"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री दाहालको भारत भ्रमण वैशाख तेस्रो साता तयारी

प्रकाशित मिति :  ५ बैशाख २०८०, मंगलवार ११:१७


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले वैशाख १५ देखि तीन दिन भारत भ्रमण गर्ने गरी सरकारले गृहकार्य अघि बढाएको छ । नयाँ घटनाक्रम केही नभए र सबै कुरा अहिलेको योजनाअनुसार अघि बढे प्रधानमन्त्री दाहाल १५ गते बिहान दिल्लीतर्फ उड्ने सरकारी स्रोतले जनाएको छ । तेस्रो पटक प्रधानमन्त्री भएका दाहालको पहिलो विदेश भ्रमण भारतबाट हुन लागेको हो । 

स्रोतका अनुसार भारतको विदेश मन्त्रालयले मिति प्रस्ताव गरेर परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेबमोजिम भ्रमण गर्न सोमबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल र नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदबीच कुराकानी भएको छ । भ्रमणकै गृहकार्य भइरहेका बेला कांग्रेस नेता साउद आइतबार परराष्ट्रमन्त्री नियुक्त भएका हुन् । परराष्ट्रमन्त्री साउदले भ्रमणको गृहकार्य भइरहे पनि मितिको सन्दर्भमा अझै छलफल चलिरहेकै बताए । ‘हामी अहिले मितिका सम्बन्धमा छलफलमा छौं । दुवै पक्षबाट टुंगो लागेपछि सार्वजनिक गर्छौं,’ उनले भने ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार हरिबोल गजुरेलले भ्रमणको मिति निश्चित गर्ने गृहकार्य भइरहेको बताए । ‘भारत भ्रमणलाई मध्यनजर गरेरै छिटो परराष्ट्रमन्त्री नियुक्त गरिएको हो, यसले भ्रमणको गृहकार्य सहज हुन्छ,’ उनले भने, ‘वैशाख १५ आसपास भ्रमण हुने सम्भावना छ, छिट्टै टुंगो लाग्छ ।’ भारतले पठाएको मिति टुंगो लगाएर नेपालले भारतीय पक्षसँग पत्राचार गर्ने तयारी रहेको स्रोतले जनाएको छ । त्यसपछि दुवै देशले प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा विज्ञप्ति जारी गर्नेछन् ।

माओवादी अध्यक्ष दाहाल गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री भएका हुन् । प्रधानमन्त्री भएको पर्सिपल्टै दाहालले एक भारतीय टेलिभिजनलाई अन्तर्वार्ता दिँदै आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै हुने बताएका थिए । यसबीचमा ‘बोआओ फोरम फर एसिया’ का लागि बेइजिङबाट निम्तो आउँदा पनि दाहाल सहभागी हुन गएनन् । बोआओ सम्मेलन चैत १४ देखि १७ सम्म चीनको हेनान प्रान्तमा भएको थियो ।

परराष्ट्र मन्त्री नभए पनि चैत पहिलो सातादेखि नै प्रधानमन्त्रीको भारत भ्रमणको तयारी अघि बढेको थियो । दाहालले दोस्रो पटक विश्वासको मत लिएपछि नै भारत जाने तरखर गरेका थिए । तर भारतीय पक्षबाट मितिको प्रस्ताव आएको थिएन । भारत भ्रमणको गृहकार्यकै लागि भारतका लागि नेपाली राजदूत शंकर शर्मा फागुन अन्तिम साता काठमाडौं आएका थिए । त्यस अवसरमा राजदूत शर्माले प्रधानमन्त्री दाहाल र परराष्ट्र सचिव भरतराज पौड्यालसँग भ्रमणका लागि आवश्यक विषयवस्तुबारे जानकारी गराएका थिए । प्रधानमन्त्री दाहालले आवश्यक गृहकार्यका लागि राजदूत शर्मालाई निर्देशन पनि दिएका थिए ।

दाहाल प्रधानमन्त्रीका रूपमा यसअघि दुई पटक भारत भ्रमणमा गए । दाहाल सन् २००८ मा पहिलो पटक प्रधानमन्त्री भएका बेला भारतको भ्रमण नगरीकन बेइजिङ ओलम्पिक समापन समारोहमा सहभागी हुन चीन पुगेका थिए । नेपालमा प्रधानमन्त्री नियुक्त भएपछि पहिलो विदेश भ्रमण भारतबाट गर्ने परम्परालाई उनले तोडेको भनेर त्यति बेला चर्चा भएको थियो । तर, भारत असन्तुष्ट बनेको बुझेपछि दाहालले बेइजिङबाट फर्केलगत्तै आफ्नो औपचारिक भ्रमण भारतबाटै हुने बताएका थिए । दाहालले सन् २०१६ मा दोस्रो पटक प्रधानमन्त्री हुँदा आफ्नो औपचारिक विदेश भ्रमण भारतबाटै गरेका थिए ।

दाहालको भारत भ्रमणका क्रममा दुई मुलुकबीच हुन सक्ने साझेदारी र हुने छलफलका विषयमा गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रले भ्रमणका सम्बन्धमा अन्य मन्त्रालयसँग पनि सहकार्य गरिरहेको छ । परराष्ट्र स्रोतका अनुसार भ्रमणमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई रुट दुईतर्फी बनाउने प्रस्ताव, १३६ किलोमिटर लामो काठमाडौं–रक्सौल रेलमार्ग, ऊर्जा सम्झौता (विद्युत् व्यापार र हाइड्रो कम्पनी), डिजिटल पैसा तिर्ने ई–वालेटलगायत विषयमा छलफल गर्ने तयारी छ । भारतले नेपाललाई महेन्द्रनगरबाट प्रवेश गर्ने गरी हवाई रुट दिने सम्भावना छ ।

भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्य प्रधानमन्त्री दाहालको भारत भ्रमणका दौरान नेपाल आफ्नो एजेन्डामा स्पष्ट हुनुपर्ने सुझाव दिन्छन् । ‘भारतका चाखका एजेन्डामा पनि प्रवेश गर्नुपर्छ र नेपालको चाखको एजेन्डा पनि प्रवेश गराउनुपर्छ । जुन विषयले निरन्तर दुई मुलुकबीचमा शंका उत्पन्न गर्छ, ती विषयमाथि पनि छलफल गर्नुपर्छ र समाधान गर्नुपर्छ,’ उनले भने ।

पूर्वराजदूत आचार्य भारतीय पक्षसँग दुई मुलुकबीचको सीमा समस्या स्पष्ट रूपमा उठाउनुपर्नेमा जोड दिन्छन् । ‘एकै पटकमा निचोडमा नपुगिएला तर हाम्रो परम्परागत सम्बन्धलाई अझै सुदृढ गर्दै सीमासम्बन्धी समस्या समाधान गर्नुपर्छ,’ उनले भने, ‘सन् १९५० को शान्ति तथा मैत्री सन्धिलाई समयानुकूल बनाउनुपर्नेछ । त्यस विषयमा पनि प्रधानमन्त्रीले भारत भ्रमणका बेला कुरा गर्नुपर्छ ।’

भारतका लागि नेपालका अर्का पूर्वराजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालले आफ्नो प्राथमिकतालाई निरन्तर ख्याल राख्नुपर्ने बताए ।

  • कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको ऊर्जा क्षेत्रको विकास, सम्वर्द्धन र यस क्षेत्रको थप व्यावसायिकताको पक्षमा रहेको बताएका छन् । नेपालका

काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल भएको

काठमाडौँ । सत्ता र प्रमुख प्रतिपक्षबीचको टकरावले संसद् बैठक मुठभेड उन्मुख देखिएको छ । सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नतामाथि

काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल (कांग्रेस) सँग सहमति गर्न अपिल गरेका छन् । प्रधानमन्त्री