"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अर्थतन्त्रको समस्याबारे शेखर – गगनले गरे विज्ञ र निजी क्षेत्रसँग छलफल

प्रकाशित मिति :  २४ फाल्गुन २०७९, बुधबार १९:३७


काठमाडौँ ।  व्यवसायीहरूले नेपालको आर्थिक स्थिति जर्जर अवस्थामा रहेको बताएका छन् । नेपाली कांग्रेसका नेताहरूसँग छलफल गर्दै व्यवसायीहरूले यस्तो बताएका हुन् । कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापासहितको टोलीसँग भएको अन्तरक्रियामा निजी क्षेत्रले अर्थतन्त्रमा समस्यैसमस्या रहेको बताए । 

निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था तथा उद्योगी व्यवसायी र अर्थविद् सहितले  कोइराला र महामन्त्री थापासँग व्यापार व्यवसाय २०–८० प्रतिशतले घटेको र यसबाट हुनसक्ने सम्भावित जोखिमबारे जानकारी गराएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्लो अर्थतन्त्रको अवस्थाबाट कुनै एउटा निश्चित क्षेत्र मात्रै नभएर समग्र आर्थिक प्रणालीमा नै असर परेको बताए । उनले भने, ‘निजी क्षेत्र, व्यवसायी, बैंक मात्रै होइन, सिंगो अर्थतन्त्र प्रणालीमा नै समस्या परेको छ । राजस्वले साधारण खर्च समेत धान्न नसक्ने विकराल अवस्थामा देश पुग्ने देखिएको छ ।’  

पूर्व अध्यक्ष पशुपति मुरारकाले सरकार र समाजले व्यवसायी तथा निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण नै गलत भएको बताए । ‘नाफा गर्नु पाप हो भन्ने जसरी व्यवहार गरिन्छ,’ उनले भने, ‘यसरी कसरी व्यवसायीको मनोबल उकासिन्छ र लगानीको वातावरण बन्छ ?’

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले २० प्रतिशत राजस्व घट्दा सरकार आत्तिएर खर्च कटौती गर्नेदेखि करारका कर्मचारी हटाउन विवरण माग्न लागिसकेको बताए । उनले भने, निजी क्षेत्रको त २०–८० प्रतिशतसम्मले व्यापार खस्किएको छ । यो अवस्थामा हाम्रो हालत के भएको होला ? खै सरकारले सोचेको ?’

अन्तर्क्रियामा परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्माले कांग्रेसले घोषणा पत्रमा मात्रै राखेर हाम्रो नीति यही हो भनेर मात्रै नहुने बताए । मुलुक चलाउन अर्थसम्बन्धी स्पष्ट नीति र योजना हुनुपर्छ,’ शर्माले भने, ‘जबसम्म अर्थ मन्त्रालयको सामान्य अधिकारीले चाहेको बेला बदल्न सक्ने नीति नियम भइरहन्छ, तबसम्म यो देशको आर्थिक उन्नति सम्भवै छैन ।’

निर्माण व्यवसायी संघका पूर्व अध्यक्ष जयराम लामिछानेले उद्योग धन्दा बन्द गर्नुपर्ने अवस्था आएको बताए । उनले भने, ‘पछिल्लो देशको अर्थतन्त्र अवस्था कहालीलाग्दो छ आजै उद्योग व्यवसाय बन्द गर्नुपर्ने अवस्था छ ।’

राष्ट्रिय योजना आयोगका पूर्व उपाधयक्ष स्वर्णिम वाग्लेले देश श्रीलंका र पाकिस्तान जस्तो नबन्ने बताए । त्यस्तो बन्न कुनै हालतमा नदिने प्रतिबद्धता जनाउँदै ढुक्क रहन व्यवसायीहरूलाई आग्रह गरे । 

महामन्त्री थापाले अर्थतन्त्रलाई ज्वरो आएकाले पहिला यसलाई बढ्न दिन नहुने तर्क गरे । ‘पहिले ज्वरो निको पार्ने स्मार्ट सरकार र पछि अर्थतन्त्रको संरचनात्मक सुधार गर्ने वाइज सरकार अहिलेको आवश्यकता हो भन्ने मैले बुझेको छु,’ उनले भने, ‘हामी समस्या समाधानमा लाग्छ ।’

कोइरालाले आफ्नो पार्टी सधैं निजी क्षेत्रको विकास र विस्तारको पक्षमा रहेको बताए । उनले भने, ‘तपाईंहरूका सबै समस्या र समाधानका उपाय संसद् र सरकारसामु पुर्‍याउन प्रयास गर्छु ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना खोजिरहेका बेलामा कतार पनि पानी निर्यातको राम्रो गन्तव्य हुनसक्नेमा सरोकारवालाहरूले

काठमाडौँ  । कोरोना महामारीका कारण थलिएको नेपालको पर्यटन क्षेत्र वर्ष २०८० मा सुधारोन्मुख रह्यो। पर्यटक आगमनमा उल्लेख्य सुधार देखियो भने पर्यटकीय

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकिङ्ग प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रुपैयाँसम्म

इलाम । इलामको अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ