"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जलवायु न्यायको विषय अन्तर्राष्ट्रिय मञ्चहरूमा एकतृत भएर उठाउन जरुरी छ : राष्ट्रपति पौडेल

प्रकाशित मिति :  10 March, 2025 1:42 pm


काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनमा भूमिका नभएका नेपालजस्ता मुलुकका लागि जलवायु न्यायको विषय हरेक अन्तर्राष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी भएको बताएका छन्। भौगर्भिक समाजद्वारा आज आयोजित सम्मेलनको उद्घाटन गर्दै उनले जलवायु न्यायको मुद्दालाई विश्वजगत्मा पुर्‍याउनुपर्ने बताए।

उनले विकसित देशहरूमा भएको अन्धाधुन्ध औद्योगिकीकरण, जीवाश्म इन्धनको दोहन, कार्बन उत्सर्जनले जलवायु परिवर्तनमा भूमिका नै नभएका नेपालजस्ता विकासशील एवं अल्पविकसित देशहरू समेत प्रभावित हुनुपरेको सन्दर्भमा जलवायु न्यायको विषयलाई जोडदार रुपमा उठाउन सक्नुपर्नेमा जोड दिए।

जलवायु परिवर्तनका असरहरूको न्यूनीकरण, प्राकृतिक प्रकोप तथा व्यवस्थापन जस्ता जल्दाबल्दा विषयले भौगर्भिक सम्मेलनको महत्वलाई बढाएको भन्दै राष्ट्रपति पौडेलले मानव जनजीवनसँग प्रत्यक्ष सरोकार रहेको यस किसिमका सम्वेदनशील मुद्दा सम्बोधनका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा सहयोग र सहकार्य हुनुपर्ने खाँचो औँल्याए।

राष्ट्रपति पौडेलले पृथ्वीको तापक्रम अस्वभाविक रुपमा वृद्धि भइरहेको सन्दर्भ उल्लेख गर्दैै तीन दशकयताको यस अवधिमा हाम्रा हिमालका हिउँ पग्लिएर हिमतालहरू फुट्ने अवस्थामा पुगेको, अधिकांश हिमाल नाङ्गा पहाडमा रुपान्तरण हुनेक्रममा रहेको, अधिक वर्षाका कारण जलप्रकोप, पहिरो र भूक्षयबाट बर्सेनि जनधनको ठूलो क्षति भइरहेको भनी चिन्ता व्यक्त गरे।

उनले हिमालय पर्वत शृङ्खलामा बेलाबेलामा गइरहने भूकम्प पनि हिमाली मुलुक नेपालको विकास निर्माणका लागि समस्याका रूपमा रहेको बताउँदै केही प्राकृतिक प्रकोपहरूको पूर्वानुमान गर्न सकिने भए पनि भूकम्पसम्बन्धी पूर्वानुमान गर्न सकिने संयन्त्रको आविष्कार हुन नसक्दा समस्या सिर्जना भएको धारणा व्यक्त गरे।

राष्ट्रपति पौडेलले सम्मेलनमा नेपालका खानी तथा खनिजजन्य पदार्थको स्थिति, अन्वेषणको अवस्था, जलवायु परिवर्त र त्यसको प्रभाव, भौतिक पूर्वाधारको विकासमा भू–विज्ञानको प्रयोगका बारेमा विचारविमर्श हुने विश्वास व्यक्त गरे। उनले प्राकृतिक स्रोतको उत्खनन्, सदुपयोग र बजार व्यवस्थापनका लागि लगानीकर्ताको ध्यान आकर्षण गर्न समेत भौगर्भिक सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गरे।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल