"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सिडिओ सरुवा व्यवस्थित गर्न गृहले बनायो कार्यविधि

प्रकाशित मिति :  ५ माघ २०७९, बिहीबार ११:०२


काठमाडौं । प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरुवालाई व्यवस्थित गर्न गृह मन्त्रालयले पहिलोपटक कार्यविधि जारी गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मंगलबार प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज गर्न खटाउनेसम्बन्धी कार्यविधि, २०७९ जारी गरेका हुन् । 

एउटै व्यक्ति लामो समय र धेरै जिल्लामा चक्कर लगाइरहने, योग्यता र अनुभव नपुगेका पनि पहुँचका आधारमा सिडिओ हुने तथा सरुवा हुने, कार्यसम्पादन मूल्यांकनको थिति नै नभएकोलगायत विषयलाई कार्यविधिले व्यवस्थित गर्न खोजेको छ । ०६८ ताका सर्वोच्च अदालतले सिडिओमा पठाउँदा कानुन पढेको वा न्याय सेवासम्बन्धी तालिम लिएकालाई मात्र पठाउन निर्देशनात्मक आदेश दिएको थियो । तर, यो पनि पूर्ण कार्यान्वयनमा छैन । यसबाहेक सिडिओ सरुवामा हालसम्म कुनै कानुनी आधार छैन । गृहमन्त्री नियुक्त भएपछि लामिछानेले सरुवालाई व्यवस्थित गर्न कार्यविधि ल्याएका हुन् । 

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले सिडिओको सरुवा, पदस्थापन र काजलाई व्यवस्थित गर्न पहिलोपटक कार्यविधि जारी गरिएको बताए । ‘सबै सिडिओमै जान खोज्ने प्रवृत्ति कर्मचारीमा छ । मन्त्रालय, विभाग वा सहायक सिडिओमा बस्नै नरुचाउने प्रवृत्ति छ,’ उनले भने, ‘यसलाई व्यवस्थित गर्न खोजिएको छ । कार्यविधिले समान अवसरको सिर्जना र व्यावसायिकताको विकास बढाउँछ ।’

कार्यविधिले सिडिओको सरुवा, पदस्थापन र काजमा कानुनको ज्ञान, कार्य अनुभव, वरिष्ठता र कार्यसम्पादन मूल्यांकनलाई जोड दिएको छ । पहुँचका आधारमा एउटै व्यक्तिले लिइरहने अनवरत अवसरमा अंकुश लगाएको छ । सिडिओको पदस्थापन वा सरुवा गर्दा वा काजमा खटाउँदा नेतृत्व र समन्वय क्षमता, सुरक्षा व्यवस्थापनसम्बन्धी ज्ञान, स्थानीयस्तरको कार्य अनुभव, रुचि, दक्षता र वरिष्ठताका आधारमा सरल, पारदर्शी तथा अनुमानयोग्य बनाउन कार्यविधि ल्याइएको जनाइएको छ । 

कार्यविधिले सिडिओको पदस्थापना वा सरुवा हुन वा काजमा खटाउने सम्बन्धमा योग्यता निर्धारण गरेको छ । यसका लागि कानुनमा स्नातक गरेको वा तालिम लिएको र गृह मन्त्रालय वा अन्तर्गत एक वर्ष काम गरेको हुनुपर्ने व्यवस्थालाई अनिवार्य गरिएको छ । 

सहसचिव सिडिओ हुने ‘क’ वर्गको जिल्लामा मन्त्रालय, विभाग वा अन्तर्गत कम्तीमा एक वर्ष काम गरेको हुनुपर्ने व्यवस्था छ । उपसचिव खटाउनुपर्ने अवस्थामा उक्त श्रेणीको पदमा कम्तीमा पाँच वर्षको प्रशासनिक क्षेत्रको कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था छ । 

उपसचिव सिडिओ हुने हकमा उपसचिव श्रेणीको सहायक सिडिओ वा इलाका प्रशासन कार्यालयको प्रमुख भई वा गृह मन्त्रालय, विभाग वा अन्तर्गत कम्तीमा एक वर्ष काम गरेको हुनुपर्ने व्यवस्था छ । सहसचिव र उपसचिव दुवैको हकमा सिडिओ बन्न कानुनमा स्नातक तह उत्तीर्ण वा मान्यता प्राप्त संस्थाबाट कम्तीमा तीन महिनाको न्याय तथा कानुनसम्बन्धी तालिम प्राप्त गरेको हुनुपर्ने भनिएको छ ।

सिडिओको पदस्थापना वा सरुवा गा काजमा खटाउँदा कस्तालाई प्राथमिकता दिने भन्ने व्यवस्था पनि कार्यविधिमा गरिएको छ । जसअनुसार पहिलोपटक सिडिओ खटाउँदा मन्त्रालय, विभाग वा अन्तर्गत कार्यालयमा कार्यरत सहसचिव वा उपसचिवमध्ये वरिष्ठ अधिकृतलाई खटाउने भनिएको छ । त्यस्तै, काठमाडौं उपत्यकाका जिल्लामा पदस्थापना, सरुवा वा काज खटाउँदा ‘ख’ र ‘ग’ वर्गका जिल्लामा सिडिओ भई अनुभव हासिल गरिसकेकालाई खटाउने व्यवस्था गरिएको छ । 

प्रदेश राजधानी भएको जिल्लाको हकमा मन्त्रालय, विभाग वा अन्तर्गत कार्यालयमा वा सिडिओ भई कार्य गरिसकेका अधिकृतलाई खटाउने व्यवस्था पनि कार्यविधिमा छ । गृहसचिव वा सिडिओबीच हुने कार्यसम्पादन सम्झौताको मूल्यांकनमा उत्कृष्ट हुने तीन जिल्लाका सिडिओलाई पनि पदस्थापना, सरुवा वा काजमा प्राथमिकता दिइने व्यवस्था कार्यविधिमा छ । 

सिडिओको पदस्थापना वा सरुवामा अयोग्यताको व्यवस्था पनि कार्यविधिमा छ । जसमा विभागीय सजाय पाएको भए सो अवधिभर वा विभागीय कारबाहीको प्रक्रिया प्रारम्भ भएको भए सो प्रक्रिया नटुंगेसम्म पदस्थापना, सरुवा वा काजमा नखटाइने व्यवस्था छ । त्यस्तै, कार्यसम्पादन सम्झौताको मूल्यांकनमा ९० प्रतिशतभन्दा कम अंक ल्याई अन्तिम तीनमा रहने तीन जिल्लाका सिडिओलाई तत्काल अर्को जिल्लामा जिम्मेवारी नदिने व्यवस्था छ । 

सहसचिव सिडिओ रहने पदमा पदस्थापना गर्दा सहसचिव उपलब्ध हुन नसके पाँच वर्ष पूरा भएको उपसचिवलाई खटाउने व्यवस्था छ । त्यस्तै, सहसचिव सिडिओ रहने पदमा उपसचिव खटाउँदा ‘ग’ वर्गको जिल्लामा खटाउने व्यवस्था गरिएको छ । स्थायी ठेगाना भएको जिल्लामा सिडिओका रूपमा पदस्थापना, सरुवा वा काजमा खटाउन नपाउने पनि कार्यविधिले भनेको छ । कुनै प्रदेशमा एक अवधि पूरा गरेका अधिकृतलाई पुनः सोही प्रदेशको अर्को जिल्लामा सिडिओ नखटाइने पनि कार्यविधिमा उल्लेख छ । 

पदस्थापन, सरुवा, काजमा खटाउने प्रयोजनका लागि जिल्लाको वर्गीकरण र त्यसको आधारसम्बन्धी व्यवस्था पनि कार्यविधिमा छ । ६१ जिल्लामा सहसचिव खटाइने र त्यसको आधार पनि दिइएको छ । ती ६१ जिल्लालाई पनि ‘क’, ‘ख’ र ‘ग’ श्रेणीमा विभाजन गरिएको छ । ‘क’ मा १२, ‘ख’ मा २७ र ‘ग’ मा २२ जिल्ला छन् । 

सहसचिवलाई पहिलोपटक सिडिओका रूपमा खटाउँदा ‘ख’ र ‘ग’ वर्गका जिल्लामा खटाइने व्यवस्था कार्यविधिमा छ । तर, गृह मन्त्रालयको महाशाखा प्रमुख वा विभागमा महानिर्देशक भई न्यूनतम एक वर्ष कार्यसम्पादन गरेकालाई भने ‘क’ वर्गकै जिल्लामा खटाउन बाधा नपर्ने भनिएको छ । कार्यविधि लागू भएपछि अन्य निकायबाट सरुवा भई गृह मन्त्रालय आएकालाई सिडिओका रूपमा खटाइएको पटकलाई कार्यविधिले पहिलोपटक मानेको छ । 

उपसचिव सिडिओ रहने जिल्लामा सिडिओ खटाउँदा मन्त्रालय, विभाग वा अन्तर्गतको कार्यालयमा कम्तीमा एक वर्ष काम गरेको हुनुपर्ने व्यवस्था छ । ‘ग’ वर्गको जिल्लामा सिडिओ भएको अधिकृतलाई ‘ख’ वा ‘क’ वर्गको जिल्लामा खटाइने र निजको इच्छाविपरीत पुनः ‘ग’ वर्गको जिल्लामा नखटाइने भनिएको छ । त्यस्तै, ‘क’ वर्गको जिल्लामा सिडिओ भइरहेको अधिकृतलाई तत्काल ‘क’ वर्गकै अर्को जिल्लामा सिडिओमा नपठाउने व्यवस्था पनि कार्यविधिमा छ । तर, वार्षिक कार्यसम्पादन सम्झौताको मूल्यांकनका आधारमा उत्कृष्ट तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई भने ‘क’बाट ‘क’ वर्गमै खटाउन भने सकिनेछ । गृहसचिव र सिडिओबीच हुने कार्यसम्पादन सम्झौताको उपलब्धिस्तरको औसत अंकलाई समेत सिडिओको पदस्थापना, सरुवा वा काजमा खटाउने आधार बनाइने पनि भनिएको छ । 

एउटा जिल्लामा सिडिओको पदावधि एक वर्ष 
विशेष परिस्थितिमा बाहेक एउटा जिल्लामा सिडिओको कामकाज गर्ने अवधि सामान्यतया एक वर्षको हुने व्यवस्था कार्यविधिमा छ । शान्ति सुरक्षाको अवस्था बिग्रिन गएमा, सिडिओ लामो समय कार्यालयमा अनुपस्थित हुने अवस्था, गम्भीर स्वास्थ्य अवस्था, विभागीय कारबाहीको सिफारिस, आचरण तथा अनुशासनसम्बन्धी प्रश्नलगायतलाई विशेष अवस्थाका रूपमा व्याख्या गरिएको छ । तर, गत १ वैशाखअघि सिडिओको जिम्मेवारीमा खटाइएकालाई अन्यत्र कामकाजमा खटाउन बाधा नपर्ने व्यवस्था पनि कार्यविधिमा छ । 

कार्यविधिले एकपछि अर्को जिल्लामा निरन्तर सिडिओमा चक्कर लगाइरहने प्रवृत्ति रोक्न खोजेको छ । त्यसका लागि निरन्तर तीनवटा जिल्लाको सिडिओको जिम्मेवारी बहन गरिसकेका सहसचिवलाई गृह मन्त्रालय, विभाग वा अन्तर्गत कार्यालयमा एक अवधिका लागि सिडिओबाहेकको जिम्मेवारीमा खटाउने व्यवस्था गरिएको छ । त्यस्तै, एक अवधि सिडिओ भइसकेको उपसचिवलाई सहायक सिडिओ वा मन्त्रालय वा विभाग वा अन्तर्गतको कार्यालयको समान पदमा खटाई एक कार्यकालपछि मात्र सिडिओको जिम्मेवारीमा खटाइने पनि कार्यविधिमा उल्लेख छ । गृह मन्त्रालयबाहिर सरुवा भई गएको उपसचिव पुनः मन्त्रालयमा सरुवा भई आएमा एक अवधि मन्त्रालय, विभाग वा अन्तर्गत कार्यालयमा कामकाज गरेपछिमात्र सिडिओको जिम्मेवारीमा खटाइने व्यवस्था कार्यविधिमा छ ।

  • नयाँ पत्रिकाबाट



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम -एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई नेपाल विद्यार्थी संघले ध्यानाकर्षण गराएको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था

काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छिन् । बिहीबार उपाध्यक्ष अर्यालले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई राजीनामा बुझाएकी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । १८ चैत अर्थात् आइतबार बिहान बस्ने गरी प्रधानमन्त्री