"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारत-नेपाल टेलिफोन महसुल घटाउन मन्त्री शर्माको आग्रह

प्रकाशित मिति :  ८ चैत्र २०७९, बुधबार १९:२१


एजेन्सी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल दर घटाउन भारत सरकारसँग आग्रह गरेकी छन् । नयाँ दिल्लीमा बुधबार भएको भारतीय समकक्षीसँगको द्विपक्षीय बैठकमा उनले यस्तो आग्रह गरेकी हुन् ।

प्राकृतिक सौन्दर्य र संस्कृतिको धनी मुलुक नेपाली चलचित्र छायाङ्कनका लागि अत्यन्त उपयुक्त स्थल भएकोतर्फ ध्यानाकर्षण गराउँदै मन्त्री शर्माले भनिन्, ‘यस सन्दर्भमा नेपालमा अत्याधुनिक छायाङ्कन स्टुडियो निर्माण गर्न भारतीय लगानीकर्ताहरूलाई उत्प्रेरित गरिदिन माननीय मन्त्रीज्यूको सहयोग हुनेछ भन्ने मेरो विश्वास छ । नेपालमा चलचित्र नगरी निर्माण गर्न लगानी गरी लगानीकर्ताले उचित प्रतिफल प्राप्त गर्न सक्छन् भन्ने मलाई लाग्दछ ।’

यस्तै नेपाललाई सूचना प्रविधिका क्षेत्रमा थप दक्ष जनशक्ति आवश्यक हुन थालेकाले शैक्षिक कार्यक्रममा नेपाललाई सहयोग गर्न पनि उनले भारत सरकारसँग अनुरोध गरेकी छन् । यसैगरी सूचना प्रविधि र साइबर सुरक्षाको क्षेत्रमा मध्यम र छोटो अवधिको तालिममा समेत नेपालबाट अधिकाधिक सहभागिता हुने वातावरण मिलाउन उनले आग्रह गरिन् ।

‘सूचना प्रविधिको विकाससँगै यस क्षेत्रको जोखिम पनि बढ्दै गएको छ । साइबर सुरक्षा प्रमुख चुनौतीको रूपमा देखापर्न थालेको छ,’ बैठकमा मन्त्री शर्माले भनिन्, ‘यसका लागि हामी दुई मुलुक मिलेर अघि बढ्नुपर्ने आवश्यकता मैले महसूस गरेको छु । आपसी सूचना, अनुभव र अभ्यास आदानप्रदान गर्ने दिगो संयन्त्र तयार गरी क्षमता विकास गर्दै साइबर सुरक्षालाई मजबुत बनाउन आवश्यक छ ।’

रेडियो नेपाल र अल इण्डिया रेडियोबीच एक अर्काका विषयवस्तु प्रसारण गर्नेलगायतका विषयमा समझदारी गर्ने गरी तयारी भएको उल्लेख गर्दै मन्त्री शर्माले समझदारीपत्रको मस्यौदामा नेपालको प्राविधिक टीमले अध्ययन गरिरहेको र छिट्टै यो विषय निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरिन् । यसैगरी नेपाल टेलिभिजन र प्रसार भारतीबीच एक अर्काका विषयवस्तु प्रसारण गर्ने सम्बन्धमा पनि सकारात्मक छलफल अगाडि बढेको उनले जानकारी दिएकी थिइन् ।

अन्तर्राष्ट्रिय दूरसञ्चार संघको क्षेत्रीय कार्यालय भारतमा उद्घाटन हुनुले यस क्षेत्रको दूरसञ्चारसम्बन्धी क्रियाकलापमा थप मद्दत पुग्ने उनले अपेक्षा गरेकी थिइन् ।

‘समुद्रसम्मको हाम्रो पहुँचलाई भारत सरकारले रेल तथा सडक यातायातबाट सहज बनाइदिएको छ । यसका लागि धन्यवाद दिँदै सूचना प्रविधिको उपयोगलाई थप सहज र सुलभ बनाउनसमेत सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दछु । विशेषतः नेपालले अन्तर्राष्ट्रिय ब्याण्डविथ प्राप्त गर्न सक्षम हुने गरी सबमरिन केवलसम्मको पहुँच सुनिश्चित गर्न भारतले सहयोग गरोस् भन्ने मेरो आग्रह छ,’ मन्त्री शर्माले भनिन् ।

हाल नेपालले भारतका सेवाप्रदायकमार्फत् इन्टरनेट ब्याण्डविथ प्राप्त गर्ने गरेको स्मरण गराउँदै उनले नेपालले प्राप्त गर्ने ब्याण्डविथमध्ये ८० प्रतिशत एकै बिन्दु (भैरहवा/सुनौली) बाट मात्र आइरहेकाले भारतीय सेवाप्रदायकहरूलाई वैकल्पिक रुटबाट समेत ब्याण्डविथ उपलब्ध गराउन सहजीकरण गरिदिन आग्रह गरिन् ।

भारतले मोबाइल सेवामा फाइभ जी प्रविधि भित्र्याएको हुँदा सोको कार्यान्वयनको अवस्था र उपयोगका सम्बन्धमा नेपालका लागि पनि अनुभव लाभदायी हुनसक्ने महसुुस गरेको उल्लेख गर्दै मन्त्री शर्माले यस सम्बन्धमा प्राविधिक तहमा कुरा अगाडि बढाउन सकिने बताइन् ।

भारत सरकारले नेपाललाई स्याटेलाइट उपयोग गर्न प्रस्ताव गरेकोमा धन्यवाद दिँदै उनले यसको प्राविधिक र सञ्चालन लागतका बारेमा थप अध्ययन गरी निष्कर्षमा पुग्ने जानकारी दिइन् ।

  • कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । ट्वान्टी-२० विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले बुधबार रोहित पौडेलको कप्तानीमा १५

काठमाडौँ । तेस्रो टी-२० खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई ७६ रनले पराजित गरेको छ। यससँगै सिरिजमा वेस्ट इन्डिजले २-१ को अग्रता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको

काठमाडौं । सम्पत्ति शुद्धीकरण गरेको आरोपमा दोषी ठहर भएका नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई विशेष अदालतले ३ वर्ष कैद