चितवन–२ मा रवि लामिछानेले गराए मनोनयन दर्ता
चितवन । उपनिर्वाचनका लागि चितवन–२ मा रवि लामिछानेले मनोनयन दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने गत मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्यको चुनावमा यहीँबाट निर्वाचित भएका थिए । नागरिकता विवादमा अदालतले उनको सांसद पद खारेज गरेपछि चितवन–२ मा वैशाख १० मा उपनिर्वाचन हुन लागेको छ ।
चितवन–२ मा पहाडी क्षेत्र इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकासहित भरतपुर महानगरपालिकाका २९ मध्ये सदरमुकाम र नारायणगढ बजार क्षेत्र र यस आसपासका १० वटा वडाहरू रहेका छन् ।
चितवन जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार चितवन–२ मा यो पटक एक लाख २४ हजार ६९५ मतदाता कायम भएका छन् । मंसिरमाभन्दा ४८० मतदाता थपिएका छन् । मतदानका लागि ४३ मतदान स्थलमा १३८ मतदान केन्द्र रहने छन् ।