"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अर्थमन्त्रीको जवाफ : अर्थतन्त्रका समस्या स्वीकार गरी बजेट सुधारको प्रस्ताव र कार्यान्वयनमा जोड दिएको छु

प्रकाशित मिति :  २९ जेष्ठ २०८०, सोमबार १४:२८


काठमाडौँ ।  अर्थमन्त्री प्रकाशशरण महतले नेपाली अर्थतन्त्रका समस्या स्वीकार गरेर बजेट ल्याएको बताएका छन् । उनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा बजेट सुधारको प्रस्ताव राखेको र कार्यान्वयनको प्रस्ताव राखेको बताएका हुन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री महतले समस्याहरू एकै चरणमा समाधान गर्न नसकिने कुरा स्वीकार गरी बजेट प्रस्तुत गरेको बताए । उनले साधारण खर्च कटौतीको सुरुआत गर्ने बजेट ल्याएको पनि बताए । ‘मैले अहिलेको अवस्थामा देखिएका समस्या के छन् ? राजस्वको स्थिति के छ ? वैदेशिक ऋण र सहायताको स्थिति के छ ? आन्तरिक ऋणको अवस्था के छ ? मौद्रिक नीतिले ल्याएका प्रभाव के छन् ? अर्थ नीतिले ल्याएका प्रभाव के छन् ? गत समयका सरकारहरूले गरेका निर्णयहरूको प्रभाव के कस्तो परेको छ ? कोभिडको के-कस्तो प्रभाव परेको छ ?’ उनले भने, ‘त्यति मात्रै नभएर यो युक्रेन युद्धले ल्याएको बाह्य समस्याको कारणबाट नेपाली अर्थतन्त्र कसरी प्रभावित भएको छ ? यी तमाम कारणहरूले गर्दा हाम्रो अर्थतन्त्रमा के कस्ता प्रभावहरू परे ? त्यसले राजस्वमा के-कस्तो दबाब सिर्जना गर्‍यो ? त्यस्तै गरेर पुँजी प्रवाहमा अर्थतन्त्रमा तरलता दिनेमा के कस्ता समस्याहरू आए ? त्यसलाई मैले स्वीकार गरेर अगाडि बढेको छु ।’

अर्थतन्त्र आफू अर्थमन्त्री भएलगत्तै सुधार भएको दाबी आफ्नो नरहेको पनि अर्थमन्त्री महतको भनाइ थियो । ‘मैले यो भनेको छैन कि सम्पूर्ण चिज हामी आउनेबित्तिकै राम्रो भयो । यति छोटो समयमा राम्रो हुने कुरा पनि छैन । यी समस्याहरू एक-डेढ वर्षमा सिर्जित समस्या पनि होइनन् । धेरै पहिलेदेखि थपिँदै गएर थुप्रो लागेका समस्या हुन्,’ उनले भने, ‘यी थुप्रो लागेको समस्यालाई हामीले एक धक्काले समस्या समाधान गर्छु र अगाडि बढ्छु भन्ने दाबी पनि मैले गरेको छैन ।’

मन्त्री महतले नेपालको अर्थतन्त्रमा समस्या रहेको र आर्थिक वृद्धि कम भएको बताए । उनले राजस्व संकलन कम भएको र आन्तरिक ऋण लिइरहनुपरेको पनि बताए । वैदेशिक सहायतामा निर्भरता कम गर्न नसकिएको पनि उनको भनाइ थियो । ‘यी सबै कुरालाई स्वीकार गरेर अगाडि बढेको र बढ्ने क्रममा अब हामीले चरणबद्ध रुपमा अप्ठ्याराहरूलाई हटाउने हो ।

समस्याको चाङ एकै पटकमा हटाउन सकिँदैन भन्ने स्वीकार गरेर नै मैले बजेट सुधारको प्रस्ताव राखेको छु । बजेट कार्यान्वयनको प्रस्ताव राखेको छु,’ उनले भने ।

बजेटमार्फत साधारण खर्च कटौतीको प्रस्ताव अगाडि सारिएको मन्त्री महतको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल भएको

काठमाडौँ । सहकारी छानबिनको विषयमा सत्तारुढ दल र प्रमुख विपक्षी दलबीच कुरा नमिल्दा कांग्रेसले बिहीबार राष्ट्रिय सभामा अवरोध जारी राखेको

काठमाडौं । सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रबाट आगामी आर्थिक वर्ष ५ हजार रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । आगामी

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका विमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ