"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पुँजीगत खर्च ५७.२३ प्रतिशतमा सिमित, असारमा मात्र ७९ अर्ब विकास खर्च

प्रकाशित मिति :  १ श्रावण २०७९, आईतवार १८:०१


काठमाडौं । हरेक महिना १० प्रतिशत पूँजीगत खर्च गर्दै शतप्रतिशत लक्ष्य भेट्याउने उद्घोष गरेको वर्तमान सरकारले आर्थिक वर्ष सकिंदा मात्र ५७.२३ प्रतिशत पुँजीगत खर्च गर्न सकेको छ ।

महालेखा नियन्त्रक कार्यालयको प्रारम्भिक तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ३२ असारसम्म २ खर्ब १६ अर्ब ३७ करोड २७ लाख रुपैयाँ पुँजीगत खर्च भएको छ । यस आवका सरकारले ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ पूँजीगत खर्चको लक्ष्य राखेको थियो ।

तथ्यांकअनुसार यस आवमा सरकारले १ खर्ब ६२ अर्ब रुपैयाँ कम पुँजीगत बजेट खर्च गरेको छ । आर्थिक वर्षको प्रारम्भमा बजेट प्रतिस्थापन विधेयक ल्याउनु पर्ने बाध्यता, निर्वाचनका कारण विकास निर्माणले प्राथमिकता नपाउनु र विकास खर्चका परम्परागत समस्या सल्ट्याउन नसक्दा पूँजीगत खर्चको खराब प्रवृत्तिले यस वर्ष पनि निरन्तरता पाएको हो ।

तथ्यांक अनुसार पछिल्लो ६ वर्षयता आर्थिक वर्ष २०७६/७७ मा सबैभन्दा कम विकास खर्च भएको छ । यसो हुनुमा कोरोना महामारी र त्यसले आर्थिक गतिविधिहरु ठप्प हुनु थियो । किनकी सो आवको चैतदेखि असारसम्म मुलुकले लकडाउन भोगेको थियो । नेपालमा पूँजीगत खर्च हुने मुख्य समय नै तेस्रो चौमासिक हो ।

असारमा मात्र ७९ अर्ब विकास खर्च

सरकारले असार एक महिनाको अवधिमा मात्र ७९ अर्ब रुपैयाँ पूँजीगत खर्च गरेको छ । ३१ जेठ २०७९ मा १ खर्ब ३७ अर्ब रुपैयाँ रहेको पूँजीगत खर्च ३२ असार २०७९ मा आइपुग्दा २ खर्ब १६ अर्ब पुगेको छ । खासगरी आर्थिक वर्षको प्रारम्भिक दिनमा खर्चलाई गति दिन नसक्दा अन्ततः आर्थिक वर्षको अन्त्यमा खर्चमा चाप परेको छ ।

अर्थ मन्त्रालयले आर्थिक वर्षको अन्तिम साता हुने खर्चमा केही कडाई गरेको थियो । यसले अन्तिम सातामा हुने भुक्तानी यस आवमा केही कमी आएको छ ।

असारमा मात्र २ खर्ब ६० अर्ब ६४ लाख बजेट खर्च

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार आव २०७८/७९ मा सरकारले १२ खर्ब ९६ अर्ब २४ करोड रुपैयाँ बजेट खर्च गर्न सकेको छ । यो चालु, पूँजीगत र वित्तीय व्यवस्थासमेतको कुल खर्च हो । यो बजेट खर्च कुल लक्ष्यको ७९.३९ मात्र प्रगति हो । यस्तो खर्चमध्ये असारमा मात्र २६० अर्ब रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाएको छ ।

३१ जेठ २०७९ मा १० खर्ब ३५ अर्ब रुपैयाँ रहेको कुल बजेट खर्च ३२ असार २०७९ मा पुग्दा १२ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको हो । यस आवमा सरकारले कुल १६ खर्ब ३२ अर्ब ८२ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको थियो । यसआवमा सरकारले ९ खर्ब ६१ अर्ब ४७ करोड रुपैयाँ चालु खर्च गर्न सकेको छ । यो लक्ष्यको ९०.२५ प्रतिशत हो । यस आवमा सरकारले १० खर्ब ६५ अर्ब २९ रकोड रुपैयाँ चालु खर्चको लक्ष्य लिएको थियो ।

आर्थिक वर्षको प्रारम्भिक दिनमा वित्तीय व्यवस्थामा उच्च प्रगति देखिए पनि अन्तिम तिर त्यसले गति लिन सकेन । जसले गर्दा वित्तीय व्यवस्थामा विनियोजित बजेटमा पनि मात्र ६२.५ प्रतिशत प्रगति भएको छ ।

तथ्यांक अनुसार यस आवमा सरकारले १ खर्ब १८ अर्ब ३९ करोड रुपैयाँ वित्तीय व्यवस्थामा खर्च गरेको छ । वित्तीय व्यवस्थामा यस वर्ष १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ बजेट खर्च गर्ने लक्ष्य सरकारको थियो ।

बजेट खर्च विस्तृतमा

बजेट शीर्षकविनियोजितखर्चखर्च प्रतिशत
चालु१० खर्ब ६५ अर्ब २९ करोड९ खर्ब ६१ अर्ब ४७ करोड९०.२५
पूँजीगत३ खर्ब ७८ अर्ब ९ करोड२ खर्ब १६ अर्ब ३७ करोड५७.२३
वित्तीय व्यवस्था१ खर्ब ८९ अर्ब ४३ करोड१ खर्ब १८ अर्ब ३९ करोड६२.५
कुल१६ खर्ब ३२ अर्ब ८२ करोड१२ खर्ब ९२ अर्ब २४ करोड७९.३९

राजस्व संकलन लक्ष्यभन्दा ९.५४ प्रतिशत कम

अघिल्लो आवमा सरकारले राजस्व संकलन समेत लक्ष्य अनुसार गर्न सकेन । खासगरी आयात प्रतिस्थापन गर्न सरकारले आर्थिक वर्षको अन्तिम चौमासमा कडाई गरेको थियो । यसको प्रभाव राजस्व संकलनमा परेको छ ।

तथ्यांक अनुसार सरकारले ३२ असारसम्म १० खर्ब ६७ अर्ब ९५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो कुल लक्ष्यको ९.४६ प्रतिशत हो । यस आवमा सरकारले ११ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । यस आवमा सरकारले ५९ अर्ब ९१ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्तीको लक्ष्य राखेकोमा मात्र १८ अर्ब २९ करोड रुपैयाँ प्राप्त भयो । यो लक्ष्यको ३०.५३ प्रतिशत मात्र हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना खोजिरहेका बेलामा कतार पनि पानी निर्यातको राम्रो गन्तव्य हुनसक्नेमा सरोकारवालाहरूले

काठमाडौँ  । कोरोना महामारीका कारण थलिएको नेपालको पर्यटन क्षेत्र वर्ष २०८० मा सुधारोन्मुख रह्यो। पर्यटक आगमनमा उल्लेख्य सुधार देखियो भने पर्यटकीय

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकिङ्ग प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रुपैयाँसम्म

इलाम । इलामको अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ