"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लुम्बिनीमा पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित्रिए

प्रकाशित मिति :  २३ जेष्ठ २०८०, मंगलवार १३:१७


लुम्बिनी । पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कुल चार लाख ७० हजार ५४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन् । सन् २०२२ को जनवरीदेखि मे महिनासम्म तीन लाख ६२ हजार ५६ जनाले लुम्बिनी भ्रमण गरेका थिए । गत वर्षकोभन्दा यस वर्षको सङ्ख्या एक लाख आठ हजार चार सय ८६ ले बढी छ ।

सन् २०२३ को जनवरीदेखि मे महिनासम्ममा ६७ देशका ३४ हजार चारसय १३ जना राहदानी लिएका, तीन लाख २४ हजार दुई सय ६८ नेपाली र एक लाख ११ हजार आठ सय ६१ भारतीय नागरिकले बुद्धजन्मस्थलको भ्रमण गरेको तथ्याङ्क छ । गत वर्ष दुई हजार ६८७ राहदानी लिएका, दुई लाख ८९ हजार पाँचसय ९४ नेपाली र ६९ हजार सात सय ७५ भारतीय नागरिकले लुम्बिनी भ्रमण गरेका जनाइएको छ ।

यस पाँच महिनाको अवधिमा नेपाली र भारतीय नागरिकबाहेक थाइल्यान्डका आठ हजार २४७, श्रीलङ्काका पाँच हजार ७२१, म्यान्माका पाँच हजार ३९८, भियतनामका तीन हजार २३५, कोरियाली दुई हजार ६२९, चिनिया एक हजार २०८ र अन्य देशका सात हजार ६७५ जना राहदानीका नागिरकले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।

गत वर्ष सन् २०२२ मा यिनै पाँच महिनाको आगन्तुक गणना गर्दा तेस्रो मुलुक ९६ देशका राहदानी दुई हजार छ सय ८७, नेपाली दुई लाख ८९ हजार पाँच सय ९४ र भारतीयको सङ्ख्या ६९ हजार सात सय ७५ रहेको थियो ।

तेस्रो मुलुकका राहदानी लिएकाको गणना गर्दा भियतनामी छ हजार नौ सय २३, थाई चार हजार तीन सय ८०, श्रीलङ्कन एक हजार आठ सय ८५, म्यान्मा एक हजार चार सय ९५ तथा अन्य नौ हजार दुई सय ५९ छन् ।

कोरोनाको अवधि सन् २०२१ मा ६८ देशका एक हजार एक सय ९७ जना राहदानी लिएकाले लुम्बिनी भ्रमण गरेका थिए । त्यसैगरी सन् २०२० को जनवरीमा १३ हजार एक सय सात, फेब्रुअरीमा २१ हजार छ सय ६७ र मार्च महिनामा आठ हजार तीन सय ६३ जना त्यसपछि नोभेम्बरमा ३ र डिसेम्बर महिनामा २३ तथा विशिष्ट दुई हजार एक सय ६६ गरी कूल ४५ हजार तीन सय २९ जना राहदानी लिएकाले लुम्बिनी भ्रमण गरेका थिए ।

सन् २०२१ मा चार लाख ६३ हजार छ सय ६३ जना नेपाली र ४३ हजार सात सय ३२ जना भारतीय नागरिकले लुम्बिनी भ्रमण गरेका थिए भने सन् २०२० मा दुई लाख १० हजार ३३ जना नेपाली र ३७ हजार दुई सय छ जना भारतीय नागरिकले लुम्बिनी भ्रमण गरेका कोषले उपलब्ध गराएको सूचनामा उल्लेख छ ।

त्यसअघि २०१९ मा भने नेपाली, भारतीय र तेस्रोमुलुक गरी कूल १५ लाख ५८ हजार तीन सय २६ जनाले लुम्बिनी भ्रमण गरेका थिए ।

लुम्बिनी, नेपालको पश्चिमी क्षेत्रस्थित एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो । यो स्थानलाई बौद्धधर्मको जन्मस्थल मानिन्छ र विश्व सांस्कृतिक धरोहरस्थलको सूचीमा युनेस्कोले समावेश गरेको छ । यहाँ हालका वर्षमा पर्यटक वृद्धिसँगै पर्यटन व्यवसायले पनि वृद्धि गरेको लुम्बिनी पर्यटन व्यवसायी सङ्घका अध्यक्ष हुसेनी लोधले बताए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मेत्तेय)ले लुम्बिनीमा पर्यटक सङ्ख्याको वृद्धि पर्यटन उद्योगका लागि एक सकारात्मक सन्देश रहेको बताए ।

उनले भने, ‘यसले स्थानीय अर्थतन्त्रलाई वृद्धि गराउँछ भने रोजगार र आयसम्बन्धी अवसर प्रदान गर्दछ ।’ यो तथ्याङ्क मायादेवी मन्दिर परिसरमा प्रवेश गर्नेको मात्र हो । मायादेवी मन्दिर प्रवेश नगरेका तर लुम्बिनी घुम्न आएका पर्यटक पनि धेरै रहेको उनले बताए ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना खोजिरहेका बेलामा कतार पनि पानी निर्यातको राम्रो गन्तव्य हुनसक्नेमा सरोकारवालाहरूले

काठमाडौँ  । कोरोना महामारीका कारण थलिएको नेपालको पर्यटन क्षेत्र वर्ष २०८० मा सुधारोन्मुख रह्यो। पर्यटक आगमनमा उल्लेख्य सुधार देखियो भने पर्यटकीय

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकिङ्ग प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रुपैयाँसम्म

इलाम । इलामको अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ