"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जलवायु परिवर्तनमा भएको प्रभावबारे सहयोगको मुख्य हकदार नेपाल हो : राष्ट्रपति

प्रकाशित मिति :  १९ मंसिर २०८०, मंगलवार १६:०१


काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको प्रभावलाई न्यूनिकरण गर्न तयार पारिएका वित्तीय र प्राविधिक सहयोगको मुख्य हकदार नेपाललगायत जलवायु परिवर्तनको प्रभावको मारमा परेका मुलुकहरू हुन् भन्ने कुरा बिर्सन नहुने बताएका छन्।

इसिमोड स्थापनाको ४० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तन, वातावरणीय र जैविक विविधताको ह्रासबाट हुने प्रभावहरू राष्ट्रिय सीमानाभित्र नभई सीमापारी र विश्वस्तरमासमेत पर्न जाने बताए।

‘अहिलेको विश्व मानव सृजित जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वातावरणीय प्रदुषणका कारणले संकटमा छ। पहाडी संवेदनशील भू–बनौट र कमजोर आर्थिक सामाजिक कारणहरूले गर्दा हिन्दुकुश हिमालयजस्ता पर्वतीय हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव अझ व्यापक छ,’ उनले भने।

राष्ट्रपति पौडेलले नेपालजस्ता मुलुकले हरितगृह ग्यास उत्सर्जन र जलवायु परिवर्तनमा शुन्यसरह योगदान गरे पनि यहाँ जलवायु परिवर्तनको प्रभाव अत्यधिक भएको उल्लेख गर्दै केही समयअघि संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणका क्रममा आफूले कार्वन उत्सर्जनको कारक नभएर पनि नेपालले भोग्नुपरेको जलवायु परिवर्तनको असरको मार सम्बन्धमा विश्वको ध्यानाकर्षण गराउन गरेको आग्रह स्मरण पनि गराए।

‘जलवायु परिवर्तनको प्रभाव न्यूनिकरण गरेर यस क्षेत्रका मानिसको जीवन सहज बनाउनु आज हाम्रा सामु ठूलो चुनौती छ। हिमालमा हिउँ पग्लने, हिमताल फुट्ने, पहाडमा पहिरो जाने र दक्षिण तटमा बाढीले गर्दा जलवायु परिवर्तनजन्य घटनाका कारण अर्थतन्त्र, वातावरणीय प्रणाली र मानवतालाई ठूलो हानी नोक्सानी पुगिरहेको छ,’ उनले भने।

नेपाल सरकारले जलवायु परिवर्तन, वातावरणीय ह्रास, विपत् जोखिम न्यूनिकरण, जैविक विविधता संरक्षण, जीवीकोपार्जनसम्बन्धी मुद्दामा छिमेकी मुलुक र अन्तर्राष्ट्रिय साझेदारसँगको सहकार्यलाई प्राथमिकतामा राखेको उनले बताए।

राष्ट्रपति पौडेलले नेपाल इसिमोडको संस्थागत विकास गर्न र समग्र हिन्दुकुश हिमालमा अवस्थित पर्वतीय क्षेत्रको दिगो विकासका लागि सधैँ प्रतिबद्ध भएको र भविष्यमासमेत नेपालको सहयोग जारी रहने बताए।

‘हिन्दुकुश पर्वतीय श्रृङ्खला यस क्षेत्रका लागि मात्र नभएर संसारकै लागि खाद्यान्न, उर्जा, पानी, सांस्कृतिक र जैविक विविधताका लागि महत्वपूर्ण सम्पत्तिको रुपमा रहेको सबैलाई विदितै छ। हिन्दुकुश हिमालयको पर्यावरणीय सेवाको छातामुनि संसारका एक चौथाइ मानव जीवन आश्रित छन्। यो क्षेत्रको संरक्षण कति महत्वपूर्ण छ भन्ने यसबाट पनि प्रष्ट हुन्छ,’ उनले भने।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल भएको

काठमाडौँ । सत्ता र प्रमुख प्रतिपक्षबीचको टकरावले संसद् बैठक मुठभेड उन्मुख देखिएको छ । सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नतामाथि

काठमाडौँ । नेपाली क्रिकेट राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२० को अलराउन्डरको वरीयताको शीर्ष १० भित्र पर्न सफल भएका छन्। उनी

काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल (कांग्रेस) सँग सहमति गर्न अपिल गरेका छन् । प्रधानमन्त्री