"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रवीन्द्र अधिकारीको सपना साकार – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

प्रकाशित मिति :  १७ पुष २०७९, आईतवार १५:५४


पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल देशकै विकास र समृद्धिका लागि कोशेढुंगाको परियोजना हो । पोखरा नेपालको पर्यटकीय राजधानी भएको हुँदा अन्तर्राष्ट्रिय विमानस्थलको आजको आवश्यकता थियो । अहिलेसम्म नेपालमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल थियो । जसले गर्दा समय-समयमा आम सर्वसाधारण जनताले धेरै सास्ती पाइरहेका थिए ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल परिकल्पना २०३४ सालमै भएको थियो। तर, विमानस्थल निर्माण गर्न राजनीतिक दाउपेचका कारण बजेट विनियोजन हुन सकेन। मुलुकमा गणतन्त्र आएपछि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चर्चा निकै चलेको थियो । तर, निर्माण कार्य सुरु नभएपछि २०६८ चैत ११ मा विज्ञप्ति प्रकाशन गर्दै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिले संघर्षका कार्यक्रम चरणबद्ध रूपमा सुरु गर्न थाले । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सरोकार समितिका संयोजक स्व. रवीन्द्र अधिकारी थिए । त्यस्तै पोखरेली जनताले २०६९ सालको दसैं–तिहारजस्ता चाडपर्वमा समेत ‘रिले अनसन’ निरन्तर रूपमा गर्दै आए । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिका संयोजक अधिकारीले लामो समयसम्म सडक देखि सदन सम्म आवाज उठाइराख्नु भयो । सरकार बाध्य भएर पछि तत्कालीन प्रधानमन्त्री केपी ओलीले वैशाख २०७४ वैशाख १ गते भव्य समारोहबीच विमानस्थलको शिलान्यास गर्नुभएको थियोे । सो विमानस्थल शिल्यान्यास हुँदा रविन्द्र अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सरोकार समितिका संयोजक हुनुहुन्थ्यो । अधिकारी पछि सांसद हुँदै मन्त्रीसमेत बन्नुभयो । उहाँ सांसद भएकै बेला विकास समिति सभापति बनेर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा परिणत गर्न सफल हुनुभयो । अधिकारी पर्यटनमन्त्री बनेपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम एक सेकेन्ड पनि रोकिदैन भनेर निरन्तर लागिरहनु भएको थियो । उहाँले सो विमानस्थलको चासो र चिन्ता निरन्तर राखिरहनु भयो । त्यतिबेला गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रोकिएको कामसमेत तीव्र गतिमा अगाडि बढाउनु भएको थियो । पोखरा विमानस्थललाई झनै विशेष प्राथमिकतामा राखेर निरन्तर रूपमा काम गरिरहनु भयो । अधिकारी मन्त्री भएपछि विमानस्थल सञ्चालनको समय दैनिक १८ घण्टाबाट बढाएर २२ घण्टा पुर्याइदिइएका थिए ।

पोखराबाट राष्ट्रिय राजनीतिमा उदाएका स्वर्गीय रवीन्द्र अधिकारीले आफ्नै जिल्लामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई तीव्रता दिन निकै ठुलो योगदान गरेका थिए । चालीस वर्षदेखि विमानस्थलको नाममा रहेको जमीनलाई उनलेे पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन निरन्तर रूपमा डटेर लागिपरे । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने पोखरेली जनताको सपना साकार पार्न स्वर्गीय रवीन्द्र अधिकारी निरन्तर रूपमा सडक देखि सदन सम्म संघर्षकै मैदान उत्रिनु भएको ताजै छ । आज पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पोखरेली जनताको सपनाले चार दशकपछि मुर्त रुप लिएको छ । संघर्षले मुर्त रुप लिइएपछि अहिले समग्र पोखराबासी उत्साहित र खुशी भएका छन् । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रधानमन्त्रीको भ्रमणमा चीनसँग सहुलियत ऋण सम्झौता भएपछि विमानस्थल बनाउने बाटो खुलेको थियोे । यो नेपाल–चीन बिआरआई सहयोगको प्रमुख परियोजना हो । चीन सरकारको सहुलियतपूर्ण २२ अर्ब ऋणमा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल निर्माण गरिएको हो ।  यो ऋणको २५ प्रतिशत रकम नेपालले अनुदानस्वरूप पाउने छ। अनुदानबाहेक रकमको ब्याज नेपालले वार्षिक २ प्रतिशतका दरले तिर्नुपर्छ। विमानस्थल निर्माणको ठेक्कासमेत चीन सरकारकै स्वामित्वमा रहेको कम्पनी सिएएमसीईले नै पाएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट “कम्तिमा दैनिक ६ वटा अन्तर्राष्ट्रिय र ४८ वटा आन्तरिक उडान भर्न सकिने नेपाल नागरिक उड्यन प्राधिकरणले दाबी गरेको छ।” जुन विमानस्थल  आज आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले उद्घाटन गरे सगै व्यावसायिक उडान सुरु भएको छ ।

सो विमानस्थल करिब ३ हजार ७ सय रोपनी क्षेत्रफलमा निर्माण भएको छ। विमानस्थल सञ्चालनमा आएर पोखरेलीको सपना पूरा भएको छ। चिनियाँ निर्माण कम्पनी सिएएमसिईले गत वर्ष चैतमा चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणकै अवसरमा विमानस्थल नेपाललाई हस्तान्तरण गरिसकेको छ ।

अहिले नेपाल महंगो हवाई भाडाका कारण विश्वकै महंगो गन्तव्यमा पर्ने गरेको छ । काठमाडौंमा मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुँदा अत्यधिक चाप थियो । चापकै कारण धेरै उडान हुन सकेका थिएनन् । अब पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल उडान बढ्नेवित्तिकै हवाई भाडा घट्छ, हवाई भाडा घटेपछि पर्यटकको आकर्षण समेत बढ्ने निश्चित छ । विदेशमा सिधा हवाई सम्पर्क भएपछि पर्यटक बढ्छन्, पर्यटक बढेपछि लगानी बढ्छ, लगानी बढेपछि रोजगारीसमेत बढ्छ । पोखरामा धेरै पर्यटक आउन आतुर थिए, तर डाइरेक्ट एक्सेस नहुँदा सबै पर्यटक आउन सकेको थिएनन् । आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पोखरेली जनताको विकास र समृद्धिको ढोका खोलिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सँगसँगै सडक, यातायात, बसपार्क लगायतका थुप्रै पूर्वाधारको विकासमा ध्यान जरुरी देखिन्छ। साथै विमानस्थल सञ्चालनमा आएपछि पर्यटनमा पोखराले फड्को मार्ने छ । 

पोखराको आर्थिक आधार भनेको पर्यटन हो । यहाँको बाँच्ने आधार पनि पर्यटन नै हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यहाँको पर्यटनमा कायापलट हुने देखिन्छ । अब पोखराबाट सोझै अन्तर्राष्ट्रिय उडान सुरु भएपछि पर्यटकको संख्या २५ गुनाले बढ्ने छ । नेपाल आउने पर्यटकको पहिलो आकर्षण पोखरा हुने छ । त्यसमाथि पोखरा मुलुकै क्षेत्रको हब नै हो । पोखराको सगम्र आर्थिक क्रियाकलाप कायापलट बनाउने त भइहाल्यो नै, राज्यको आम्दानीको स्रोत समेत बढाउँछ । साथै  आर्थिक, सामाजिक तथा सांस्कृतिक विकास समेत हुनेछ । यसले पोखरामा मात्र नभई समग्र देशकै अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेछ । देशकै अर्थतन्त्रको मेरुदण्ड भन्दा पनि हुन्छ ।गण्डकीसहित र धौलागिरी र लुम्विनी अञ्चलमा समेत पर्यटकीय गतिविधि बढ्नेछन् । खासगरी होटल व्यावसायी, टुर एन्ड ट्राभल व्यावसायी, साहसिक खेल सञ्चालक व्यावसायी, म्यानपावर व्यावसायीहरुलाई लाभ हुने देखिन्छ । यहाँको पर्यटन र उद्यमशिलताको विकास हुन्छ । नयाँ लगानीकर्ता आउँछन् । यसले पोखरा आसपासका जनताको जीवनस्तरमा सुधार आउने मात्र नभई राज्यको ढुकुटीमा पोखराको योगदान समेत बढ्ने छ । विमानस्थलबाट फाइदा लिन पृथ्वी राजमार्गको स्तरोन्नती, अन्तर्राष्ट्रियस्तरको सभाहल, ठूला सपिङ कम्पलेक्स बन्नुपर्छ । साथै, यहाँको कलासंस्कृतिको संरक्षण गर्नुपर्छ । यो विमानस्थल बनेरमात्र आर्थिक समृद्धि हुन्छ भन्ने हुँदैन । विमानस्थलबाट पोखरेली जनताले कसरी बढीभन्दा बढी फाइदा लिन सक्छन् भने बारेमा सोच्नु जरुरी छ । जसको कारण आम जनताको समृद्धिसँग जोडिएको महसुस गर्न सकुन् ।

अब यो विमानस्थल बनेपछि चीन र भारतलाई जोड्न हवाइ मार्गसँगै सडकमार्ग पनि चुस्त बनाउनु जरुरी देखिन्छ, किनभने चीनबाट कोरला नाका भएर कालीगण्डकी करिडोर हुँदै बाटो आउँछ । त्यस्तै भारतबाट जोडिएको बाटो पनि विस्तार हुँदै आउछ  । यसो भएमा मुलुकलाई नै विकास र समृद्धिको मार्गमा डाेर्याउन सकिन्छ । र, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई मुलुककै विकासको इञ्जिनका रुपमा लिइन सकिन्छ । अहिले काठमाडौं-पोखरा हवाई भाडा अत्यन्तै महंगो छ । यो विमानस्थल बनेसगै ठूला जहाज पोखरामा ल्यान्ड गर्न थाल्छ्न, जसले गर्दा आन्तरिक हवाई भाडा स्वतः घट्नेछ । अब मुलुकका बिभिन्न शहरमा कनेक्टिभ फ्लाइट समेत बढ्नेछ । त्यस्तै अन्तर्राष्ट्रिय यात्रुमात्र होइन, आन्तरिक यात्रुसमेत लाभान्वित हुनेछन् । तर, पोखरामा विमानस्थल बनेर मात्र हुँदैन, अन्य पूर्वाधार पनि विकास गर्नुपर्छ भनेर नीति निर्मातालाई झकझकाउने काम हुन्छ । सुरक्षित उडान हुनुपर्छ, सरकारले त्यो मापदण्ड बनाउनुपर्छ । 

अत: स्वर्गीय रवीन्द्र अधिकारीले पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियालाई अगाडि बढाउन, संसदीय सार्वजनिक लेखा समितिको सदस्य, विकास समितिको सभापति हुँदै विमानस्थल निर्माण उच्चस्तरीय समितिको संयोजक भई कुशलतापूर्वक भूमिका निर्वाह गर्नु भएको थियोे । पछिल्लो समय संस्कृति पयर्टन तथा नागरिक उडड्यनमन्त्री भएर अझ विशेष भूमिका खेल्नु भएको जनमानसमा ताजै छ। स्वर्गीय अधिकारीको योगदानलाई नेपाली जनताले कहिल्यै भुल्न सकिँदैन ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सार्वजनिक क्षेत्रमा वित्तीय जवाफदेहीताको माध्यम मात्र होइन कि बजेट निर्माण आम सरोकारको विषय पनि हो । त्यसो त बजेट भनेको

सङ्घीय संसद्को निर्वाचन भएपश्चात् एक वर्षमा दुई अधिवेशन सकिएर तेस्रो अधिवेशनको तयारीमा छ सरकार । जनताबाट निर्वाचित भएर संसद्मा आएका

सन् २०२४ मा ७६ देशमा हुने निर्वाचनमा विश्वको आधाभन्दा धेरै जनसङ्ख्याले तिनीहरुको स्थानीय नगरप्रमुखदेखि केन्द्रीय प्रतिनिधि अर्थात राष्ट्रपति, प्रधानमन्त्री, चान्सलर

नेपालले अर्थतन्त्रको आकार बढाउनुपर्नेछ। नयाँ अवसर र सम्भावनाको खोजी गर्नुपर्ने आवश्यकता छ। नयाँ-नयाँ रोजगारी सृजना गर्दै आर्थिक गतिविधि बढाउनुपर्नेछ। अर्थतन्त्रमा