"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ट्रम्पसँग वार्ता गर्न पुटिन तयार

प्रकाशित मिति :  ४ पुष २०८१, बिहीबार २२:००


मस्को/ एजेन्सी – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ‘जुनसुकै बेला’ वार्ता गर्न तयार रहेको बताएका छन् । अमेरिकामा गत नोभेम्बर ५ मा भएको चुनावबाट राष्ट्रपतिमा निर्वाचित ट्रम्पले आगामी जनवरी २० मा पदभार ग्रहण गर्दैछन् ।

राष्ट्रपतिमा निर्वाचित भएलगत्तै उनले पदभार ग्रहण गरेको केही घण्टाभित्रै युक्रेनमा शान्ति सम्झौता गर्ने बताएका थिए । पदभार ग्रहण गरेसँगै ट्रम्पले युक्रेनलाई मस्कोका लागि अनुकूल सर्तबारे शान्ति सम्झौताका लागि बाध्य पार्ने ठानिएको छ ।

वार्षिक पत्रकार सम्मेलनका क्रममा बिहीबार पुटिनले आगामी राष्ट्रपतिसँगको भेटलाई स्वागत गर्ने बताएका हुन् । ‘मलाई थाहा छैन, म उहाँलाई कहिले भेट्न जाँदैछु । यसबारे ट्रम्पको भनाइ सार्वजनिक भएको पनि छैन । मैले उहाँसँग चार वर्ष भन्दा लामो समयदेखि कुरा गरेको पनि छैन । तर म यसका लागि कुनै पनि समय तयार छु,’ पुटिनले भनेका छन् ।

ट्रम्पसँग छलफल गर्नका लागि रुस-युक्रेन युद्ध मात्र नभइ धेरै विषयहरू रहेको पुटिनको भनाइ छ । पुटिनले युक्रेन युद्धमा रुसी सेनाले विजय प्राप्त गरिरहेको दाबी गरेका छन् । तर रुसी सेनाले दक्षिणपश्चिमी कुर्स्क क्षेत्रबाट युक्रेनी सेनालाई परास्त गर्न कति समय लाग्छ भन्ने विषयमा आफूले भन्न नसक्ने उनको भनाइ छ ।

सिरियाको भूभाग कब्जा गर्ने इजरायली कदमको भने पुटिनले कडा शब्दमा निन्दा गरेका छन् । इजरायलले छिटै सिरिया छाड्ने आशा गरेको उनको भनाइ छ । पुटिनले टर्की र कुर्दिस लडाकुहरूबीच थप तनाव नहुने आशा व्यक्त गरेका छन् । ‘यो टर्कीका लागि गम्भीर समस्या हो,’ उनले भने, ‘कुर्दिश समस्या समाधान गर्नुपर्छ ।’

पुटिनले रुसी राजधानी मस्कोमा एक वरिष्ठ जर्नेलको हत्या भएकोमा आफ्ना शक्तिशाली सुरक्षा एजेन्सीहरूको असफलता भएको स्वीकार गरेका छन् । रुसी सेनाको रासायनिक हतियार इकाई प्रमुख इगोर किरिलोभ मंगलबार मस्कोमा स्कुटरमा राखिएको बम विस्फोटमा मारिएका थिए । उनको हत्याको युक्रेनले जिम्मा लिएको छ । यो दुई देशबीच द्वन्द्व सुरु भएयता युक्रेनले गरेको सबैभन्दा घातक आक्रमण हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – अमेरिकाले इरानका तीन प्रमुख परमाणु केन्द्रहरूमा आक्रमण गरेको छ। अमेरिकाले इरानका तीन प्रमुख परमाणु केन्द्रहरू फोर्दो, नताञ्ज र इस्फहानमा

काठमाडौँ – भारतको अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान दुर्घटनामा परेको छ । प्रारम्भिक सूचना अनुसार टेक अफ गरेपछि विमान

रासस/ एएफपी (सियोल) – दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपति ली जे–म्युङले आणविक शक्ति सम्पन्न उत्तर कोरियासँग सम्पर्क गरेर ‘घाउ निको पार्ने’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जालमा घोषणा गरेजस्तै युद्धविरामका लागि सहमति भएको भारत र