"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सोह्रौँ योजनाको आधारशिला तयार : ‘समृद्ध नेपाल, सुखी नेपाली’

प्रकाशित मिति :  ११ माघ २०८१, शुक्रबार ०९:०१


काठमाडौँ – राष्ट्रिय योजना आयोगले १६ औँ योजनाको कार्यान्वयन योजना तयार पारेको छ । बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा १६ औँ योजना ‘समृद्ध नेपाल, सुखी नेपाली’ को आधारशिला तयार भएको जानकारी दिइयो । यस योजनाले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै आर्थिक वृद्धिलाई प्रवर्धन र जनताको जीवनस्तर सुधार गर्नका लागि मार्गदर्शन प्रदान गर्ने विश्वास लिइएको आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले जनाउनुभयो ।

आयोजना कार्यान्वयनको दक्षता सुधार, आयोजनाको प्रभावकारिता बढाउन, स्रोत व्यवस्थापनलाई व्यवस्थित गर्न र पुँजीगत खर्चलाई सही ढङ्गले परिचालन गर्न आवश्यक नीतिगत सुधारका पहल भइरहेको पनि आयोगले जनाएको छ । यसले आयोजनाको गुणस्तर र कार्यान्वयन प्रक्रियामा नयाँ गति ल्याउने योजना आयोगको विश्वास छ ।

आर्थिक, सामाजिक वा अन्य कुनै प्रकारले विभेदमा परेको वर्ग वा समुदायको उत्थान वा विकासलाई सम्बोधन गर्न सङ्घीय वा प्रदेश सरकारले आफूभन्दा तल्ला सरकारलाई विशेष अनुदान दिने गरेको छ तर विशेष अनुदानबापत प्राप्त अनुदानबाट उद्देश्य अनुसार मानव विकास, उत्पादन, रोजगारी, उत्पादकत्व तथा जीवनस्तर वृद्धिमा योगदान गर्न नसकेको भन्दै सरकारले कार्यविधि संशोधन गरेको हो ।

विशेष अनुदानको मापदण्डमा स्पष्टता नहुँदा यस शीर्षकमा गएको अधिकांश रकम या त पूर्वाधार निर्माणमा खर्च भएको या गोष्ठी, तालिम, सेमिनारमा सक्ने गरिएको देखिएकाले कार्यविधिमा संशोधन गरिएको आयोगको भनाइ छ । 

आयोगले आयोजना बैङ्कलाई अद्यावधिक गर्ने भएको छ । आयोजना बैङ्क अद्यावधिक गर्दै ७० अङ्क नल्याउने आयोजना आयोजना बैङ्कमा प्रवेश गर्न नपाउने व्यवस्था गरेको हो । कुल एक सय अङ्कमध्ये ७० अङ्क आधारभूत मापदण्ड र ३० अङ्क क्षेत्रगत मापदण्डका आधारमा प्रदान हुन्छ । यस्तै तीन वर्षसम्म निष्क्रिय रहेका आयोजना सूचीबाट हट्ने भएका छन् ।

आयोजना पहिचानका क्रममा सम्बन्धित मन्त्रालयले नै आयोजनाको साधारण जानकारी उपलब्ध गराउनुपर्ने भएको छ । एक अर्ब रुपियाँभन्दा साना आयोजनाको पूर्वसम्भाव्यता र एक अर्ब रुपियाँभन्दा बढीको आयोजनाले विस्तृत परियोजना प्रतिवेदन तयार गरेपछि मात्रै बैङ्कमा समावेश गर्ने गरी मापदण्डमा सुधार भएको हो ।

आयोगका सहसचिव होमराज कोइरालाले १६ औँ योजना कार्यान्वयनका लागि मध्यकालीन खर्च संरचना, आयोजना प्राथमिकीकरणबारे प्रस्तुति दिनुभएको थियो । सहसचिव अर्जुन भण्डारीले समपूरक र विशेष आयोजनाबारे जानकारी गराउनुभएको थियो ।

आयोगका अनुसार आर्थिक, सामाजिक, पूर्वाधार अवस्था र राजस्व क्षमता अनुसार प्रदेशको वर्गीकरण गरिएको छ । जस अनुसार सरकारले कर्णाली प्रदेशलाई अधिकतम ७० प्रतिशत अनुदान उपलब्ध गराउने छ । साथै सुदूरपश्चिमलाई ६५ प्रतिशत, मधेशलाई ६० प्रतिशत, गण्डकी, लुम्बिनी, कोशीलाई ५० प्रतिशत र बागमतीलाई ४० प्रतिशत अनुदान उपलब्ध गराइने छ । 

समपूरक अनुदानका लागि लागत सहभागिता अन्तर्गत ‘क’ वर्गका स्थानीय तहलाई अधिकतम ८० प्रतिशत अनुदान दिइने छ । साथै ‘ख’ वर्गका लागि ७० प्रतिशत, ‘ग’ वर्गका लागि ६० प्रतिशत, ‘घ’ वर्गका लागि ५०, ‘ङ’ वर्गका लागि ४०, ‘च’ वर्गका लागि ३० र ‘छ’ वर्गका लागि २० प्रतिशत अधिकतम अनुदान उपलब्ध गराइने आयोगले जनाएको छ ।

राष्ट्रिय योजना आयोगले समपूरक र विशेष अनुदानमार्फत स्रोतको वितरणमा समानतामा आधारित प्रणाली लागु गरेको छ । बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोगले १६ औँ विकास योजनाको कार्यान्वयन योजना तयार गर्दै उक्त प्रणाली लागु गरेको जनाएको छ । उक्त प्रणालीले समानता र वित्तीय सङ्घीयतामा मुख्य प्रभाव पार्ने आयोगको भनाइ छ ।

आयोगका अनुसार उक्त प्रणालीमा पालिका र प्रदेशको राजस्व क्षमताको स्तर समृद्धि, भौतिक पूर्वाधारका आधारमा श्रेणीकरण गरिएको छ । तुलनात्मक रूपमा स्रोतमा कमजोर पालिकाहरूले केन्द्र सरकारबाट समपूरक अनुदान तुलनात्मक रूपमा बढी पाउने आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले बताउनुभयो ।

यस प्रणालीको मार्गदर्शनले मानव विकास, रोजगारी सिर्जना र उत्पादकत्व वृद्धिमा प्राथमिकता दिने छ । साथै स्रोतमा समतामूलक पहुँच सुनिश्चित गर्दै मुलुकभर वित्तीय सङ्घीयतालाई सुदृढ गर्न मद्दत गर्ने आयोगले जनाएको छ ।

आयोगले १६ औँ योजना कार्यान्वयन कार्ययोजना तयार गर्दा दिगो विकास लक्ष्यको स्थानीयकरण र अतिकम विकसित देशबाट स्तरोन्नति हुने प्रक्रियालाई प्राथमिकताका साथ समेटेको आयोगले जनाएको छ । १६ औँ विकास योजना, दिगो विकासका लक्ष्य र अति कम विकसित देशबाट स्तरोन्नति अलग अलग रूपमा मात्र कार्यान्वयन हुने नभई परस्पर अन्तर्क्रियात्मक र एकअर्कालाई सहयोग गर्ने गरी विकास गरी कार्यान्वयनमा लगिएको आयोगले जनाएको छ । 

  • पत्रपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – प्रतिनिधिसभाको आइतबारको बैठक गणपूरक संख्या नपुग्दा स्थगित भएको छ । बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन, २०८१ लाई संशोधन

काठमाडौँ– संसदीय व्यवस्थामा प्रधानमन्त्री को प्रति जिम्मेवारी हुनुपर्छ, सामान्य जबाफ हो संसद्प्रति। संसद्बाट निर्वाचित भएपछि प्रधानमन्त्री संसद्मा उठेका हरेक प्रश्नको जबाफ

काठमाडौँ – संसद्मा पेस भएका अध्यादेशका विषयमा छलफल गर्न सत्तापक्षीय दलको बैठक बोलाइएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार आज (शनिबार) दिउँसो ११

काठमाडौँ – सत्तारुढ कांग्रेस–एमाले उच्चस्तरीय संयन्त्रको बैठकमा संसद्‌मा पेस गर्ने अध्यादेश, सरकारका कामकारबाहीलगायत विषयमा छलफल भएको छ ।   प्रधानमन्त्री निवास बालुवाटारमा