"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

यूएईलाई पराजित गदै नेपालले एकदिवसीय मान्यता जोगायो, विश्वकप छनोटका लागि बाकि २ खेल जित्नुपर्ने

प्रकाशित मिति :  २८ फाल्गुन २०७९, आईतवार १७:३७


काठमाडौं । यूएईमाथि १७७ रनको जितसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । साथै आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको छ ।

जारी शृखंलामा लगातार दोस्रो जितपछि नेपालले अमेरिकालाई पनि पछि पारेको छ । नेपालले सात राष्ट्र सहभागी लिग टू मा चौथो स्थान पक्का गरिसकेको छ र बाँकी दुई खेल जितेमा नेपाल शीर्ष तीनमा रहँदै विश्वकप क्वालिफायरमा छनोट हुनेछ ।

यूएईको हारसँगै अमेरिकाको ओडीआई मान्यता जोगिएको छ । लिग टू को शीर्ष पाँच भित्र पर्ने टिमको ओडीआई मान्यता कायम रहने छ भने शीर्ष ३ टिमले विश्वकप छनोट खेल्न पाउने छन् । यूएईले भने ओडीआई मान्यता कायम राख्नका लागि अब प्लेअफ क्वालिफार खेल्नुपर्नेछ ।

आईसीसी विश्वकप क्रिकेट लिग टूको आइतबारको खेल नेपाल र यूएई दुबैका लागि गर या मरको स्थितिमा थियो । टस जितेर पहिला बलिङ गरेको नेपालको ओपनिङ खराब रह्यो । तर मध्यक्रममा ब्याटरले आफ्नो जिम्मेवारी निभाउँदा नेपालले २४८ रनको सम्मानजनक योगफल खडा गरेको थियो ।

२४९ रनको लक्ष्य पछ्याएको यूएईलाई सुरुदेखि नै दबावमा राख्दै नेपाली स्पिनरहरुले घातक बलिङ गरे । यूएई २२.५ ओभरमा ७१ रनमा अलआउट भयो र नेपाल १७७ रनले विजयी भयो । रन अन्तरले हिसाबमा ओडीआईमा यो नेपालको अहिलेसम्मकै फराकिलो जित हो । यसअघि २०२१ सेप्टेम्बरमा नेपालले पीएनजीलाई १५१ रनले पराजित गरेको थियो ।

यूएईविरुद्ध आजको खेलमा शृंखलामा पहिलो खेल खेलिरहेका ललित राजवंशीको नेतृत्वमा नेपाली बलरले शानदार प्रदर्शन गरे । राजवंशीले ७.५ ओभरमा २ मेडन राख्दै ५ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले किफायती बलिङ गर्दै ५ ओभरमा ३ मेडन राख्दै जम्मा ६ रन खर्चेर १ विकेट लिए । दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले समान १ विकेट लिए ।

यूएईका लागि आयान खानले सर्वाधिक २९ रन बनाए भने अश्वन्थ भल्थापाले १४ रन जोडे । बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पहिलो ओभरमै ललितले भृत्य अरभिन्दलाई आउट गर्दै शानदार सुरुवात दिलाएका थिए । त्यसपछि सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले पनि विकेट लिँदा यूएईको इनिङ्स धरासयी बनेको थियो । यूएईले ८ रनमा सुरुवाती चार विकेट गुमायो । भृत्य र आर्यन लाक्रा खाता नखोली आउट भए ।

आसिफ खानले ६ र कप्तान मुहमम्द वासिम १ रनमा आउट भए । त्यसपछि बयान खान र रोहन मुस्ताफाले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर सन्दीप लामिछानेले १४औं ओभरमा मुस्ताफालाई एलबीडब्लु धरापमा पार्दै २६ रनको साझेदारी तोडिदिए । मुस्ताफा ६ रनमा आउट भए ।

आयान खानलाई ललितले कुशल भुर्तेलबाट १७औं ओभरमा ब्याचआउट गराउँदा युएई ४६-६ को स्थितिमा पुग्यो । त्यसपछि सन्दीप लामिछाने जावार फरिदलाई २ रनमा बोल्ड गरे । गुल्शन झाले विकेटकिपर बश्वन्थ भल्भापालाई दीपेन्द्र ऐरीबाट क्याचआउट गराए ।

ललितले २३औं ओभरमा जुनैद सिद्दीकीलाई एलबीडब्लु धरापमा पारे । त्यही ओभरमा ललितले जहुर खानलाई कुशल भुर्तेलबाट क्याचआउट गराउँदै करिअरकै पहिलो ५ विकेट हउल पूरा गरे ।

कीर्तिपुरस्थित टीयू मैदानमा खराब सुरुवात गरेको नेपालको इनिङ्स मिडल अर्डरले सम्हाले पनि नेपाली ब्याटर पूरै ५० ओभर ब्याटिङ टिक्न सकेनन् । कप्तान रोहित पौडेलले ओडीआईमा आठौं अर्धशतक प्रहार गर्ने क्रममा सर्वाधिक ७७ रन बनाए । ११२ बल खेलेका उनले ९ चौका हाने । आरिफ शेखले ४३ र गुलशन झाले ३७ रन जोडे । दीपेन्द्रले ३४ र भीम सार्कीले २९ रन जोडे ।

ओपनर आसिफ शेख खाता नखोली दोस्रो ओभरमा आउट भए । कुशल भुर्तेल ८ र कुशल मल्ल ९ रन बनाएर आउट भए । २२ रनमै ३ विकेट गुमाएको अवस्थामा रोहितले भीमसँग चौथो विकेटका लागि ५४ र आरिफ शेखसँग पाँचौ विकेटका लागि ८६ रनको साझेदारी गरे । भीमले ३७ बल खेल्दै ४ चौका मद्दतमा २९ रन बनाए । आरिफ शेखले ५२ बल खेल्दै ५ चौका मद्दतमा ४३ रन बनाए ।

रोहित ३८औं ओभरमा आउट भएपछि आरिफले गुल्शन झासँग मिलेर छैटौं विकेटका लागि ३० रनको साझेदारी गरे । आरिफ ४३औं ओभरमा आउट हुँदा नेपाल १९२(६ को अवस्थामा थियो । तर गुल्शन र दीपेन्द्रले आक्रामक ब्याटिङ गर्दै सातौं विकेटका लागि ४८ रनको साझेदारी गरे ।

४८औं ओभरमा आउट भएका गुल्शनले ३२ बल खेल्दै १ चौका र ३ छक्का मद्दतमा ३७ रन बनाए । त्यसपछि नेपालले लगातार विकेट गुमायो । सन्दीप लामिछाने २ रनमा आउट भए । दीपेन्द्रले १९ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा ३४ रन बनाए । सन्दीप र दीपेन्द्र ४९ औं ओभरमा आउट भए । सोमपाल कामी अन्तिम ओभरमा २ रनमा आउट भए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमण पश्चात् वेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका

काठमाडौँ । नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना खोजिरहेका बेलामा कतार पनि पानी निर्यातको राम्रो गन्तव्य हुनसक्नेमा सरोकारवालाहरूले