"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नवलपुरको नारायणी किनार पर्यटकलाई लोभ्याउँदै

प्रकाशित मिति :  २४ कार्तिक २०७९, बिहीबार १३:१८


नवलपुर । दसैँ, तिहार र छठको बिदासँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नारायणी नदी किनारका होटेलमा पर्यटकको आकर्षण बढ्दै गएको छ । जिल्लाका होटेलमध्ये नदी किनारका होटल पर्यटकको रोजाइमा पर्ने गरेको व्यवसायी बताउँछन् ।

जिल्लाको गैँडाकोट–१ मा सञ्चालनमा रहेको ‘द नारायणी रिसोर्ट’का सञ्चालक वसन्त पराजुलीले अहिले होटेलमा पाहुनाको आगमन बढ्न थालेको बताउँछन्। “दसैँ, तिहार र छठको बिदासँगै यहाँका होटेलमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ”, उनले भने, “अघिल्ला वर्षहरूको यो समयमा होटेलको अकुपेन्सी मुस्किलले ४० प्रतिशत पुग्ने गरेकोमा अहिले ७० प्रतिशतसम्म पुगेको छ ।” नारायणी नदी किनारबाट देखिने मनोरम दृश्यावलोकनका लागि पर्यटक नदी किनारका होटेलमा केन्द्रित हुने गरेको पराजुलीको भनाइ छ ।

“जिल्लामा विभिन्न ठुला कार्यक्रम हुने गरेका छन्, उनीहरूको रोजाइमा पनि नदी किनारका होटल नै परेका छन्”, पराजुलीले भन्छन्, “नदी किनारबाट देखिने सूर्यास्त, मोटरबोट सयरलगायत विभिन्न कारण नदी किनारको होटेलमा आकर्षण बढेको हुनसक्छ ।” चितवनको सौराहा केन्द्रित हुने पर्यटक अहिले नारायणी नदी किनारका होटेलमा विस्तार भइरहेका पराजुलीको भनाइ छ । यहाँ आउने पर्यटक पवित्र तीर्थस्थल देवघाटधाम, ऐतिहासिक महत्वको मौलाकालिका मन्दिरलगायतका ठाउँमा घुम्ने गरेका पराजुलीले जानकारी दिए।

होटल व्यवसायी सङ्घ नवलपुरका अध्यक्ष सन्तोष रानामगरले जङ्गल सफारी, जिप सफारी, डुङ्गा सफारीलगायतका लागि पर्यटक आउने हुँदा नारायणी नदी किनारका होटल उनीहरूको रोजाइमा पर्ने गरेको बताए। “नारायणी नदी वारि रहेका अमलटारी, पिठुवासहितका सामुदायिक वनमा जिप सफारी, ट्रेकिङ, नारायणीमा डुङ्गा सफारीजस्ता पर्यटकीय गतिविधि हुने गरेका छन्”,  रानामगरले भने, “दुर्लभ एकसिङ्गे गैँडा, मयुर, भालु, मृगजस्ता जनावर जङ्गल सफारीमा सहजै देख्न पाइने हुँदा अहिले पर्यटकको आगमन राम्रो छ।”

नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहाको विकल्पका रुपमा नवलपुर क्षेत्र उदाउँदै जाँदा नारायणी नदी किनारका होटेलमा आकर्षण बढेको राना मगरले बताए। “केही हप्ताअघि राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत केही खेल नवलपुरमा आयोजना हुँदा यहाँको पर्यटन क्षेत्रलाई थप बल पुगेको छ”, रानामगरले भन्छन्, “अहिले जिल्लामा आउने पर्यटक दुईतीन दिनको बसाइँमा आउने गरेका छन् उनीहरूलाई एक हप्तासम्म राख्ने गरी हामीले प्याकेज बनाउँदै छौँ ।”

जिल्लामा रहेका धार्मिकस्थल, प्राकृतिक सम्पदा र पर्यटकीय स्थलहरूलाई समेटेर व्यवस्थित पर्यटकीय गन्तव्य बनाउने लैजाने योजना रहेको रानामगरले बताए। “नवलपुरमा बसुन्जेल आन्तरिक पर्यटक खुलेर रमाइलो गरुन् भन्ने तरिकाले हामीले यहाँको पर्यटनलाई व्यवस्थित गर्ने योजना बनाएका छौँ”, रानामगरले भने, “हामीकहाँ आउने पर्यटकले यहाँ खाँदा बस्दा पैसा सकिएको अवस्थामा उनीहरूलाई हामी आफैँ गाडी भाडा हालेर घर पठाउने व्यवस्था गर्ने गरी छलफल अघि बढाएका छौँ, त्यस्तो गर्न सकियो भने नेपालमै नवीन पर्यटकीय ठाउँ बन्नेछ नवलपुर ।”

नवलपुरमा तीन प्रकारको हावापानी पाइने बताउँदै उनले राजमार्गबाट उत्तरतर्फ पाँच किलोमिटरको दूरीमा चिसो हावापानी, राजमार्ग क्षेत्र र राजमार्गबाट दक्षिणतर्फ सिमसार छुट्टै हावापानी पाइने जानकारी दिए। नवलपुरको त्रिवेणीधाम, दाउन्नेदेवी मन्दिर, धौवादीको फलाम खानी, देवचुली डाँडा, शाश्वत धाम, मौलाकालिका मन्दिर, देवघाटधाम, चितवन राष्ट्रिय निकुञ्जका सामुदायिक वनलाई पर्यटनसँग जोडेर प्याकेज बनाउने तयारी भइरहेको राना मगरको भनाइ छ । यहाँको पहाडी क्षेत्रमा गुरुङ, मगरको तथा तराईमा थारु समुदायको संस्कृति, परम्परागत खानपानमा पर्यटकलाई रम्ने वातावरण बनाउँदै नदी केन्द्रित पर्यटनको क्षेत्र विस्तार गरिने उनको भनाइ छ ।

जिल्लामा रहेका करिब आठ सय होटेलमध्ये नारायणी किनारमा मात्रै अहिले दुई सयको हाराहारीमा होटल सञ्चालनमा रहेका राना मगरले जानकारी दिए। यो समयमा नारायणी किनारका सबै होटेलमा ७० देखि ७५ प्रतिशत अकुपेन्सी रहेको राना मगरले बताए। जिल्लाका सानाठूला होटेलमा गरी करिब तीन हजार कोठा रहेको उनी बताउँछन्।

होटल व्यवसायी महासङ्घका वरिष्ठ केन्द्रीय उपाध्यक्ष दिनेशकुमार चुकेले नारायणी नदी किनार पर्यटकीय दृष्टिकोणले आकर्षित बन्दै जाँदा यहाँ आउने पर्यटक बढेका बताए। “भारतको गोवा तथा मुम्बईको समुद्री तटको झल्को दिने गरी नारायणी नदी किनार विकास भइरहेको छ”, चुकेको दाबी छ, “त्यसैको प्रभावले यहाँको नदी किनारका होटेलमा पर्यटकको आकर्षण बढेको हो ।” नदी किनारका होटेलमा बास बस्दा नारायणी गङ्गा आरतीको अवलोकन, मोटर बोटमा सयर, मनोरम सूर्यास्तको दृश्यावलोकनजस्ता क्रियाकलाप गर्न पाइने हुँदा आन्तरिक पर्यटकको रोजाइमा नदी किनार पर्ने गरेको चुकेले बताए।

“गैँडाकोटका नदी किनारका होटेलमा बस्ने पर्यटक बिहान उठेर सहजै मौलाकालिका मन्दिरको दर्शन गर्दै देवघाटधाममा जान सक्छन्”, वरिष्ठ उपाध्यक्ष चुकले भन्छन्, “नदी किनार देशकै केन्द्र भागमा पर्ने हुँदा यातायातको सहज व्यवस्था भएकाले यहाँ पर्यटकको आकर्षण बढ्नु स्वाभाविक हो ।” यहाँ आउने पर्यटकमध्ये अधिकांश छुट्टी मनाउन तथा घुम्न आउने भएकाले उनीहरूको बसाइँ लम्बाउने गरी विभिन्न क्रियाकलाप सञ्चालन गर्नसकेमा आर्थिक क्रियाकलाप बढ्ने चुकेले बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

इलाम । इलामको अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ

म्याग्दी । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका धार्मिकस्थल कागबेनी र मुक्तिनाथ मन्दिरमा आज भक्तजनको घुइँचो लागेको छ । कालीगण्डकीको तटमा

लमजुङ । पर्यटकीय सिजन सुरु भएसँगै समुद्री सतहबाट दुई हजार एक सय मिटर उचाइमा रहेको घलेगाउँमा पर्यटकको चहलपहल बढेको छ। घलेगाउँमा

काठमाडौं । एक महिनामामै १ लाख २८ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार मार्च २०२४