"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

‘भीभीआईपी’ को बिदाइ र स्वागतमा अब नयाँ व्यवस्था लागु हुदै

प्रकाशित मिति :  १७ मंसिर २०८१, सोमबार ११:४४


काठमाडौँ – राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका अति विशिष्ट र विशिष्ट व्यक्ति विदेश भ्रमण जाँदा र फर्किंदा विमानस्थलमा राज्यका उच्च पदस्थ अधिकारीको लर्को अब घट्ने भएको छ ।

गृह मन्त्रालयले कार्यविधि संशोधनमार्फत अति विशिष्ट र विशिष्टलाई बिदाइ र स्वागत गर्न विमानस्थलमा उपस्थित हुनेको संख्या कटौती गरेको छ ।

‘अति तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन (पहिलो संशोधन) कार्यविधि, २०८१’ मा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमण हुँदा प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभा अध्यक्ष बिदाइ र स्वागतका लागि विमानस्थलमा जानु नपर्ने व्यवस्था छ ।

शक्ति पृथकीकरणको मान्यताअनुसार पनि प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा व्यवस्थापिकाका प्रमुखहरूले बिदाइ र स्वागत गर्नु सही नहुने भएकाले कार्यविधि संशोधन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

अबदेखि राष्ट्रपति विदेश भ्रमणमा जाँदा र विदेश भ्रमणबाट फर्किंदा उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री, परराष्ट्रमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, प्रधानसेनापति, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, शिष्टाचार महापाल (परराष्ट्र मन्त्रालय) र परराष्ट्रले आमन्त्रण गरेका विदेशी नियोगका प्रमुख मात्रै विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुन पाउनेछन् ।

राष्ट्रपति विदेश भ्रमणका क्रममा विमानस्थलको अति विशिष्ट कक्षदेखि जहाज चढ्न जाने ‘मिनी कारगेड’ सम्म ९ जना मात्रै उपस्थित हुन पाउने व्यवस्था गरिएको छ, जसमा उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री, परराष्ट्रमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका सचिव र शिष्टाचार महापाल रहेका छन् ।

उपराष्ट्रपति विदेश भ्रमणमा जाँदा बिदाइ तथा फिर्ता हुँदा स्वागतका लागि प्रधानमन्त्री, परराष्ट्रमन्त्री, प्रधानसेनापति, उपराष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका सचिव, शिष्टाचार महापाल र परराष्ट्र मन्त्रालयले आमन्त्रण गरेका विदेशी नियोगका प्रमुखलाई मात्रै अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रवेश दिइनेछ ।

विमानस्थलको अति विशिष्ट कक्षदेखि जहाज चढ्न जाने मिनी कारगेडसम्म प्रधानमन्त्री, परराष्ट्रमन्त्री, उपराष्ट्रपतिको कार्यालयका सचिव र शिष्टाचार महापाल गरी चार जना मात्रै जान पाउने व्यवस्था कार्यविधिमा गरिएको छ ।

प्रधानमन्त्रीको विदेश भ्रमणमा बिदाइ र स्वागतका लागि कार्यवाहक प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री, परराष्ट्रमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मुख्यसचिव, प्रधानसेनापति, परराष्ट्र मन्त्रालय र सञ्चार मन्त्रालयका सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, शिष्टाचार महापाल र परराष्ट्र मन्त्रालयले आमन्त्रण गरेका विदेशी नियोगका प्रमुख मात्रै अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुन पाउनेछन् ।

विमानस्थलको अति विशिष्ट कक्षदेखि जहाज चढ्न जाने मिनी कारगेडसम्म ६ जना पदाधिकारी मात्रै उपस्थित हुन पाउने व्यवस्था गरिएको छ, जसमा कार्यवाहक प्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, मुख्यसचिव, परराष्ट्र मन्त्रालयका सचिव र शिष्टाचार महापाल रहेका छन् ।

यसअघि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किंदा अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ तथा स्वागत गर्ने विशिष्ट व्यक्तिहरूको ठूलो लर्को लाग्ने गरेको थियो । त्यसले गर्दा सार्वजनिक सवारी व्यवस्थापनदेखि विमानस्थलमा आवागमन नै प्रभावित हुने गरेको थियो ।

विशिष्ट व्यक्तिहरूको विदेश भ्रमणका कारण सडकदेखि विमानस्थलसम्म सर्वसाधारणले अनावश्यक दुःख पाएको भनी आलोचना हुँदै आएको छ । संशोधित कार्यविधि लागू गरेसँगै अति विशिष्ट र विशिष्ट व्यक्तिको विदेश भ्रमण हुँदा र स्वदेश फर्किंदा सडकदेखि अन्तर्राष्ट्रिय विमानस्थलसम्ममा हुने सुरक्षा चुनौती घट्ने अपेक्षा सरकारले गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले अति विशिष्ट व्यक्तिहरूको वैदेशिक भ्रमणमा बिदाइ र स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो संख्यामा हुने विशिष्ट व्यक्तिहरूको उपस्थितिले व्यवस्थापनमा समस्या भएपछि कार्यविधि संशोधन गर्नुपरेको बताए ।

‘राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री वैदेशिक भ्रमणमा जाँदा बिदाइ र स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने पदाधिकारीको संख्या ठूलो भयो, त्यसले ट्राफिक व्यवस्थापन पनि अस्तव्यस्त भयो भन्ने कुरा आएपछि त्यो संख्यामा कटौती गरिएको छ,’ उनले भने ।

गृह प्रवक्ता तिवारीले मन्त्रिपरिषद्बाट गत बिहीबार पारित कार्यविधि कार्यान्वयनमा आइसकेको बताए । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार चीन भ्रमणमा जाँदा बिदाइका लागि कार्यविधिमा उल्लेख भएका अधिकारी मात्रै विमानस्थलमा जाने उनले जानकारी दिए ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभाग तथा विभागअन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप–पत्र

काठमाडौँ- कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड रुपैयाँ कृषि अनुदानमा खर्च गरेको छ। मन्त्री

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन पेस गरिएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा आज

पोखरा – सूर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेका सातै जनालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत कास्कीले बिहीबार