"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीको चीन भ्रमणमा अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलनमा राख्न सुझाव

प्रकाशित मिति :  २४ भाद्र २०८०, आईतवार ११:५०


काठमाडौं । प्रमुख राजनीतिक दलहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाल र छिमेकी राष्ट्रहरूबीचको सम्बन्धलाई सन्तुलनमा राख्न सुझाव दिएका छन् । संयुक्त राष्ट्रसंघको महासभाका लागि न्यूयोर्क र त्यसपछि चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री दाहाललाई दलहरूले सबै छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई सन्तुलित राख्न सुझाव दिएका हुन् ।

आइतबार बिहान प्रधानमन्त्री दाहालले आफ्नो न्यूयोर्क र चीन भ्रमणका सम्बन्धमा पूर्वप्रधानमन्त्रीहरू, संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरू र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल गर्न सर्वदलीय बैठक बोलाएका थिए । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा पूर्वप्रधानमन्त्री र दलका नेताहरूले चीन र भारत दुवै देशहरू नेपालका असल छिमेकीहरू रहेको भन्दै त्यसको सन्तुलन कायम राख्न सुझाव दिएका थिए ।

त्यस्तै, चीन भ्रमणमा हुँदा नेपालको चुच्चे नक्साको विषयमा कुरा उठाउन समेत दलहरूले सुझाव दिएका छन् । बैठकपछि परराष्ट्रमन्त्री एनपी साउदले बैठकमा संयुक्त राष्ट्रसंघ र चीन भ्रमणका बेला प्रधानमन्त्रीले ध्यान दिनुपर्ने कुराहरू, राख्नुपर्ने प्रस्तावहरू, अपनाउनु पर्ने सावधानी र गर्नुपर्ने कामहरूका विषयमा पूर्वप्रधानमन्त्रीहरूसहित दलहरूबाट महत्त्वपूर्ण सुझाव र सल्लाह प्राप्त भएको बताए ।

‘प्रधानमन्त्रीज्यूले आसन्न चीन भ्रमणका विषयमा पूर्वप्रधानमन्त्रीहरू, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरू, पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल गर्नुभएको छ,’ उनले भने, ‘त्यस क्रममा अहिलेको अवस्थामा संयुक्त राष्ट्रसंघमा र चीन भ्रमणका बेलासमेत ध्यान दिनुपर्ने कुराहरू, राख्नुपर्ने प्रस्तावहरू, अपनाउनु पर्ने सावधानी र गर्नुपर्ने कामहरूका विषयमा पूर्वप्रधानमन्त्रीहरूसहित दलहरूबाट महत्त्वपूर्ण सुझाव र सल्लाह प्राप्त भएको छ । प्रधानमन्त्रीको भ्रमणलाई सफल बनाउने विषयमा सबै राजनीतिक दलहरूको बीचमा सहमति भएको छ ।’

बैठकले दलहरूले सबै छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई सन्तुलनमा राख्न सुझाव दिएको जनमत पार्टीका अध्यक्ष सीके राउतले बताए ।

उनले आफूले भने गरिबी निवारणमा चीनले प्राप्त गरेको सफलताबाट सिकेर आउन सुझाव दिएको बताए । ‘गरिबी निवारणको सवालमा चीनले जुन सफलता हासिल गरेको छ, त्यसबाट हामीले थुप्रै सिक्न सकिने कुराहरू छन्, हामीले उनीहरूबाट सहयोग र सहकार्य प्राप्त गर्न सक्छौं,’ बैठकपछि अध्यक्ष राउतले भने, ‘हामीले प्रधानमन्त्रीजीलाई त्यस्तो वातावरण बनाउन पहल गर्न सुझाव दिएका छौं ।’

प्रधानमन्त्री दाहाल यही ३० भदौमा संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन अमेरिका जाँदैछन् भने महासभापछि त्यतैबाट चीन भ्रमणमा जाने कार्यतालिका छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल भएको

काठमाडौँ । सत्ता र प्रमुख प्रतिपक्षबीचको टकरावले संसद् बैठक मुठभेड उन्मुख देखिएको छ । सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नतामाथि

काठमाडौँ । नेपाली क्रिकेट राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२० को अलराउन्डरको वरीयताको शीर्ष १० भित्र पर्न सफल भएका छन्। उनी

काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल (कांग्रेस) सँग सहमति गर्न अपिल गरेका छन् । प्रधानमन्त्री