"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निर्वाचन आचारसंहिता : चुनावमा के गर्न पाइन्छ, के पाइँदैन ? (पूर्ण पाठ )

प्रकाशित मिति :  २४ कार्तिक २०७९, बिहीबार २२:०७


काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि निर्वाचन आचारसंहिता जारी भएको छ । आगामी मंसीर ४ गते हुने चुनावका लागि राजपत्रमा आचारसंहिता प्रकाशित भएको हो। अब आयोगले निर्णय गरेको दिनदेखि लागू हुनेछ।

आचारसंहितामा उम्मेदवारदेखि मतदातासम्मले के गर्न पाउने र के गर्न नपाउने उल्लेख गरिएको छ । निर्वाचन आचारसंहितामा उम्मेदवारहरूलाई बिहान ७ बजेअघि र साँझ ७ बजेपछि प्रचारप्रसार गर्न रोक लगाइएको छ।

आयोगले आगामी निर्वाचनमा उम्मेदवारहरूलाई कुनै पनि र्‍याली वा सभा गर्दा १० वटाभन्दा बढी राष्ट्रिय झन्डा प्रयोग गर्न समेत रोक लगाएको छ। आचारसंहिता लागु भएपछि कुनै पनि दल वा उम्मेदवारको निर्वाचन चिह्न भएका ज्याकेट, भेस्ट, मास्क वा टोपी लगायतका सामग्री कसैले पनि प्रदर्शन गर्न पाइँदैन।

आचारसंहिताले सामाजिक सञ्जालमा झूटा अकाउन्ट वा झूटा वेबसाइट खोल्न रोक लगाउनुका साथै भ्रामक सूचना प्रसार गर्न पनि सर्वसाधारणलाई रोक लगाएको छ।

उम्मेदवारले के गर्न पाउँछन्

  • स्थानीय प्रशासनको अनुमति लिई नियमानुसार जुलुस, आमसभा र प्रचारप्रसार गर्न
  • अनुमति लिई दुईवटा सवारीसाधन वा चारवटा घोडा प्रचारप्रसारमा प्रयोग गर्न
  • निजी सञ्चारमाध्यमबाट नियमानुसार प्रचारप्रसार गर्न
  • ब्याङ्क तथा वित्तीय संस्थामा खाता खोली आर्थिक सहयोग लिन

उम्मेदवारले के गर्न पाउँदैनन्

  • निर्वाचन चिह्न भएको पहिरन, मास्क लगाउन वा झोला बोक्न
  • अर्को दलको प्रचार प्रसारमा अवरोध पुर्‍याउन
  • अनुमति नलिई निजी सम्पत्तिमा प्रचार सामग्री राख्न र सार्वजनिक स्थानमा प्रचार सामग्री राख्न
  • क्लब, सामाजिक संस्था, तथा समूहलाई चन्दा, पुरस्कार वा अनुदान दिन
  • दलको कार्यालय बाहेकमा स्थानमा माइकिङ गर्न वा श्रव्य सामग्री बजाउन
  • विद्यालय लगायतका सार्वजनिक स्थलमा निर्वाचन लक्षित भेलाहरू गर्न
  • गाडी वा मोटरसाइकल र्‍याली आयोजना गर्न

निर्वाचन आयोगका अनुसार उम्मेदवारसहित मन्त्री, कर्मचारी, राजनीतिक दल सहित सार्वजनिक पद धारण गरेका व्यक्तिहरूका गतिविधि आचारसंहिताको दायराअन्तर्गत पर्छन्।

शिक्षक, पर्यवेक्षक, पत्रकार र ब्याङ्क तथा वित्तीय संस्था लगायत निजी संस्था तथा गैरसरकारी संस्थाका पदाधिकारी लाई पनि आचारसंहिता लागु हुन्छ।

निर्वाचन आचारसंहिता लागु भएपछि सङ्घ तथा प्रदेशका मन्त्री र स्थानीय तहका अधिकारीहरूले आफू उम्मेदवार भएको बाहेकका अवस्थामा कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा सहभागी हुन नपाउने आयोगले जनाएको छ।

आचारसंहिता लागु भएपछि शिलान्यास र उद्घाटन जस्ता कार्यक्रमहरू पनि गर्न रोक लगाइएको छ।

सम्पत्ति विवरण पनि पेस गर्नुपर्ने

निर्वाचन आयोगले प्रत्यक्षतर्फ उम्मेदवारी दिने सबै उम्मेदवारहरूले आफ्नो सम्पत्ति विवरण पनि आयोगमा बुझाउनुपर्ने व्यवस्था आचारसंहितामा गरेको छ।

यस्तो सम्पत्ति विवरण निर्वाचन परिणाम नआएसम्म गोप्य र सुरक्षित राखिने र निर्वाचित भएका उम्मेदवारहरूको मात्र सम्पत्ति विवरण सार्वजनिक गरिने आचारसंहितामा उल्लेख छ।

पराजित भएका उम्मेदवारहरूले सम्पत्ति विवरण फिर्ता लिन सक्ने र फिर्ता नलिए आयोगले धुल्याउने भनिएको छ।

निर्वाचनमा भाग लिने उम्मेदवारहरूले आफ्नो शैक्षिक योग्यताको विवरण पनि पेस गर्नुपर्ने व्यवस्था आचारसंहितामा गरिएको छ।

उम्मेदवारी दर्तासँगै उनीहरूको वैयक्तिक पृष्ठभूमि र शैक्षिक योग्यता पनि पेस गर्नुपर्ने व्यवस्था आयोगले गरेको हो।

उम्मेदवारी रद्द सम्मको कारबाही

निर्वाचन आयोग ऐन २०७३ले आचारसंहिताको गम्भीर उल्लङ्घन गर्ने उम्मेदवारको उम्मेदवारी समेत रद्द हुन सक्ने व्यवस्था गरेको छ।

“कुनै उम्मेदवारले आयोगले बनाएको आचारसंहिताको उल्लङ्घन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा त्यसको स्पष्ट आधार र कारण खोली आयोगले उम्मेदवारको उम्मेदवारी रद्द गर्न सक्नेछ,” ऐनमा भनिएको छ।

उम्मेदवारी रद्द गर्ने निर्णय गर्नुअघि आयोगले आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवारलाई सफाइको मौका दिनुपर्ने कानुनी व्यवस्था छ।

ऐनमा अनुगमनका क्रममा आचार संहिता उल्लङ्घन भएको देखिए त्यस्तो गतिविधि रोक्न आयोगले दल, संस्था वा उम्मेदवारलाई आदेश दिन सक्ने व्यवस्था छ।

आयोगले दिएको आदेश अटेर गर्ने दल, संस्था वा उम्मेदवारलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था छ।

निर्वाचन आचारसंहिताको पूर्ण पाठ:



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  कैलाली मालपोत कार्यालयका  तत्कालीन प्रमुख मोहन स्नेही सराईली र  नापी कार्यालय प्रमुख मानबहादुर चन्दसहित

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्नेछ । बैठकमा सभामुख

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रुपमा रहेको संसद् सधैँ बन्धक बन्न नसक्ने

काठमाडौँ । सार्वजनिक पद धारणा गरेका छ हजार सात सय पाँच जनाले गत आर्थिक वर्ष २०७९/८० मा आफ्नो सम्पत्ति विवरण नबुझाएको