"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संकटबाट जोगीन खाद्यान्नको जोहो गर्न सरकारलाई विज्ञको चेतावनी

प्रकाशित मिति :  २२ बैशाख २०८०, शुक्रबार १९:४४


काठमाडौँ । विज्ञहरुले यो वर्ष खाद्यान्न संकट हुने चेतावनी दिएका छन् । हिउँदमा पनि आवश्यक वर्षा नभएको र मनसुनमा पनि कम वर्षा हुने भएकाले खाद्य चक्रलाई सहज बनाउन सरकारले विशेष कार्यक्रम लागू गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।

नेपालमा यो वर्षायाममा आवश्यक मात्रामा वर्षा नहुँदा सम्पूर्ण खाद्य प्रणालीमा नै समस्या देखिने र वातावरणीय समस्या उत्पन्न हुनेतर्फ सरकारलाई सचेत गराएका छन् । विज्ञहरुले गत वर्षको हिउँदमा पनि आवश्यक भन्दा कम वर्षा भएको र वर्षायाममा पनि सुक्खा खडेरी पर्ने हुँदा भोकमरी, कृषि उत्पादनमा कमी लगायतका समस्याहरु सिर्जना हुनसक्ने भन्दै पूर्वतयारीका साथ रहनुपर्नेमा जोड दिएका छन् ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले यस पटकको वर्षायाममा आवश्यक वर्षा नहुने भएकाले सरकारले खाद्य सुरक्षाका लागि आवश्यक रणनीति बनाइ पूर्व तयारी थाल्नुपर्ने सुझाव दिए । गहुँ, धान, मकै लगायतका बालीहरुमा कमी आउने र खाद्यान्न पहिलाको भन्दा बढी आयात गर्नुपर्ने स्थिति आउनसक्ने उनको भनाइ छ ।

‘हिउँदे वर्षा हाम्रो २१ प्रतिशत मात्रै भयो । अत्यन्तै न्यून हो । त्यसले ल्याउने भोकमरी, कृषि उत्पादनमा हुने कमी, मैले लिएको जानकारी अनुसार गहुँको मूल्य हृवात्तै बढेको छ’ उप्रेतीले भने ‘यसपटक उत्पादन नहुने देखेपनि व्यापारीहरुले गहुँको मूल्य बढाइसकेका छन् ।’ यस वर्षको वर्षायाममा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण विभिन्न अध्ययनले देखाएका छन् ।

‘आकाशे पानीमा भर परेर गरिने खेतीको उत्पादकत्व घट्छ, यसले खाद्यान्नमा असर पर्छ’ उनले भने ‘आर्थिक अवस्था कमजोर भएका बेलामा झनै खाद्यान्न आयात गर्नुपर्ने अवस्था हुन सक्छ, हामीले आजैदेखि तयारी गर्नुपर्छ, त्यसको आँकलनका आधारमा योजना बनाउनुपर्ने आवश्यक छ ।’

आगामी मनसुन सिजनमा कम वर्षा हुने मौसमविद्हरुको आँकलन रहेको भन्दै खाद्यान्न जोहो गर्नुपर्नेमा सरकार सचेत रहेको सरकारी अधिकारीहरुको भनाइ छ । बिहीबार जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन सिजनको अवस्थाबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्माले मौसमविद्हरुको अनुमानलाई मध्यनजर गरेर सरकारले आवश्यक रणनीति बनाइरहेको बताए । विगतका वर्षहरुको तुलनामा यस वर्ष आकाशे पानी मनसुन सिजनमा कम हुने आँकलन रहेको भन्दै उनले सोअनुसार धान रोप्ने बेलामा सिँचाइलाई विशेष जोड दिनुपर्ने बताए । ‘अब धान रोप्ने समयमा आकाशे खेतीमा भर परेका किसानलाई हिट गर्छ’ उनले भने ‘मौसमी अन्नबाली र मकैमा समेत लगानी बढाउनुपर्छ भन्ने अनुमान हाम्रो छ । पूर्वसूचना प्रणालीको विकास सबै पालिकास्तरमा हुन जरुरी छ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – काठमाडौँ उपत्यकामा सवारी दुर्घटना र मानवीय क्षति घटेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा उपत्यकामा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत केही नयाँ व्यवस्था ल्याएको छ भने केही पुराना व्यवस्थालाई

काठमाडौँ – परराष्ट्रमन्त्री आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गरेकी छन् ।  मन्त्रालयस्थित मन्त्री डा राणाको

काठमाडौँ – मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्राध्यापक डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ । अधिकारी यसअघि योजना आयोगका सदस्य थिए ।