"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निर्वाचन आयोगको आचारसंहीतामा भित्ते लेखन गर्न निषेध

प्रकाशित मिति :  १६ कार्तिक २०७९, बुधबार ११:४८


काठमाडौं । निर्वाचन आयोगले चुनावी आमसभा गर्दा आचारसंहीता भित्र रहेर कार्यक्रम गर्न राजनीतिक दल र उम्मेदवारहरुको ध्यानाकर्षण गराएको छ । आयोजले भित्ते लेखन गर्न निषेधदेखि झण्डा र चुनावचिन्हको आकार निर्धारण, १० भन्दा बढी राष्ट्रिय झण्डा प्रयोग गर्न रोक, आमसभा र कोणसभाको खर्च विवरण ७ दिनभित्र पेस गर्नुपर्ने जस्ता मापदण्ड तय गरेको छ । 

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कार्तिक १७ गते बिहीबार देखि राजनीतिक दलहरुले गर्ने आमसभा, कोणसभा तथा अन्य प्रचारप्रसारका गतिविधि गर्दा पालना गर्नुपर्ने आचरणको विषयमा आयोगले पुनः ध्यानाकर्षण गराएको हो । 

निर्वाचन आचारसंहीता केन्द्रिय अनुगमन समितिका संयोजकसमेत रहनुभएका आयुक्त रामप्रसाद भण्डारीले प्रचलित कानून, निर्वाचन ऐन, नियम र निर्वाचन आचारसंहीता प्रतिकुल हुनेगरी सभा, समारोहहरु नगर्न आग्रह गर्नुभयो । राजनीतिक दलहरुले अर्काको कार्यक्रम बिथोल्न लागेमा र अर्कालाई आरोप–प्रत्यारोप गरेमा कारबाहीको भागिदार हुने पनि उहाँले स्पष्ट पार्नुभयो ।

आयुक्त भण्डारीले राजनीतिक दलहरुले आमसभा गर्न लागेको कुरा २४ घण्टा अगावै स्थानीय प्रशासनलाई जानकारी दिनुपर्ने प्रावधानलाई कडाईका साथ पालना गर्नपनि सचेत गराउनुभयो । आयोगले व्यक्ति विशेषलाई लाञ्छना लगाउने प्रयोजनले कुनैपनि शब्दहरु उच्चारण नगर्न, प्रचारप्रसार गर्ने क्रममा लोगो, स्टिकर लगाएको कपडा, टोपी, क्याप, ज्याकेट, कमिज, गम्छा, झोला लगायतका निर्वाचनसँग सम्बन्धित दलको चिन्ह प्रयोग भएका सामग्रीहरु प्रयोग नगर्न पनि सचेत गराएको छ । 

आयुक्त भण्डारीले निर्वाचन आचारसंहीताले तोकेको ढाँचामा मात्रै पर्चा तथा पम्प्लेट बनाउन पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘कुन दलको कुन ठाउँमा कसरी आमसभा गर्ने भन्ने कुरा २४ घण्टा अगावै स्थानीय प्रशासनलाई जानकारी दिने । स्थानीय प्रशासनलाई जानकारी दिइसके पछाडी, एउटा दलले कुनै कार्यक्रम गर्ने ठाउँ हो भने अर्को दलले त्यहाँ कार्यक्रम जुधाउनु भएन । अत्यन्त सभ्य, अनुशासित र भद्रसँग आफ्नो कार्यक्रम सञ्चालन गर्नुपर्‍यो । व्यक्ति विशेषको घर नजिकै र व्यक्ति विशेषलाई लाञ्छना लगाउने प्रयोजनले कुनैपनि शब्दहरु उच्चारण गर्नु भएन । राजनीतिक दलहरुले आमसभा, कोणसभा, र्‍याली गर्दा कुन कुन शर्त पालना गर्नुपर्छ भन्दाखेरी, आफ्नो दलको प्रचारप्रसारको सन्दर्भमा लोगो, स्टिकर लगाएको कपडा, टोपी, क्याप, ज्याकेट, कमिज, गम्छा, ब्याग लगायतका निर्वाचनसँग सम्बन्धित दलको चिन्ह प्रयोग भएका यस्ता सामग्रीहरु त्यहाँ प्रयोग गर्नु भएन ।’’

उहाँले भन्नुभयो,‘‘आयोगले निर्वाचन आचारसंहीताले जुन ढाँचा तोकेको छ, त्यो ढाँचामा पर्चा, पम्प्लेट बनाउनुपर्‍यो । र निर्वाचन प्रचार प्रसार गर्नुपर्‍यो । एउटा दलले कार्यक्रम गर्दा अर्को दलको कार्यक्रमलाई प्रतिकुल असर पारिदिनु भएन । कार्यक्रम बिथोल्ने लगायत अरुलाई आरोप, प्रत्यारोप लगाउने विषयले असर पर्‍यो भने त्यो कारबाहीको विषयवस्तु हुन्छ । प्रचलित कानून प्रतिकुल, निर्वाचन ऐन, नियम प्रतिकुल, आचारसंहीता प्रतिकुल काम गर्नुहुन्न ।’’

आयोगले सार्वजनिक स्थलहरुमा पार्टीको झण्डा तथा पर्चा, पम्प्लेटहरु राख्न नपाउने, कुनैपनि कार्यक्रम गर्दा १० वटा भन्दा बढी झण्डा प्रयोग गर्न नपाइने पनि जनाएको छ । आयुक्त भण्डारीले प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्षतर्फका र समानुपातिकका उम्मेदवारहरुले तोकिएभन्दा बढी सवारी साधन प्रयोग गर्नु नहुने समेत स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,‘‘ सवारी साधन कसले कतिवटा प्रयोग गर्न पाउने भन्ने पहिले भनिसकेका छौँ । तोकिएको सीमा भन्दा बाहिर गर्न पाउनुहुन्न । सयौँ बस लिएर आमसभा गर्नुहुन्न भन्ने आयोगको विश्वास छ । बस, ट्रक, मिनीटाटा, ठेलागाढा, ट्रयाक्टर लगायतका सवारी साधनहरुको प्रयोग गरेर त्यसमा पर्चा पम्प्लेट टाँसेर, त्यसको अगाडी झण्डा राखेर प्रचारप्रसार गर्न पाइदैनँ, आचारसंहीताले निषेध गर्छ ।’’

निर्वाचन आयुक्त भण्डारीले सरकारी लाभको पदमा बसेर उम्मेदवार हुन र निर्वाचन प्रचारप्रसारमा सरिक हुन नपाउने भन्दै कोही त्यसरी सरीक भएको देखेमा आयोगलाई सूचना दिन आग्रह गर्नुभयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै लाभको पदमा बसेर उम्मेदवार बनेको अवस्थामा निर्वाचनको दिनसम्म पनि मनोनयन पत्र खारेज हुने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो,‘‘यदी लाभको पदमा कोही बसेर निर्वाचन प्रचारप्रसारमा सरिक हुनुभएको छ, अथवा उम्मेदवार भएर निर्वाचन प्रचारप्रसार गरिरहनुभएको छ भने उहाँहरुको यस्तो लाभको पदमा रहेर उहाँहरुले उम्मेदवारी दिनुभयो, यो उम्मेदवारीको सम्बन्धमा काहीँ पनि उजुरी परेन अनि अहिले प्रचारप्रसार गरिरहनुभएको छ भनेर हामीलाई सूचना दिनुस् । यसको कारबाहीको प्रक्रिया जहिल्यै पनि खुला रहन्छ । यदि त्यस्तो प्रमाणित भएमा उहाँहरुको निर्वाचनको दिनसम्म पनि मनोनयन पत्र खारेज हुनसक्छ ।’’

निर्वाचन आयोगले निर्वाचन जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा आयोगले जारी गरेको निर्वाचन आचारसंहीता अक्षरस पालना गर्न सबैमा आग्रह समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमण पश्चात् वेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका

काठमाडौँ । नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना खोजिरहेका बेलामा कतार पनि पानी निर्यातको राम्रो गन्तव्य हुनसक्नेमा सरोकारवालाहरूले

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको