"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पर्यटन पुनरूत्थानका लागि मन्त्रालयको ७३ बुँदे कार्ययोजना घोषणा

प्रकाशित मिति :  ९ श्रावण २०७९, सोमबार १३:००


काठमाडौं । सरकारले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने भएको छ। आईतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरूत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो।

पर्यटनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाल्ने क्रममा गरेको ‘रिकोभरी प्लान’ ल्याउने निर्णय अनुसार आईतबार मन्त्रालयले पर्यटन पुनरूत्थान कार्ययोजना सावजनिक गरेको हो।


कार्ययोजना प्रस्तुत गर्दै मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक तीन महिनाभित्र घोषणा गरिसक्ने गरी तयारी गरिरहेको बताए। उनले पर्यटन क्षेत्रमा अनवरत योगदान गर्ने व्यक्तिलाई सम्मानस्वरुप परिचय पत्र दिने कार्यजना बनाएको पनि बताए।

सहसचिव लुइँटेलले नेपालमा विदेशी चलचित्र छायांकनको लागि विदेशी चलचित्र निर्माता र कलाकारलाई आकर्षण गर्ने विभिन्न सहुलियतको व्यवस्था गरिने बताए। उनले सरकारले सगरमाथा आधार शिविरबारे अध्ययन गर्न समिति गठन गर्ने पनि बताए।

सहसचिव लुइँटेलले कार्ययोजना प्रस्तुत गर्दै सगरमाथा आधार शिविरको ऐतिहासिकता, वर्तमान अवस्था र भविष्यको जोखिममा सम्बन्धमा अध्ययन गर्न सगरमाथा आधारशिविर अध्ययन समिति गठन गरी त्यसैको सुझावका आधारमा आधार शिविरको वैज्ञानिक व्यवस्थापन गरिने बताए।
त्यस्तै काठमाडौं उपत्यका लगायत अन्य पर्यटकीय स्थलमा पर्यटनको बसपार्क निर्माणको कामलाई ६ महिनाभित्र अगाडि बढाउने घोषणा गरेको छ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मन्त्रालयले घोषणा गरेको ७३ बुँदे कार्ययोजनाले कोरोना महामारीले परेको असरलाई पुनरूत्थान गरी पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्ने काम गर्ने दाबी गरे।

‘कार्ययोजनाले नेपालको पर्यटन क्षेत्रमा कोरोना महामारीले परेको असरलाई पुनरूत्थान गरी पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्ने काम गर्नेछ’, मन्त्री श्रेष्ठले भने, ‘नेपाल विश्वमा पर्यटन आवगमनको केन्द्र बनाउने लक्ष्य बोकेका छौं। त्यो योजनालाई पनि यो ७३ बुँदे कार्ययोजनाले मद्दत पुर्‍याउनेछ भन्ने विश्वास लिएको छौं।’

मन्त्री श्रेष्ठले सरकारले नेपाललाई विश्वको एक पर्यटन आगमनको केन्द्र बनाउने गरी काम गर्ने तयारी गरेको बताए। उनले विगतमा कुनै एक वर्षलाई भ्रमण वर्षको रुपमा मनाएर पर्यटन प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास गर्ने गरिएको भए पनि वर्तमान सरकारले एक दशकलाई नै नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरिने बताए।

मन्त्री श्रेष्ठले नेपाल भ्रमण वर्ष दशककै रूपमा मनाउँदा पर्यटन प्रवर्द्धन र विकासको अभियान नै भएको बताए। उनले पर्यटन प्रवर्द्धन र विकासको अभियान निरन्तर रुपमा लगेमात्र सरकारले पर्यटन विकासमा लिएका लक्ष्य र चाहना पूरा हुने जिकिर गरे।

‘यो पर्यटन प्रवर्द्धन, पर्यटन विकासको अभियान हो। एकै दिनमा, एक वर्षमा कार्य सम्पन्न हुने कुरा होइन। निरन्तर रुपमा हामीले लैजानुपर्छ। त्यसो भएमात्रै सरकारले पर्यटन विकासमा लिएका लक्ष्य र चाहना पूरा गर्नसक्छौं’, उनले भने।

मन्त्री श्रेष्ठले नेपाल भ्रमण दशक घोषणा मन्त्रालयको मात्रै नभइ सरकारको कार्ययोजना भएको बताए। उनले भ्रमण दशकबारे प्रधानमन्त्री शेरबहादुर देउवासमेत सकारात्मक रहेको बताए।

‘दशकको रुपमा नै पर्यटन वर्ष बनाएर जाने घोषणा गरेका छौं। यो पर्यटन मन्त्रालयको मात्रै नभएर सरकारको कार्ययोजना हो। प्रधानमन्त्रीज्यूले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनको लागि केके गर्नुपर्ने हो। अगाडि बढाउनुस् भन्नुभएको छ। सरकारको तर्फबाट के सहयोग गर्नुपर्छ गर्ने बताउनुभएको छ,’ मन्त्री श्रेष्ठले भने।

मन्त्रालयले कोरोना महामारीबाट सिथिल बनेको पर्यटन क्षेत्र पुनरुत्थानको लागि गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’समेत चलाउने घोषणा पनि गरेको छ।

त्यस्तै मन्त्रालयले हिमाल आरोहणको लागि ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका थप हिमचुलीहरुको आरोहण ६ महिना भित्र खुला गर्ने तयारी गरेको छ।

त्यस्तै, प्रयोगमा नआएका विमानस्थललाई वैकल्पिक प्रयोगमा ल्याइने घोषणा समेत मन्त्रालयले गरेको छ।

काठमाडौं उपत्यकाभित्र रात्रीकालिन पर्यटनको प्रारम्भ र प्रवर्द्धन गर्न काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालिन सम्पदा यात्रा आगामी दुई वर्षभित्र सञ्चालन गर्ने तयारी रहेको बताएको छ।

क्लीन नेपाल, ग्रिन नेपालको अवधारणा अन्तर्गत प्रदेश, स्थानीय सरकार ,नागरिक समाज र निजी क्षेत्रसँग सहकार्य गरी महत्वपूर्ण पर्यटकीय स्थलहरुमा राष्ट्रिय सरसफाई एवं रङ,रोगन अभियान एक महिनाभित्र चलाउने घोषणा गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना खोजिरहेका बेलामा कतार पनि पानी निर्यातको राम्रो गन्तव्य हुनसक्नेमा सरोकारवालाहरूले

काठमाडौँ  । कोरोना महामारीका कारण थलिएको नेपालको पर्यटन क्षेत्र वर्ष २०८० मा सुधारोन्मुख रह्यो। पर्यटक आगमनमा उल्लेख्य सुधार देखियो भने पर्यटकीय

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकिङ्ग प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रुपैयाँसम्म

इलाम । इलामको अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ