कीरा नियन्त्रणका लागि उनले बेग्लै प्रविधि निर्माण गरेका छन्। उनको बगान हेर्दा सफाचट देखिन्छ। वेला–वेला सिँचाइसमेत गर्नुपर्छ। ‘बोटदेखि भुइँसम्म लत्रिएका दाना, देख्दै टिपौँ–टिपौँ लाग्ने सुन्तला स्याहार्दै दिन बिताउन खुब मज्जा लाग्छ’, उनले भने।

बगानमा केही पुराना बोट मरे पनि नयाँ थपेको उनले सुनाए। भने, ‘एउटा उत्कृष्ट बगान बनाउन मन छ, त्यसमै लागिपरेको छु।’ यो समय सुन्तला उत्पादनको मुख्य सिजन पनि हो। कात्तिक दोस्रो सातादेखि बजारमा निस्किएको सुन्तलाको खुद्रा मूल्य अहिले प्रतिकिलो १२० देखि १५० छ। तर धेरैजसो बगान बोट सुकेर रित्तिइसकेका छन्। वर्षैपिच्छे बोटै सुकेर सुन्तलाको उत्पादन कम हुन थालेपछि किसान चिन्तित भएका छन्। 

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत केही नयाँ व्यवस्था ल्याएको छ भने केही पुराना व्यवस्थालाई

काठमाडौं । १५ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको छ । विभिन्न सार्वजनिक निकायले कालो

बुटवल – लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । एमाले र कांग्रेसको

सिरहा – सिरहाको डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले नगरपालिकाको बजेट प्रयोग गरी आफ्नो निजी पोखरीमा घाट बनाएको भन्दै अख्तियार दुरूपयोग