"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मालपोत कार्यालय पर्साका नायब सुब्बा मदनप्रसाद गुप्ताविरुद्ध विशेष अदालतमा ७ मुद्दा

प्रकाशित मिति :  २९ चैत्र २०७९, बुधबार १२:४३


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन चार कर्मचारीविरुद्ध मंगलबार राजस्व हिनामिनाको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । जसमा २०७२/०७३ मा मालपोत कार्यालय पर्साको प्रमुख रहेका प्रकाशप्रसाद पोखरेल, गमबहादुर विश्वकर्मा, नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरी रहेका छन् । यीमध्ये नायब सुब्बा मदनप्रसाद गुप्ताविरुद्धको यो मुद्दा सातौं हो ।

मंगलबार अख्तियारले गुप्ताविरुद्ध ९५ लाख ८ हजार रुपैंयाँ ३४ रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीविरुद्ध अरु ६ वटा मुद्दा विशेष अदालतमा विचाराधीन छन् । पछिल्लो ३ वर्षमा दायर भएका यी सबै मुद्दामा उनले गरेको भ्रष्टाचार रकम २३ करोड ७३ लाख रुपैंयाँ पुग्छ ।

अख्तियारको आरोपपत्र अनुसार, जग्गाको लिखत रजिस्ट्रेसन पारितका क्रममा ग्राहकले तिर्ने राजस्वको रकम र विस्तृत विवरण लेखा शाखामा नबुझाइ उनले हिनामिना गरेका थिए । त्यही आरोपमा अख्तियारले उनीमाथि आर्थिक वर्ष २०७२-७३ मा राजस्व हिनामिना गरेको आरोपमा ९५ लाख ८ हजार विगो र त्यसको दोब्बर रकम जरिवाना मागदावी गरेको हो ।

अख्तियारले यसअघि गुप्ताविरुद्ध ७ असोजमा मुद्दा दायर गरेको थियो । मालपोत कार्यालय, पर्सामा हुँदा करिब साढे १२ लाख रुपैंयाँ हिनामिना गरेको आरोप उनीमाथि थियो । अख्तियारका अनुसार १६ माघ २०६९ देखि आठ दिनको अवधिमा संकलन भएको १४ लाख रुपैंयाँ राजश्वमध्ये उनले एक लाख ६२ हजार रुपैयाँ मात्रै लेखा शाखामा बुझाइ अरु रकम हिनामिना गरेका थिए ।

त्यतिबेला उनीमाथि उठाएको राजस्व प्रचलित कानुन बमोजिम दाखिला नगरी हिनामिना गरेको आरोप थियो । अर्का कर्मचारीमाथि दुई किसिमको अभिलेख खडा गरी सरकारी कागजात गैरकानूनी तरिकाले सच्याउने, केरमेट गर्ने, थपघट गर्ने वा हेरफेर गरेर भ्रष्टाचार गरेको आरोप थियो ।

अख्तियारले गुप्ताविरुद्ध १ जेठ २०७६ मा दुई वटा भ्रष्टाचार मुद्दा चलायो । एउटामा भ्रष्टाचार भएको रकम उल्लेख छैन भने अर्कोमा २ करोड ५० लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ । ३ जेठ २०७६ मा दायर अर्को मुद्दामा ४ करोड ५८ लाख भ्रष्टाचार भएको दाबी छ भने २ मंसिर २०७६ मा ७७ लाख ८६ हजार भ्रष्टाचार गरेको दाबी छ ।

११ मंसिर २०७६ मा गुप्ताविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा चलेको हो । अख्तियारले उनीमाथि १४ करोड ८१ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको दाबी गरेको छ ।

२०७६ जेठमा भ्रष्टाचार मुद्दा लाग्नुअघिसम्म सरकारी सेवामा रहेका गुप्ताले २९ वर्षको अवधिमा १९ करोड ३६ लाख रुपैंया आर्जन गरेका थिए । अख्तियारले विशेष अदालतमा पेश गरेको आरोपपत्रमा उनले ४ करोड ५४ लाख रुपैयाँमात्रै कानुनसम्मत रुपमा कमाएको दाबी छ । बाँकी सबै रकम भ्रष्टाचारबाट आर्जन गरेको भन्दै अख्तियारले उनीमाथि मुद्दा चलाएको हो । उनले यो अवधिमा करिव २८ लाख रुपैयाँमात्रै तलब बुझेका थिए ।

अख्तियारका अनुसार उनले मालपोत र बैंकको नक्कली रसिदप्याड छपाउथे र त्यही कागजात पेश गरेर राजस्व दाखिला भएको फाइल तयार गर्थे । सेवाग्राहीले तिर्ने रकम भने उनले दुरुपयोग गर्थे । करिव एक वर्षको अवधिमा छानबिन गर्दा नै उनी सहितको टोलीले करिव ५÷७ करोड रुपैयाँ हिनामिना गरेको थियो ।

गुप्ताको योजनामा मतियार बनेको आरोपमा अख्तियारले मालपोत मात्रै नभई जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालय र लेखापरीक्षण गर्ने कर्मचारीविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

नासु गुप्ता मालपोत कार्यालय कलैयामा हुदा भ्रष्टाचारको प्रमाण नष्ट गर्न महत्वपूर्ण कागजात फालेको भेटिएको थियो । पछि उनका सवारी चालक सुनिल कुमार पटेलको डेराबाट कागजात बरामद भएको थियो । सिमरा मालपोत कार्यालयमा हुँदा उनीमाथि ४ करोड ५८ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको थियो ।

२७ असार २०४७ मा मालपोत कार्यालय मुस्ताङबाट खरिदारको रुपमा जागिर सुरु गरेका गुप्ता २०६४ मा नासुमा बढुवा भएका हुन् । पछिल्लो समय उनी बाराको सिमरास्थित मालपोत कार्यालयको निमित्त प्रमुख थिए । अख्तियारको दाबी अनुसार, उनका कारण मात्रै करिव ८ करोड रुपैयाँको राजस्व छली भएको छ ।

गुप्ताको काठमाडौंको सुन्धारा र कलंकीमा घर छ । वीरगञ्जमा दुईवटा घर छन् । सर्लाही लगायतका जिल्लामा उनको सम्पत्ति भेटिएको थियो । विभिन्न जिल्लामा ६ वडा घर कम्पाउण्ड भेटिएको छ ।

सम्पत्ति लुकाएको आरोपमा अख्तियारले उनका कार्यालय सहयोगीका सासु विरुद्ध समेत भ्रष्टाचारमुद्दा दायर गरेको छ । उनले भ्रष्टाचारको रकम जम्मा गर्न लेखाका कर्मचारी युगलकिशोर ठाकुरसँग मिलेर छुट्टै संयुक्त खाता खोलेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबारको प्रदेश सभामा कँडेलले २३ मत पाएका हुन्

काठमाडौं । कालिकोटको महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनराज शाहीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौँ ।  गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएका नेपाल टेलिकलका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत बनिरहेको बाँकेको सिक्टा सिंचाइ आयोजनामा संलग्न पप्पु कन्स्ट्रक्सन प्रालिलाई नेपाल सरकारले कालोसूचीमा राखेको छ । प्रधानमन्त्री