महँगो मूल्यमा औषधि किन्नुपर्ने बाध्यता हटाउदै छौँ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकको गुणस्तरीय औषधि प्राप्त गर्ने आकांक्षालाई गम्भीर ढङ्गबाट हेरिएको बताएका छन् । मंगलबार औषधि व्यवस्था विभागमा औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदन बुझ्दै मन्त्री पौडेलले नागरिकको गुणस्तरीय औषधि प्राप्त गर्ने आकांक्षा र राज्यको दायित्वलाई पनि गम्भीर रूपले हेरिएको बताएका हुन् ।
‘मूलतः आम नागरिकको गुणस्तरीय औषधि प्राप्त गर्ने आकांक्षा र राज्यको दायित्वलाई गम्भीर ढङ्गबाट हेरिनेछ । हामी गुणस्तरीय औषधि प्राप्त हुने परिस्थिति बनाउनको लागि, महँगो मूल्यमा औषधि किन्नु परिरहेको स्थिति छ भने त्यसलाई अन्त्य गर्नको निम्ति र औषधिको मूल्यको बारेमा उपभोक्ता सुसूचित हुने स्थिति निर्माण गर्नको निम्ति हामीले त्यस्तो परिस्थिति बनाउन खोजिरहेका छौँ,’ उनले भने ।
औषधिको मूल्य समायोजन सम्बन्धमा सुझाव दिन गठित समितिका संयोजक तथा अर्थविद् पोषराज पाण्डेले नेपालमा प्रयोग हुने औषधिहरूको विशेषता, प्रकृति र महत्वको आधारमा सुझाव प्रस्तुत गरिएको बताए । उनले नेपालमा औषधिको घरेलु उत्पादनको अवस्थालाई समेत प्रस्तुत गरिएको जिकिर गरे ।
‘हामीहरूको जुन सुझाव छ, त्यो सुझाव मुलतः नेपालमा प्रयोग हुने औषधिहरूको विशेषता के हो ? त्यसको नेचर के हो ? त्यसको महत्त्व के छ ? घरेलु उत्पादनको अवस्था के छ ? साथै, एसियन देशहरूमा मुख्यतः इन्डियामा यी उत्पादनहरूको कसरी प्राइस रेट भएको छ ? बङ्गलादेशको अवस्था के छ? श्रीलङ्कामा कसरी गरिएको छ, त्यसको पनि हामीले रिभ्यु गरेका छौँ । त्यस्तै, हाम्रो औषधि व्यवस्था विभागको संस्थागत क्षमता के छ ? त्यसलाई पनि हामीले राखेका छौँ,’ उनले भने ।