"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सु-सस्कृत राजनीतिको पक्षमा विवेकशील साझा सधै प्रतिवद्ध छ : अध्यक्ष समीक्षा बाँस्कोटा 

प्रकाशित मिति :  ३ फाल्गुन २०७९, बुधबार १८:१८


काठमाडौँ । एक दशक अघिबाट नेपालमा वैकल्पिक राजनीतिको एजेन्डा बोकेर खुलेको विवेकशील साझा पार्टीले धेरैपटक छिन्नभिन्नपछि अहिले फेरि महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेको छ । २०७४ को स्थानीय र आमनिर्वाचनमा राम्रो प्रदर्शन गरेको सो दल २०७९ सालको चुनावसम्म आइपुग्दा अस्तित्व संकटको अवस्थामा पुग्यो ।

शनिबार दुईदिने महाधिवेशन सम्पन्न गरेको सो दलको अध्यक्षमा समीक्षा बाँस्कोटा र महासचिवमा रन्जु दर्शना सर्वसम्मत रुपमा चयन भए । विवेकशील साझाको कार्यदिशा र चुनौतीबारे नवनिर्वाचित अध्यक्ष बाँस्कोटासँग गरेको कुराकानी :

विवेकशील साझाको महाधिवेशनभन्दा अघिको अवस्थालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

यो ५ वर्ष निकै उतारचढावपूर्ण रह्यो, एउटा खुला विश्वविद्यालय जस्तै । यस अवधिमा राजनीतिका कैयौं पाटाहरू सिकियो । एउटा पुरानो दलले राजनीतिक जीवनमा के-के भोग्छन्, ती सबै भोगियो । २०७४ मा उदायो, राम्रो मत पायो, वाग्मती प्रदेशमा पाँचौं दल बन्यौं । २ लाख १२ हजार मत पाइयो, समानुपातिकतर्फ ३ जनाले सांसद जित्नुभयो । तर छोटो समयमै पार्टीभित्र फुट देखियो र विभाजन भयो ।

पुन: एकीकरण गरियो, फेरि विभाजन भयो । काम गर्दै जादाँ विभिन्न वैचारिक विमतीहरु भए । भनेको कुरा ठिकठाकसँग भएनन् । विभिन्न क्षेत्रमा लागेको फरक फरक पृष्ठभूमिका व्यक्तिहरु एकै स्थानमा बसेर काम गर्दा विभिन्न समस्याहरु देखिए । ती समस्या र उतारचढावले गर्दा पार्टी नै एउटा छ कि छैन भन्ने अवस्थामा पुग्यो । पछिल्लो २ वर्ष त त्यति सुखद रहेन । वैचारिक विमतिको नाममा धेरै विभाजित भयौं । एउटा समूह निर्वाचन आयोग हुँदै त्यो विषय अदालतसम्म पुग्यो । त्यही स्थितिमा स्थानीय चुनावमा गयौं । स्थानीय चुनावमा म आँफै काठमाडौं महानगरको मेयरमा उठे । मतदाताले तपाईंहरु राम्रो हो तर पाँच वर्षमा जे गर्नुभयो त्यो चाहिँ राम्रो भएन भन्नुभयो र पुरानो दलको साथमा हामीलाई मिसाउनुभयो ।

स्वतन्त्र र वैकल्पिकहरुको लहर आइरहेको थियो तर हामीले त्यसलाई क्यास गर्न सकेनौं । स्थानीय चुनाव लगत्तै अध्यक्षले राजीनामा दिनुभयो । ३ महिनासम्म नेतृत्वविहीन अवस्थामा भयो । त्यसपछि म नेतृत्वमा आए र सम्हाल्दै बन्दसूची बुझाउने तयारी हुँदै गर्दा पूर्वअध्यक्ष र केही साथीहरु राप्रपामा प्रवेश गर्दा पार्टी नै छैन कि भन्ने स्थिति भयो । यहाँबाट उठाउने प्रयास गरेर बन्दीपुर भेला गर्‍यौं, हामीले कति रहेछौ बाँकी र स्थिति भनेर गरेका थियौं । त्यस भेलामा साथीहरुले अब अघि बढ्नुपर्छ भनेर महाधिवेशनसम्म गरेका छौं । यो पाँच वर्ष रोलर कोस्टर राइडमा हिडेको जस्तो भएको छ । महाधिवेशन सकिएपछि नयाँ उत्साह, नयाँ जोस, नयाँ जागर र नयाँ भरोसाका साथ हामी अघि आएका छौं । पक्कै पनि ५ वर्ष यात्रा सुखद रहेन त्यति धेरै दुखद पनि भन्न मिल्दैन किनभने त्यसबाट सिकेको अनुभव सार्‍है धेरै छ । कुनै विश्वविद्यालयबाट सिक्न नपाइने अनुभव हामीले सिकेका छौं ।

सिकेको अनुभव चाहिँ के हो ?

हामीले एक अर्कोलाई विश्वासलाई गर्नुपर्ने रहेछ । राजनीतिक लामो दौड हो, बीचमा अलमलिनु वा डगमगाउनु हुँदैन, धीरताकासाथ अघि बढ्नु पर्छ । राजनीतिक दलमा विचारको बहस हुन्छ तर त्यो वैचारिक बहस भयो भन्दैमा कित्ताकाट गरेर एक अर्कोमा लान्छना लगाएर, एक अर्कोमाथि हिलो छ्यापाछ्याप गर्‍यौं भने त्यसले दललाई नै प्रभावित गर्छ । त्यही भएर कतिपय विषयलाई अन्तरिक रुपमा राखेर जानु पर्नेरहेछ । फिल्ड जान सकेनौं हामी धेरै मिडियामा मात्रै रमायौं । मिडियाले धेरै माया गरिदिनुभयो हामीले आफूलाई सर्वेसर्वा ठान्यौं । हामी फिल्डमा जान नसकेकै हो । केही कार्यक्रमहरु भए संगठन विस्तारमा पछि पर्‍यौं, आन्दोलन लिएर बाहिर निस्कन सकेनौं, नागरिकको मत जित्न सकेनौं, अभियानहरुमा हामी पछि पर्‍यौं । यो सबै कारणले पछि परेको पक्कै हो ।

महाधिवेशनले तय गरेका एजेण्डा र योजना के हुन् ?

हामीले महाधिवेशन गर्न सकिरहेका थिएनौं, यस्तो अवस्थामा गर्‍यौं । आन्तरिक लोकतन्त्र सशक्त हुनुपर्छ भनेर कुरा गर्छौं यो आन्तरिक लोकतन्त्रको अभ्यास गर्ने र नेतृत्व छनोट गर्न विषय थियो । हिजो विभिन्न तहका कार्यकर्ताहरुले नेताहरुमाथि यसले काम गरेन भन्दै गर्दा नेताहरुको अपग्रेड हुने, प्रतिस्थापन हुने र नयाँ आउने यो प्रक्रिया हो । यो प्रक्रिया पूरा गरिसकेपछि अबको म्यान्डेट भनेको पाँच वर्ष ठिकठाक रुपमा चलाउ भन्ने हो ।

यो म्यान्डेटले ५ वर्षमा संगठन विस्तार गर, नागरिकका मुद्दा के हुन् ? त्यसलाई अघि बढाउ । अहिले संसदमा रहेका सबै राजनीतिक दल सत्ता पक्षमा छन् । प्रतिपक्षविहीन रहेको अवस्थामा विवेकशील साझा सडकको प्रतिपक्षी दल भनेर स्थापित गर्नुपर्ने छ । सुशासन र भ्रष्टाचारविरुद्धको आन्दोलनलाई नागरिकको माझमा पुर्‍याउन आवश्यक छ ।

आन्तरिक रुपमा गर्ने काममा हामी प्रशिक्षणमा चुकेकौं हौं । सबैलाई प्रशिक्षण दिनुपर्ने र अझ हामी सशक्त रुपमा अघि आउने वैकल्पिक राजनीतिको नयाँ मूलधार निर्माण गरेर हामीले काम गर्नु पर्नेछ । हामीले समाधानमुखी राजनीति गर्न खोजेका हौं । सबैले समस्याहरु देखाउने काम गर्दै आउनु भएको छ, हामी यस्तो समस्या छ यसको समाधान यो रुपमा गर्न सकिन्छ भनेर भन्ने तर कसरी गर्ने भन्ने विषयको उत्तर भने दिँदैनौं । अब विवेकशील साझाले गर्ने राजनीति भनेको समाधान कसरी गर्ने भन्ने हो ।

विवेकशील साझाले जुन राजनीतिक कुरा गर्दै आएको थियो त्यो एजेण्डा बोकेर अन्य नयाँ दलहरु आइसके । त्यो खाली ठाउँ अरुले भरिसकेका छन् । त्यस्तो अवस्थामा तपाईंहरु कसरी हस्तक्षेपकारी शक्ति बन्न सक्नुहुन्छ ?

अन्यले त्यो ठाँउ भरे भनेर नभनौं तर विवेकशील साझाको १० वर्षको लिगेसी छ त्यसमा केही नयाँ शक्तिहरु उदाएको हो । त्यसलाई हामीले नकार्न सकिँदैन । तर त्यो शक्तिलाई विश्लेषण गरेर हेर्दा त्यो उदाउँदो शक्ति कहिँ न कहिँ सत्ताको लोभमा फसेको हो कि वा कहिँ न कहिँ आफ्नो कुरामा मात्रै रुमलिएको हो कि ? नागरिकभन्दा पनि सत्ताप्रतिको प्रेम अलि बढी हो कि ? सत्ताको प्रेम हो भने हामीले गर्न खोजेको वैकल्पिक राजनीति होइन । त्यो दललाई शायद जनताले प्रतिपक्षी भूमिका निर्वाह गर भनेर म्यान्डेट दिएको थियो ।

नागरिकले दिएको म्यान्डेटमा पनि कैयौं खेलबाड भए कि हामीले विश्लेषण त्यसरी गर्नुपर्छ । त्यसरी गर्दै गर्दा प्रतिपक्षीविहीन अवस्थामा विवेकशील साझाले दह्रो प्रतिपक्षी भएर सडकमा उभिने भयो भने हामी फेरि २०८४ को चुनावमा उदाउँछौं त्यो महाधिवेशनबाट हामी सबै नेताहरुले सामूहिक रुपमा प्रतिबद्धता लिएका छौं ।

महाधिवेशनबाट अध्यक्ष र महासचिव दुवै कार्यकारी पदमा महिलालाई निर्वाचित गराउनु भयो यस्तो निर्णयमा कसरी पुग्नु भयो ?

संविधानले ३३ प्रतिशत महिलाको प्रावधान गरेको छ । चुनावहरुमा पनि महिलालाई यसरी व्यवस्थापन गरिनुपर्छ भन्ने विषय राखिदिएको छ, तर हाम्रो बिडम्बना के छ भने, प्रमुख पदमा कहिल्यै पनि महिलालाई ल्याउन चाहँदैनौं । जहाँ उप वा सह पदमा मात्रै महिलालाई ल्याउँछौं । दलहरुमा क्षमतावान महिला हुनुहुन्छ तर हाम्रो मनस्थिति परिवर्तन हुन नसकेको कारणले प्रमुख पदमा नपाएको हो ।

विवेकशील साझाले त्यो मनस्थिति परिवर्तन गर्न खोजेको हो, राजनीतिक दल चाहे त्यो ठूलो होस वा नयाँ होस वा पुरानो होस तर महिला नेतृत्वमा हामी जानुपर्छ । अध्यक्ष र महासचिव जस्तो पदमा महिलालाई नेतृत्वमा स्थापित गरेको छ । यसले एउटा गतिलो सन्देश सबै राजनीतिक दललाई दिएको छ । त्यो राजनीतिक दलमा बसेका कैयौं सम्भावना बोकेका नेताहरुलाई पनि तपाईंहरु किन यो आवाज आफ्नो दलमा उठाउनु हुन्न ? यो आवाज तपाईंहरुले पनि उठाउनु पर्छ भनेर सन्देश दिएको छ । महिलाले यदि स्पेस वा ठाउँ पायो भने क्षमतावान छन् र उनीले गर्न सक्छन्, सक्षम छन् भन्ने पनि स्थापित गरेको छ ।

यसले दीर्घकालीन रुपमा कस्तो प्रभाव पार्ने अपेक्षा गर्नुभएको छ ?

महिला नेतृत्वलाई अनुमोदन गर्दै जानुपर्छ । महिला नेतृत्वलाई अगाडि बढाउँदै जानुपर्छ । अर्को हामी सबैको मुखमा समावेशिताको विषय हुन्छ तर व्यवहारमा समावेशिता अबलम्बन गर्दैनौं । पुरुष भए पनि दोस्रो पदमा बसेर काम नै गर्नु हुँदैन भन्ने कुरालाई पनि चिरेका छौं ।

अहिले जितेका नयाँ दल र पुरानो दलहरुभन्दा तपाईंहरु के कुरामा फरक हुनुहुन्छ ?

अहिले जितेका आएका नयाँ दलहरु पनि पुराना श्रेणीकै हुन् । उहाँहरुको व्यवहार र सत्ताप्रतिको मोह जुन रुपमा देखियो त्यसले पुरानै दल हो भन्ने देखाउँछ । त्यसैले एउटै बास्केटमा हुनुपर्ने हो । विवेकशील साझामा फरक भनेको सत्तामा जानु मात्रै राजनीति हो भन्ने बुझाइबाट हामी मुक्त भैसकेका छौं ।

सडकबाट सशक्त आन्दोलन गर्ने हो भने परिवर्तन सम्भव छ । विवेकशीलले ‘नेपाल खुला छ’ भन्ने आन्दोलन गर्दैगर्दा आज आन्दोलनका प्रकृतिहरु फरक परेका छन् । हिजो सम्माननीय प्रधानमन्त्रीलाई आपत् पर्दा सेतो टोपी लगाएर माइतीघर मण्डलमा बाध्य बनाउने विवेकशील साझाले गरेको आन्दोलनको प्रयास नै हो । कैयौं दलहरुमा पनि बहस चलेको छ । हामीले गर्ने व्यवहार, बोली फरक तरिकाले पनि आउनुपर्छ भन्ने सबै दलमा परिवर्तन भएको छ ।

विवेकशील साझाले शिक्षा, स्वास्थ्य राज्यको दायित्व हुनुपर्छ भन्दै आएको हो । यस विषयमा सबैले बोल्न थाल्नु भएको छ । बाहिर बसेर पनि धेरै काम गर्न सकिन्छ भन्ने नै हो । अर्को सशक्त आन्दोलन भनेको ‘नोट चल्ने भोट नचल्ने’ थियो । त्यसले विदेशमा बसेका लाखौं नागरिकहरुको रिमेट्यान्स अर्थतन्त्र र देश धान्ने तर उहाँहरुलाई मताधिकार प्रयोग गर्न नदिने कुराविरुद्ध अभियान चलायौं ।

सर्वोच्च अदालतबाटै कानुन बनाउन परमादेश जारी भएको छ । सडक बस्दा त विवेकशील साझाले गरेको कुरा धेरै छन् भने ठाँउमा पुग्यो भने कति गर्छ ? हामी भनेको नागरिकको मनमा छुने, नागरिकलाई एकै ठाँउमा ल्याएर राजनीति फोहोरी खेल होइन भन्ने सबै युवा, महिला राजनीतिमा आउनु पर्छ भन्ने हो । मेरो देशको राजनीति कतातर्फ गइरहेको छ हामी सबै सचेत हुनुपर्छ भन्ने राजनीतिक विवेकशील साझाले गर्छ ।

विवेकशील साझाको बारे यो संभ्रान्त सुकिला मुकिला सहर केन्द्रित पार्टी मात्रै हो । ग्रामीण इलाकामा जाँदैन भन्ने टिप्पणी छ नि ?

केही हदसम्म सत्य पनि छ। ५-१० वर्षको अभियान भनेको हामी सहरबाट गयौं भन्ने छिटो ग्रामीण भेगमा पुग्छौं भन्ने सन्देश पनि थियो । सहरको मत बढी स्वीङ हुन्छ र उहाँहरुलाई बुझाउन पनि सहज हुन्छ भन्ने हामीले सहर केन्द्रित गरेको हो । अहिलेको बुझाइ के हो भने हामीले गाउँका नागरिकलाई छुन सकेनौं भने त्यो राजनीति सफल हुँदैन । सहरमा एक प्रकारको माहोल ल्याउने अवस्थामा छौं । दिनरात खटिरहेका छौं । नयाँ-नयाँ कार्यक्रम लिएर गाउँगाउँ जाने एजेण्डा पनि तय गरेका छौं ।

हामीले अर्थतन्त्रको चार खम्बा भनेर जाँदैछौं । कृषि, पर्यटन, जलविद्युतसहितका विषय रहेका छन् । यसमा हामी कसरी जाने ? यसले कसरी भोलिको दिनमा नेपालमा बस्ने नागरिकलाई देशभित्र बसाउने भन्ने विषयमा हामी धेरै केन्द्रित रहेर काम गर्ने यस्तै गर्दैगर्दा विवेकशील साझा एउटा ठूलो वैकल्पिक शक्तिको रुपमा उदाउँदै छ भन्ने मात्रै होइन । उहाँका मुद्दा बोक्नका लागि गाउँगाउँमा संगठन विस्तारमा जाने, त्यसका हामीसँग मधेस प्रदेशका लागि बाराको फेटा गाउँपालिका उदाहरणीय छ,त्यहाँ गाउँपालिका अध्यक्षसहित टिम जितेका छौं । त्यसलाई नमूना गाउँपालिका बनाउने । त्यतिमा मात्रै नभएर आमनगरिकमा गएर दैनिक रुपमा जीवनमा के-के भैइराख्छ समस्याको विषयमा बोलिदिने र त्यसले हामीलाई नागरिकसँग जोड्छ ।

  • कान्तिपुरका लागि मणि दाहालले लिनुभएको अन्तवार्ताको सहयोगमा



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गत पुस १० गते एक वर्ष पूरा गरेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान

काठमाडौँ । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलसँग दशकौं लामो प्रशासकीय नेतृत्वमा बसेको अनुभव मात्रै छैन, राजनीतिका कैयन् घुम्ती र यसका

नेपालीको ठूलो चाड दसैँ, तिहार र छठ नजिक आइपुगेको छ। चाडबाडका समयमा मूल्य, परिमाण तथा गुणस्तरमा उपभोक्ता ठगिने गरेको गुनासो

काठमाडौँ । ताप्लेजुङको सिँकैचामा जन्मनुभएका प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे नेपालको वाम–लोकतान्त्रिक आन्दोलामा लामो समयदेखि संलग्न व्यक्तित्व हुनुहुन्छ । विसं २०७९