"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चालु आर्थिक वर्ष : छ महिना बित्दा पुँजीगत खर्च २० प्रतिशत कट्न सकेन

प्रकाशित मिति :  १ फाल्गुन २०७९, सोमबार ११:३६


काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिना बित्दा एक दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च २० प्रतिशत पनि कट्न सकेको छैन । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनअनुसार सबैभन्दा कम पुँजीगत खर्च गर्नेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पर्छ । उक्त मन्त्रालयको चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ विनियोजित ५ अर्ब ३७ करोड ७० लाखमध्ये चालु आवको पुससम्म १५ करोड ७० लाख रुपैयाँ मात्र खर्च भएको छ ।

अर्थात् यसलाई प्रतिशतमा हेर्दा सबैभन्दा कम २.९२ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ । उद्योगपछि कम खर्च गर्नेमा युवा तथा खेलकुद मन्त्रालय छ । उक्त मन्त्रालयका लागि चालु आर्थिक वर्षमा विनियोजित पुँजीगततर्फ ८९ करोड २८ लाखमध्ये ३ करोड १३ लाख रुपैयाँ मात्र खर्च भएको छ । अर्को कम खर्च गर्ने मन्त्रालयमा अर्थ पर्छ । यस मन्त्रालयले पुससम्म विनियोजित पुँजीगततर्फ पुससम्म ३.८० प्रतिशत मात्र खर्चिएको छ । अर्धवार्षिक मूल्यांकन प्रतिवेदनअनुसार अर्थ मन्त्रालयको चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ १० अर्ब ७ करोड ४४ लाख रुपैयाँ विनियोजन भएकामा पुससम्म ३८ करोड २४ लाख रुपैयाँ खर्च भएको छ ।

कम खर्च गर्नेमा कृषि तथा पशुपन्छी विकास, परराष्ट्र, रक्षा र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय छन् । यी मन्त्रालयमा पनि सबैभन्दा कम खर्च गर्नेमा संघीय मामिला तथा सामान्य प्रशासन छ । यस मन्त्रालयका लागि चालु आर्थिक वर्षमा पुँजीगततर्फ १५ अर्ब ७ करोड ४८ लाख रुपैयाँ विनियोजन भएकामा अर्धवार्षिक मूल्यांकन प्रतिवेदनअनुसार ४.२८ प्रतिशत अर्थात् ६४ करोड ४८ लाख रुपैयाँ मात्र खर्च भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पुससम्म ३७ करोड ३५ लाख रुपैयाँ खर्चिएको छ ।

चालु आर्थिक वर्षमा विनियोजित ३ अर्ब ९९ करोड ४३ लाखमध्ये ९.३५ प्रतिशत पुँजीगत खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले भने चालु आर्थिक वर्षमा पुँजीगततर्फ ५९ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन भएकामा १०.४५ प्रतिशत मात्र खर्चिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि पुँजीगत खर्च कमजोर छ । यस मन्त्रालयका लागि चालु आर्थिक वर्षमा पुँजीगततर्फ ३ अर्ब ८१ करोड ४ लाख रुपैयाँ विनियोजन भएकामा १३.२७ प्रतिशत मात्र खर्च भएको छ ।

चालु आर्थिक वर्षमै चुनाव भएका कारण निर्माणका काम प्रभावित हुँदा पुँजीगत खर्च कम भएको पूर्वअर्थ सचिव शिशिरकुमार ढुंगाना बताउँछन् । ‘नयाँ आयोजनामा खर्च कम भएको भए परियोजना छनोटमै कार्यान्वयनको प्रारूप तयार र पूर्वतयारी नहुँदै बजेट विनियोजन भएको हुन सक्छ,’ उनले भने, ‘तिनको तयारी चल्दाचल्दै ढिला भएर पनि खर्च कम भएको हुन सक्छ ।’ राष्ट्रिय गौरवका र निर्माणाधीन बहुवर्षीय प्रकृतिका आयोजनामा कम खर्च हुनुमा निर्वाचन र निर्माण व्यवसायी मुख्य कारण रहेको उनको भनाइ छ ।

‘चैतसम्म बजेट खर्च ३० प्रतिशतभन्दा माथि पुग्ने र त्यसपछि विस्तारै पुँजीगत खर्च बढ्दै जाने हुन्छ,’ उनले भने, ‘तर जति गरे पनि बजेट खर्च प्रणालीमा परिवर्तन आउन सकेन । खर्च किन कम भयो, यसमा अब गम्भीर हुनुपर्छ ।’ अन्तिम समयमा आएर काम गर्ने प्रणालीको अन्त्य गर्नुपर्ने उनले बताए । ‘यसमा अब निर्मम समीक्षा नगरे जहिल्यै यस्तै अवस्था रहन्छ,’ उनले भने ।

सबैभन्दा बढी बजेट पाउने र विकास निर्माणका काम गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पुससम्मको खर्च पनि कम छ । बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनअनुसार यस मन्त्रालयले पुँजीगततर्फ १५.२० प्रतिशत मात्र खर्चिएको छ । चालु आर्थिक वर्षमा यस मन्त्रालयको पुँजीगततर्फ १ खर्ब ५१ अर्ब ४४ करोड १ लाख रुपैयाँ विनियोजन भएको थियो । त्यसमा २३ अर्ब १ करोड ७० लाख रुपैयाँ खर्च भएको छ ।

भइसकेको कामको पनि भुक्तानी दिन नसक्दा पुँजीगत खर्च बढ्न नसकेको भौतिक मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवप्रसाद नेपालको दाबी छ । ‘निर्माण व्यवसायीले बिल पेस गरे पनि भुक्तानी गर्न सकिएको छैन । केही समय क्रसर बन्द भएर पनि काम निर्माणका हुन सकेनन्,’ उनले भने, ‘जसले गर्दा सोचेअनुरूप पुँजीगत खर्च हुन नसकेको हो ।’ सहरी विकास मन्त्रालयले पनि चालु आर्थिक वर्षको पुससम्म १४.७२ प्रतिशतभन्दा बढी पुँजीगत खर्च गर्न सकेको छैन । चालु आर्थिक वर्षमा मन्त्रालयको पुँजीगततर्फ विनियोजित ३५ अर्ब ४५ करोड बजेटमा ५ अर्ब २१ करोड ६९ लाख रुपैयाँ मात्र खर्च भएको छ ।

  • कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो चौमासिक समीक्षा अवधिसम्ममा अर्थ मन्त्रालयको कार्यसम्पादन र निर्धारित लक्ष्यको उपलब्धि औसत देखिएको

महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका सातवटै प्रदेशमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका

काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले प्रथम वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले विविध कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाएको हो