"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जाडोमा गिजर र हिटरको प्रयोगमा सावधानी कसरी अपनाउने ?

प्रकाशित मिति :  २३ मंसिर २०८१, आईतवार २१:३२


काठमाडौँ – काठमाडौंकी एक २३ वर्षीया युवती ग्याँस गिजरको प्रयोग गरेर बाथरुममा नुहाउँदै थिइन् । बाथरुम छिरेको दुई घण्टासम्म पनि बाहिर ननिस्किएपछि दिदीले ढोका फोेरेर हेर्दा उनी बेहोस अवस्थामा भेटिइन् । उनलाई तुरुन्त महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुर्‍याइयो । 

उपचारमा संलग्न अस्पतालका छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसार उनलाई ‘हाइफ्लो अक्सिजन’मा राखियो । दोस्रो दिनमा बल्ल राम्रोसँग होस आएपछि चार दिनपछि ‘डिस्चार्ज’ गरियो । डा बम भन्छन्, ‘बिरामी समयमै अस्पताल ल्याइएकाले केही हुन पाएन । लामो समयसम्म उद्धार नभएको भए बिरामीको मृत्यु पनि हुनसक्थ्यो ।’

जाडोयाममा पानी तताउन गिजरको प्रयोगबाट निस्सासिएर बेहोस भएको, झ्याल ढोका थुनेर कोइला बालेर सुत्दा मृत्यु भएको, आगलागीको घटनाजस्ता अप्रिय घटनाहरू बर्सेनि दोहोरिने गरेका छन् । मंसिरको अन्त्यसम्म चिसोको आभास हुन थालिसकेको छ । शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, कोइला तथा हिटर बाल्ने तथा पानी तताउन गिजरको प्रयोग गर्ने गरिन्छ । यी सबैको प्रयोग गर्ने क्रममा सावधानी नपनाउँदा मृत्युको मुखमा समेत पुग्नसक्ने सम्भावना रहने भएकाले सावधानी अपनाउन चिकित्सकको सुझाव छ ।

डा. बम हिटर बाल्दा भेन्टिलेसन खुला राख्न सुझाव दिँदै भन्छन्, ‘जाडोमा मकल बाल्ने, हिटर बाल्ने, दाउरा बालेर कोठा र शरीर न्यानो बनाउने कुरा स्वाभाविक हुन् । न्यानो बनाउँदा भने झ्याल, ढोका र पर्दा सबै बन्द गर्नुहुन्न । भेन्टिलेसन खुला राख्नुपर्छ । बाथरुममा नुहाउँदा भेन्टिलेसन सधैँ खुला राख्नुपर्छ ताकि कार्बन मोनोअक्साइड कोठाभित्र गुम्सेर नबसोस् र यसले पोइजनिङको अवस्था नलिएर आओस् ।’

झ्याल र ढोका बन्दा हुँदा कोठा गुम्सिएर कार्बन मोनोअक्साइड विषालु ग्यास पनि उत्पन्न हुन्छ । डा. बमका अनुसार कोठाको झ्याल र ढोका बन्द गर्दा कार्बन मोनोअक्साइड अत्यधिक मात्रामा उत्पन्न गराइदिन्छ र कोठामा भएको अक्सिजनलाई प्रतिस्थापन गरिदिन्छ । ‘कोठा गुम्सिएर कार्बन मोनोअक्साइड हाम्रो शरीरभित्र फोक्सोको माध्यमबाट श्वास नली हुँदै रगतमा प्रवेश गर्छ । हेमोग्लोबिनसँग मिलेर बनेको अक्सिजनलाई प्रतिस्थापन गरेर कार्बन मोनोअक्साइड हेमोग्लोबिनसँग बाँधिएर बस्छ । त्यो रगत प्रवाह भएर मष्तिष्कसम्म पुग्छ र कार्बन मोनोअक्साइड पोइजनिङ हुन्छ,’ उनी भन्छन् ।

कार्बन मोनोअक्साइड पोइजनिङ हुँदा रिँगटा लाग्ने, चक्कर आउने, बान्ता हुने, आँखा तिरमिराउने जस्ता लक्षणहरू देखिन सक्छन् । अर्धचेत अवस्थामा यी लक्षणहरूलाई अनुभव गर्न नपाइ बेहोस अवस्थामा बिरामीहरू भेटिने र समयमा उद्धार नगरिएको खण्डमा कतिपयको मृत्यु नै हुने चिकित्सक बताउँछन् । लामो समय बेहोस अवस्थामा हुँदा दिमाग सुन्निने, मुटुको चाल बन्द हुने गर्दछ । छाती रोग विशेषज्ञ डा. प्रज्वल श्रेष्ठ भन्छन्, ‘आगो बाल्दा अक्सिजन आवश्यक पर्दछ । आगो बल्दा कोठाभित्र रहेको अक्सिजन खपत हुन्छ । बन्द कोठाभित्र चाहे त्यो बाथरुम होस् वा कोठा अक्सिजनको मात्रा कम हुन्छ र कार्बन मोनोअक्साइड ग्यास पनि उत्पन्न हुन्छ ।’ कोठा गुम्सिँदा टाउको झुम्म हुने तथा भारी हुने, टाउको दुख्ने अनि बेहोस् हुने खालका लक्षण देखिने गरेको उनको भनाइ छ ।

सामान्य सावधानी अपनाउँदा ठूलो दुर्घटनाबाट बच्न सकिने डा. श्रेष्ठको भनाइ छ । जाडो महिनामा सकेसम्म घरभित्र बन्द कोठामा आगो र कोइला नबाल्न उनी सुझाव दिन्छन् । ‘पानी तताएर नुहाउँदा पनि बाथरुमको झ्याल ढोका पूर्ण रूपमा बन्द गरेर नुहाउनु हुँदैन, उनले भने ।

विज्ञका अनुसार जाडो महिनामा विद्युतीय हिटर र ‘ब्लोअर’ले सुक्खा हावा फाल्ने हुँदा लामो समयसम्म यसको प्रयोग गर्नुहुन्न । लामो समयसम्म कोठामा हिटर ताप्दा त्यसले घाँटी तथा नाक सुक्खा हुने, घाँटी खसखस हुने खालका लक्षण देखिनसक्छ किनकि प्राकृतिक हावामा आद्रता हुन्छ । जुन हिटर बाल्दा पाइँदैन । विशेषगरी बालबालिका तथा ज्येष्ठ नागरिकलाई यसको बढी जोखिम हुने भएकाले सजग रहनुपर्ने विज्ञको भनाइ छ । डा. श्रेष्ठ भन्छन्, ‘उक्त लक्षणहरु साना बच्चा तथा ज्येष्ठ नागरिकले थाहा पाउन सक्दैनन् त्यसैले सचेत रहनुपर्छ । केही लक्षण देखिहालेमा तुरुन्त कोठा बाहेर निस्किने वा झ्याल ढोका खोलिहाल्नुपर्छ ।’

धेरैजसो घटना बाथरुममा नुहाउन गएको र लामो समयसम्म बेहोसपछि उद्धार गरिएका छन् । लामो समयसम्म बेहोस हुँदा कतिपय अवस्थामा मृत्यु नभए पनि अक्सिजनको कमीले मष्तिष्कलाई क्षति पुर्‍याइसकेको हुन्छ । अक्सिजनको मात्रा केही मिनेटमात्र पनि दिमागमा प्रवाह भएन भने दिमागमा क्षति पुर्‍याउँछ । त्यस्तो बिरामी बाँचे पनि लामो समयसम्म कोमामा जाने अवस्था रहन्छ भने बिरामी श्य्यामा बसेर जीवन बिताउने बाध्य हुन्छन् । त्यसैले जनचेतना जगाउन जरुरी भएको डा. श्रेष्ठको भनाइ छ ।

चिकित्सकहरू ग्यास, गिजर, हिटर र आगो ताप्दा जहिल्यै पनि हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र प्रयोग गर्न सुझाव दिन्छन् । साथै आगो तापिसकेपछि पूर्ण रुपमा निभेको छ कि छैन यकिन गर्ने, कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्ने, आगो ताप्दा वा हिटर बाल्दा छिटो जल्ने चिज जस्तै कागज, कपडानजिकै राखेर नताप्ने, सुत्नुअघि अनिवार्य रूपमा हिटर निभाउने, गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गरेर प्रयोग गर्नुपर्ने चिकित्सकको सुझाव छ ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभाग तथा विभागअन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप–पत्र

काठमाडौँ- कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड रुपैयाँ कृषि अनुदानमा खर्च गरेको छ। मन्त्री

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन पेस गरिएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा आज

काठमाडौँ – सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । सोमबारदेखि लागू हुने गरी नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरको