"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अस्ट्रेलियामा विद्यार्थीले चाहेजति काम गर्न पाउने

प्रकाशित मिति :  १७ माघ २०७८, सोमबार १७:३३


कोरोना कहरले कामदारको चरम अभाव भोगिरहेको अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई काम गर्ने हदबन्दी हटाएको छ।

यसअघि पाक्षिक रूपमा ४० घण्टामात्र काम गर्न पाउने विद्यार्थीहरूले अब आफूले चाहेजति काम गर्न पाउने भएका छन्।

यसै साता बसेको अस्ट्रेलियन सरकारको मन्त्रिपरिषद् बैठकले पाक्षिक रूपमा ४० घण्टाभन्दा बढी काम गर्न नपाउने नियमलाई अस्थायी रूपमा हटाउने निर्णय गरेको प्रधानमन्त्री स्कट मोरिसनले जानकारी दिएका छन्।

सरकारको पछिल्लो निर्णयलाई विद्यार्थीले स्वागत गरेका छन्। यसअघि पनि अस्ट्रेलियन सरकारले केही समयका लागि भन्दै अत्यावश्यक सेवाका लागि यस्तै निर्णय गरेको थियो।

यसैबीच देशमा कामदारको अभाव हुँदा विद्यार्थीलाई सस्तोमा काम लगाउन सरकारले निर्णय गरेको भन्दै केहीले मोरिसन सरकारको आलोचनासमेत गरेका छन्। 

अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा सिड्नीमा रहेका आयुष खतिवडाले सरकारको पछिल्लो निर्णयले आफूजस्ता विद्यार्थीलाई फाइदा पुग्ने बताए।

अहिले पाक्षिक रूपमा ४० घण्टाभन्दा बढी काम गर्न पाउनु सरकारको स्वागतयोग्य कदम भएको बताएका छन्।

‘हाम्रोजस्तो मुलुकबाट आउने विद्यार्थीका लागि यो निकै ठूलो अवसर हो’, विश्वविद्यालयको पढाइ सकेर टिआरमा रहेका खतिवडाले भने, ‘ पढाइसँगै काम पनि गरौं भन्नेलाई गर्मी छुट्टीमा यति घण्टा काम गरें भनेर सोच्नु पर्दैन।’

अर्का नेपाली विद्यार्थी रिकेस कटुवाल अस्ट्रेलियन सरकारको पछिल्लो निर्णयले पढाइसँगै काम पनि र पैसा पनि राम्रो हुने बताए।

यसअघि नै अस्ट्रेलियामा कामदारको चरम अभाव भएपछि सरकारले तत्कालै आउन चाहने अन्तर्राष्ट्रिय विद्यार्थी र वर्किङ होलिडे भिसामा आउने कामदारको भिसा शुल्क फिर्ता गर्ने निर्णय गरिसकेको छ।

प्रधानमन्त्री स्कट मोरिसनले आगामी आठ साताभित्र अस्ट्रेलिया प्रवेश गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीलाई उनीहरूले तिरेको भिसा वापतको शुल्क फिर्ता गर्ने घोषणा गरेका हुन्। 

विद्यार्थीले भिसा शुल्क बापत करिब ६ सय डलर तिर्ने गरेका छन्।

यस्तै, वर्किङ होलिडे भिसा अन्तर्गत आउनेलाई आगामी तीन महिनाभित्र अस्ट्रेलिया आएमा उनीहरूको पनि भिसा शुल्क फिर्ता गरिनेछ। 

यस नयाँ घोषणामार्फत् करिब ५५ मिलियन डलर खर्च हुने सरकारले अनुमान गरेको छ।

यो कार्यक्रम अस्ट्रेलियाभन्दा बाहिर रहेका १ लाख ५० हजार विद्यार्थी र २३ हजार वर्किङ होलिडे भिसामा आउनेलाई लक्षित गरिएको छ। 

प्रधानमन्त्री मोरिसनले यो रकम उनीहरूलाई अस्ट्रेलियामा आउँदा उपहार स्वरूप दिइएको बताए।

उनले अस्ट्रेलिया आएपछि ती विद्यार्थीले यहाँ कामदार अभाव भएका क्षेत्रमा योगदान दिने अपेक्षासमेत गरेका छन्।

प्रधानमन्त्री मोरिसनले भिसा लिएर बसेका अन्तर्राष्ट्रिय विद्यार्थीलाई जतिसक्दो चाँडो अस्ट्रेलिया आउनसमेत आग्रह गरेका छन्।

‘हामी चाहन्छौं कि तपाईं अस्ट्रेलियामा आउनुहोस् र यहाँ अस्ट्रेलियामा छुट्टीको आनन्द लिनुहोस्। देशभरि घुम्नुहोस् र एकै समयमा, हाम्रो कामदार कमि भएको क्षेत्रमा सहभागी हुनुहोस्,’ प्रधानमन्त्री मोरिसनले भने।

एक्सपर्ट एजुकेसनका कार्यकारी प्रमुख तथा अध्यागमन विज्ञ बद्री अर्यालले सरकारको पछिल्लो नीतिले विद्यार्थी भिसामा आउनेलाई थप प्रोत्साहन गरेको  बताए।

नयाँ भिसा पाएका नेपाली विद्यार्थीले पनि यो समयमा अस्ट्रेलिया आए भिसा शुल्क फिर्ता पाउने  मौका पाउने बताए।

यो राज्यको सहुलीयतपूर्ण शैक्षिक नीति भएको अर्यालले बताए।

अस्ट्रेलिया अन्तर्राष्ट्रिय विद्यार्थीको लागि आकर्षक केन्द्र हो र सरकारले यसलाई प्रवर्द्धन तथा प्रोत्साहन गरेको शैक्षिक परामर्श राइट एन्ड एसोसिएट्सका निर्देशक परशुराम अधिकारीले बताए।

यसअघि नै सरकारले कोभिडका कारण लामो समयदेखि सीमा बन्द हुँदा भिसा अवधि सकिएर अस्ट्रेलियामै फसेका वा बाहिर मुलुकमा रहेका ४८५ (टेम्पोररी ग्राजुयट) भिसाबाहकलाई सरकारले पुनः भिसा आवेदन गर्न पाउने व्यवस्था मिलाएको छ।

अन्तर्राष्ट्रिय सीमा बन्द हुँदा विदेशमा फसेका ४८५ अस्थायी भिसाबाहक (टिआर)को अधिकार कटौती भएको महसुस गर्दै सरकारले यो कदम चालेको थियो।

४८५ अर्थात टेम्पोररी ग्राजुयट भिसा भर्खरै स्नातक सकाएका अन्तर्राष्ट्रिय विद्यार्थीलाई अस्ट्रेलियामा काम जारी राख्न प्रदान गरिने भिसा हो। जसबाट उनीहरूलाई पढाइपछि अर्थोपार्जन र विषयगत दक्षतामा काम गर्ने अवसर पाउँछन्।

लामो समय अन्तर्राष्ट्रिय सीमा बन्द हुँदा विभिन्न मुलुकमा फसेका भिसाबाहकले आफूले पाएको कामको अधिकार गुमाउने भएकोले सरकारले उनीहरूका लागि मौका दिएको हो।

अन्तर्राष्ट्रिय विद्यार्थीका लागि टेम्पोररी ग्राजुएट भिसासम्बन्धी केही प्रमुख परिवर्तनमा मास्टर्स कोर्स वर्कको टेम्पोररी ग्राजुएट भिसा अन्तर्गत अस्ट्रेलियामा बस्न र काम गर्न पाउने समयलाई बढाएर दुईबाट तीन वर्ष पुर्‍याइएको छ।

अध्यागमन विभागको पछिल्लो तथ्यांक अनुसार करिब ६० हजार नेपाली विद्यार्थी अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनरत छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । वैदेशिक रोजगार कार्यालय ताहाचल अब दैनिक तीन सिफ्टमा सञ्चालन हुने भएको छ। श्रम स्वीकृतिमा ढिलाइ नगर्न श्रम,रोजगार तथा सामाजिक

काठमाडौं । सरकारले जापानमा ‘स्पेसिफाइड स्किल वर्कर’ (एसएसडब्ल्यू) श्रमिकको माग ल्याउने र श्रमिक पठाउने जिम्मा म्यानपावर कम्पनीलाई नै दिएको छ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि बेलायत जान ७१ नर्स अन्तर्वार्ताका लागि छनोट भएका छन्। वैदेशिक रोजगार विभागले ७१ जनाको नाम सार्वजनिक

काठमाडौँ । सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री