"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपतिको निर्वाचन २५ फागुनमा गर्ने आयोगको तयारी

प्रकाशित मिति :  १० माघ २०७९, मंगलवार ११:४६


काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको तयारी थालेको छ । सभामुख र उपसभामुख चयनसँगै दलहरूको ध्यान राष्ट्रपतिमा केन्द्रित भएका वेला आयोगले २५ फागुनमा चुनाव गर्ने तयारी थालेको हो । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनले पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी २९ फागुनमा निर्वाचित भएकाले ऐनअनुसार २९ माघभित्र निर्वाचन भइसक्नुपर्छ । 

तर, आयोगले राष्ट्रपति भण्डारीको कार्यकाल सकिनुभन्दा चार–पाँच दिनअघि मात्रै निर्वाचन गर्ने गरी तयारी थालेको हो । संविधानले दुईजना राष्ट्रपति परिकल्पना नगरेको, ऐन–संविधानसँग बाझिएको र अगावै निर्वाचन गर्दा प्रत्येकपटक एक महिना राष्ट्रपतिको पदावधि घट्दै जाने भन्दै आयोगले कार्यकाल सकिने वेला नै निर्वाचन गर्ने जिकिर गरेको छ । 

संविधानमा राष्ट्रपतिको कार्यकाल पाँच वर्ष भनिएको छ । तर, धारा ६२ (७) मा राष्ट्रपतिको निर्वाचन र तत्सम्बन्धी अन्य व्यवस्था संघीय कानुनबमोजिम हुने पनि उल्लेख गरिएको छ । कानुनले एक महिना अगावै भने पनि यो संविधानसँग बाझिएको जिकिर आयोगको छ । 

निर्वाचन आयुक्त रामप्रसाद भण्डारी संविधानले राष्ट्रपतिको कार्यकाल पाँच वर्ष भनेको र दुईजना राष्ट्रपति परिकल्पना नगरेकाले आयोगले २५ फागुनतिर निर्वाचन गर्ने गरी तयारी अगाडि बढाएको बताए । मिति घोषणा गर्न सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रमुख आयुक्त दिनेश थपलियाले छलफल गरेको र मंगलबार महान्यायाधिवक्ता, गृहसचिव र कानुन सचिवसँग परामर्श गरिने उनले जानकारी दिए । 

आयोगका पदाधिकारीहरूले भने आयोगको काम कानुन कार्यान्वयन गर्ने भएको र कानुनअनुसार २९ माघभित्रै निर्वाचन गर्नुपर्ने तर्क अघि सारेका छन् । कानुनमा त्रुटि भए संशोधन गर्ने काम संसद्को भन्दै प्रचलित व्यवस्थाअनुसार २९ माघभित्रै निर्वाचन गर्नुपर्ने भए पनि समय गुजारिएको उनीहरूको भनाइ छ । एक पदाधिकारी भन्छन्, ‘कानुनअनुसार हुनुपर्ने माघभित्रै हो । तर, तयारी गर्न महिना दिन लाग्ने भएकाले अब सम्भव छैन ।’

तर, प्रमुख प्रतिपक्षी कांग्रेसले समयमै राष्ट्रपतिको निर्वाचन गर्न सरकार र आयोगको ध्यानाकर्षण गराएको छ । सोमबार कांग्रेस सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सरकार र निर्वाचन आयोगलाई समयभित्रै निर्वाचन सम्पन्न गर्न दबाब दिएको छ । बैठकमा राष्ट्रपति निर्वाचनको मिति तोक्न भइरहेको ढिलाइका विषयमा छलफल भएको थियो । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ‌ओलीले शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले समर्थन र स्वागत पाएको उल्लेख गर्दै अब गतिकासाथ काम

काठमाडौँ – संक्रमणकालीन न्यायलाई सम्बोधन गर्न संसद्मा विचाराधीन सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयकमा

काठमाडौँ – सरकारले सौर्य जहाज दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्‌ बैठकले नेपाल

काठमाडौँ – राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको अभिलेख संरक्षणसम्बन्धी (पहिलो संशोधन) विधेयक २०७७, सर्वसम्मतिले अनुमोदन गरेको छ । बैठकमा ‘संस्कृति,