"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न परराष्ट्रमन्त्रीको निर्देशन

प्रकाशित मिति :  ४ माघ २०८१, शुक्रबार १३:०१


काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विभिन्न देशमा रहेका सबै नेपाली मिसन प्रमुखलाई नेपालको राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएकी छन् । मन्त्री डा. राणाले विदेशमा रहेका सबै नेपाली मिसन प्रमुखहरूलाई बिहीबार मन्त्रालयबाट भर्चुअल सम्बोधन गर्दै उक्त निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

‘आर्थिक कूटनीति पनि नेपालको परराष्ट्र नीतिको एक अभिन्न अङ्गका रूपमा हामीले अघि बढाइरहेकाले नेपालको विकासको आकांक्षा र आर्थिक वृद्धिका लागि सहयोग पुर्‍याउने गरी कुनै पनि क्षेत्रको अन्वेषणमा लाग्नुहोस्, जसले नेपालमा आर्थिक लगानी आकर्षित गर्न सहयोग पुगोस्,’ उनकाे भनाइ थियाे ।

आफू रहेका देश तथा स्थानका सम्भावनालाई नेपालसँग जोडेर त्यसबाट नेपालले कसरी लाभ लिनसक्छ र नेपालको आर्थिक विकासका प्रयासलाई कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे सोचेर काम गर्न मिसन प्रमुखहरूलाई उनको सुझाव थियो ।

मुलुकको विकास र राष्ट्रिय समृद्धिको आकांक्षालाई परिपूर्ति गर्न परराष्ट्र मन्त्रालयले नीतिगत रूपमा नै आर्थिक कूटनीतिलाई समग्र कूटनीतिको प्राथमिकतामा राखेर अलग्गै महाशाखामार्फत काम गर्न लागेकाले नेपालका सबै मिसनहरूले आर्थिक कूटनीतिका मध्यमबाट नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने काममा लाग्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री डा. राणाले भनिन्, ‘विविध कारणले नेपाली अर्थतन्त्रले अपेक्षित गति लिन नसकिरहेको वर्तमान अवस्थामा विदेशस्थित सबै नेपाली मिसनहरूले आर्थिक कूटनीतिका माध्यमबाट आफू रहेका देशबाट नेपालमा लगानी आकर्षित गर्दै यहाँका सम्भावनालाई विश्व बजारसम्म पुर्‍याउन आवश्यक देखिएको छ ।’

मन्त्री डा. राणाले नेपाली उत्पादन एवं पर्यटनको सम्भावनालाई विश्व बजारमा प्रवद्र्धन गर्ने कामका लागि आफू रहेका स्थानमा समयसमयमा आयोजना हुने मेला, महोत्सव एवं प्रदर्शनीमा सहभागी हुन पनि आग्रह गरेकी थिइन् ।

नेपालले आगामी दिनमा जलवायु परिवर्तनका कारण भोग्नसक्ने समस्यालाई ध्यानमा राखेर जलवायु न्यायका विषयलाई विश्वव्यापी रूपमा पैरवी गर्नुपर्ने अवस्था आएकोतर्फ ध्यानाकर्षण गराउँदै निकट भविष्यमै नेपालमा आयोजना हुन लागेको सगरमाथा संवाद कार्यक्रमको सफलताका लागि पनि आ–आफ्ना ठाउँबाट लाग्न मन्त्री डा. राणाले सबैलाई आग्रह गरिन् ।

त्यसअवसरमा परारष्ट्र सचिव अमृतबहादुर राईले आफू रहेका देशका नीति एवं कार्यक्रमलाई नेपालको स्वार्थ अनुकूल बनाउन तथा विदेशमा रहेका नेपालीको हकहितको रक्षागरी वैदेशिक रोजगारीमा रहेको ठूलो नेपाली समुदायको हितको प्रवद्र्धनमा लाग्न निर्देशन दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रियसभाको आइतबारको बैठकले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक

काठमाडौँ – स्वर्गद्वारी गुठी किसानहरूको वास्तविक पहिचानका आधारमा समस्या समाधानका लागि आवश्यक कानुनी व्यवस्था गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको

काठमाडौँ-  नेसपा (नयाँ शक्ति)को अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित भएका छन् । पहिलो महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा अध्यक्षका अर्का उम्मेदवार नेत्र चापागाईंलाई पराजित

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिइ कोर्टेभालले आज शिष्टाचार भेट गरेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को