"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

महावीर पुनलाई ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’

प्रकाशित मिति :  ९ फाल्गुन २०८१, शुक्रबार १३:३७


गण्डकी – वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा‍. महावीर पुनलाई ५० हजार राशिको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको छ। ‘रत्न–श्रेष्ठ पुरस्कार गुठी’ बागलुङद्वारा बुधबार आयोजित पुरस्कार समर्पण समारोहमा गुठीका संस्थापक संरक्षक प्रेम छोटाले पुनको अनुपस्थितिमा केन्द्रका प्रतिनिधि इन्द्र वलीलाई नगदसहित, दोसल्ला र सम्मानपत्र प्रदान गरे।

केन्द्रद्वारा प्रकाशित पुनको पुस्तक ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ का लागि पुरस्कार प्रदान गरिएको गुठीले जनाएको छ। राष्ट्रिय आविष्कार केन्द्रको स्थापना, रोजगारी सिर्जना, नवप्रवर्तनका क्षेत्रमा गरेका अनुकरणीय कामले उनी परिचित छन्। त्यसैगरी यस वर्षको ‘धवलागिरि प्रतिभा पुरस्कार’ साहित्यकार जगन्नाथप्रसाद लम्साललाई प्रदान गरिएको छ। उनको काव्यकृति ‘सहधर्मिणी’ का लागि उक्त पुरस्कार प्रदान गरिएको गुठीले जनाएको छ। उक्त पुरस्कारको राशि १५ हजार नगद रहेको छ।

त्यसैगरी २५ हजार राशिको ‘जगतचन्द्र स्मृति राष्ट्रिय पुरस्कार–२०८१’ पाल्पाका साहित्यकार चोलेश्वर शर्मालाई प्रदान गरिएको छ। रत्न–श्रेष्ठ पुरस्कार गुठीको संरक्षकत्वमा सञ्चालित जगतचन्द्र स्मृतिकोषका तर्फबाट प्रदान गरिने उक्त पुरस्कारको राशि २५ हजार रहेको छ। शर्माको निबन्ध सङ्ग्रह ‘सगरमाथा एक पहाडको नाम होइन’ लाई पुरस्कार प्रदान गरिएको गुठीका सदस्यसचिव महेशचन्द्र प्रधानले जानकारी दिए।

सोही समारोहमा बागलुङ नगरपालिका–४ कुँडेलस्थितस्थित मुक्तिनाथ वेद विद्याश्रम संस्कृत विद्यालयका छात्र रामकृष्ण सुवेदीलाई ‘गुरु गणेश स्मृति पुरस्कार’ प्रदान गरिएको थियो। बागलुङका गणेशप्रसाद र विष्णुकुमारी श्रेष्ठको स्मृतिमा गुठीमा स्थापित उक्त पुरस्कारको राशि दस हजार रहेको छ। गुठीले हरेक दुई वर्षमा पुरस्कार प्रदान गर्दै आएको छ। साहित्यकार एवं संस्कृतिकर्मी प्रेम छोटाले आफ्नी आमा रत्नकुमारी श्रेष्ठको स्मृतिमा विसं २०३४ मा पुरस्कार कोष स्थापना गरेका थिए।

‘रत्न–श्रेष्ठ पुरस्कार गुठी’ लाई देशकै जेठोमध्येको एक पुरस्कार संस्था मानिन्छ। भाषा, साहित्य र संस्कृतिको उत्थानमा समर्पित स्रष्टाको सम्मानका लागि पुरस्कार गुठी स्थापना गरिएको संस्थापक संरक्षक छोटाले बताए। दिवंगत रत्नकुमारी श्रेष्ठको ११७ औँ पुण्यतिथि र ४८औँ स्मृति दिवसको अवसर पारेर पुरस्कार वितरण गरिएको गुठीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) को आठौँ संस्करण यही चैत ७ गतेदेखि ११ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ।

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण गरेकी

काठमाडौं – मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८१’ का लागि सर्जकहरूसँग आवेदन माग गरेको छ । बिहीबार एक सुचना जारी गर्दै

काठमाडौँ – प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ। शनिबार आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा