"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मधेस प्रदेशसभामा मिश्रित परिणाम सार्वजनिक

प्रकाशित मिति :  ११ मंसिर २०७९, आईतवार १३:२८


जनकपुर । मधेस प्रदेशसभामा यसपटक केही पुराना र केही नयाँ अनुहारलाई जनताले  जनप्रतिनिधिका रुपमा पठाएका छन् । फरक दल, फरक समुदाय, फरक उमेर र फरक वर्गको प्रतिनिधित्व मधेस प्रदेशसभामा देखिने भएको छ ।

प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ६४ जना र समानुपातिक ४३ जना गरी जम्मा एक सय सात सदस्यीय सांसद चुनिने व्यवस्था छ । अघिल्लो निर्वाचनमा चुनिएका कतिपय सांसद यसपटक पनि पुनः दोहोरिएका छन् भने संसद्को पहिलो अनुभव लिन नयाँ अनुहारले समेत उल्लेख्य सङ्ख्यामा प्रदेशसभामा प्रवेश पाउने भएको छ ।

एक कार्यकाल मुख्यमन्त्रीका रुपमा सरकार सञ्चालन गरी सक्नुभएको लालबाबु राउत फेरि दोहोरिनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय नेता रहनुभएको उहाँ पर्सा क्षेत्र नं १ (२) बाट निर्वाचित हुनुभएको छ ।

कांग्रेस नेता रामसरोज यादव धनुषा क्षेत्र नं ३ (१) बाट फेरि प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । रामसरोज यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री भइसक्नु भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता जितेन्द्र सोनल पनि  बारा क्षेत्र नं ४ (२) बाट दोस्रो पटक निर्वाचित हुनुभएको छ । सोनल मधेस प्रदेशमा भौतिक पूर्वाधार तथा विकासमन्त्री  भइसक्नुभएको छ ।

त्यस्तै पर्सा क्षेत्र नं २ (२) बाट लोसपाकै रमेशप्रसाद कुर्मी पनि फेरि निर्वाचित हुनुभएको छ । उहाँ २०७४ को निर्वाचनमा तत्कालीन राजपाबाट निर्वाचित हुनुभएको थियो । पर्साकै क्षेत्र नं ४ (१) बाट कांग्रेसका शङ्करप्रसाद चौधरी पनि दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । दोस्रो पटक निर्वाचित हुनुहुनेमा रौतहट–४ (२) बाट जसपाका शेष अबुल कलाम आजाद पनि पर्नुहुन्छ । 

यसैगरी सर्लाहीबाट चार जना प्रदेश सांसद दोस्रो पटक निर्वाचित हुनुभएको छ । सर्लाही क्षेत्र नं १ (१) बाट लोसपाका उपेन्द्र महतो र (२) बाट वेंची लुङेली, क्षेत्र नं ३ (२) बाट जसपाका सञ्जयकुमार यादव तथा क्षेत्र नं ४ (१) बाट कांग्रेसका वीरेन्द्रप्रसाद सिंहले प्रदेशसभामा पुनः निर्वाचित भई सिट सुरक्षित गर्नुभएको छ । कांग्रेसका सिंह यसअघि प्रदेशको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री भइसक्नुभएको छ ।

त्यस्तै महोत्तरी क्षेत्र नं ३ (१) मा लोसपाबाट उम्मेदवार बन्नुभएका अभिराम शर्मा र ३ (२) बाट रानी शर्मा पुनः निर्वाचित हुनुभएको छ । अभिराम शर्माले सामाजिक विकास राज्यमन्त्री को समेत जिम्मेवारी सम्हालिसक्नुभएको छ । उहाँले मधेस प्रदेश सरकारका मुख्य न्यायाधिवक्ताबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिनुभएका जसपाका दीपेन्द्र झालाई झिनो मतले पराजित गर्नुभएको हो । धनुषा क्षेत्र नं २ (२) मा जसपाका रामाशिष यादव पनि दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । सप्तरी क्षेत्र नं ३ (१) मा कांग्रेसका मोहम्मद समिम पनि दोस्रो पटक निर्वाचित हुनुभएको छ ।

केही नयाँ अनुहार

पर्सा क्षेत्र नं १ (१) बाट निर्वाचित माओवादी केन्द्रका रहवर अन्सारी, पर्सा क्षेत्र नं २ (१) बाट निर्वाचित कांग्रेसका श्यामप्रसाद पटेल, पर्सा क्षेत्र नं ३ (२) बाट जित्नु भएको कांग्रेसका जनार्दन सिंह क्षेत्रीको प्रदेशसभामा यो पहिलो यात्रा हो । यस्तै बारा क्षेत्र नं ३ (१) बाट निर्वाचित एमालेको रवीन्द्रदास श्रेष्ठ, बाराकै क्षेत्र नं ४ (१) बाट निर्वाचित एमालेका देवनारायण थारू पनि प्रदेशसभाका लागि नयाँ हुुनुहुन्छ ।

रौतहटमा प्रदेशसभामा निर्वाचित सातमध्ये छ नयाँ हुनुहुन्छ । क्षेत्र नं १ (१) बाट नागेन्द्र साह र (२) बाट कृष्णप्रसाद यादव निर्वाचित निर्वाचित हुनुभएको छ । कांग्रेसका दुवै नेताको पनि यो प्रदेशसभाको पहिलो यात्रा हो । कृष्ण यादव कांग्रेसका प्रदेश सभापति पनि हुनुहुन्छ । क्षेत्र नं २ (१) मा एमालेका मोहम्मद जैद आलम, क्षेत्र नं २ (२) बाट निर्वाचित कनिश पटेल, क्षेत्र नं ३ (१) मा स्वतन्त्र उम्मेदवार केशव राय र क्षेत्र नं ४ (१) मा निर्वाचित माओवादीका युवराज भट्टराई पनि नयाँ हुनुहुन्छ ।

यसैगरी सर्लाही–४ (२) मा माओवादीका फकिरा महतो र धनुषा–२ (१) मा एमालेका लखन दास तत्मा निर्वाचित हुँदै पहिलो पटक सांसद बन्नुभएको छ । सप्तरीका छ स्थानको नतिजा आउँदा प्रदेशसभा पुग्ने पाँच नयाँ हुनुहुन्छ । यसमध्ये चार जनमत पार्टीका हुुनुहुन्छ । क्षेत्र नं ३ (२) मा शम्भुकुमार साह, क्षेत्र नं २ (१) मा सतिशकुमार सिंह, क्षेत्र नं २ (२) मा महेशप्रसाद यादव र क्षेत्र नं १ (२) मा सकिल मियाँ निर्वाचित हुनुभएको छ । क्षेत्र नं १ (१) मा जित्नु भएको एमालेका राजकुमार लेखी पनि नयाँ नै हुनुहुन्छ । लेखीसँग यसअघि प्रदेश सरकारको नीति तथा योजना आयोगमा सदस्य भएर काम गरेको अनुभव छ ।

मन्त्री पराजित 

विसं २०७४ मा निर्वाचित भई प्रदेशका महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालुभएका केही मन्त्रीले भने यसपटकको निर्वाचनमा पराजय व्यहोर्नुपरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय हुँदै हाल अर्थमन्त्री रहनुभएका शैलेन्द्र साह सप्तरी क्षेत्र नं २ (क) मा पराजित हुनुभएको छ ।

यस्तै पाँच वर्षसम्म भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रहनुभएका योगेन्द्र राय यादव पनि पराजित हुनुभएको छ । उहाँ रौतहट–१ (ख) मा उम्मेदवार हुनुहुन्थ्यो । प्रदेश मुख्य न्यायाधिवक्ताबाट राजीनामा दिएर निर्वाचनमा होमिएका दीपेन्द्र झाले पनि पराजय व्यहोर्नुपरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सिराहा कर्जन्हाका तत्कालीन नगरप्रमुख गङ्गा पासमानसहित पाँच जनाविरुद्ध एक करोड आठ लाख रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । 

काठमाडौं । सरकारले २२ वटा विभिन्न निर्माण र आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले सार्वजनिक

काठमाडौं । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा. सुनिल कुमार यादवसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । वैदेशिक रोजगार कार्यालय ताहाचल अब दैनिक तीन सिफ्टमा सञ्चालन हुने भएको छ। श्रम स्वीकृतिमा ढिलाइ नगर्न श्रम,रोजगार तथा सामाजिक