"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मौरीपालनबाटै वार्षिक ३५ लाख आम्दानी

प्रकाशित मिति :  १८ कार्तिक २०८१, आईतवार २१:०८


पर्वत – कुनै बेला जिल्लामै सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसानका रूपमा चिनिएका मोदी गाउँपालिका–२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाले अहिले व्यावसायिक मौरीपालनमा छन् । सुन्तला छोडेर मह उत्पादनमा हालेका तिमिल्सिनाले अहिले बर्सेनि ३५ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

घर अगाडिको बगैँचामा तीन सयभन्दा बढी सुन्तलाका बोट लगाएर गाउँमा ठूलो सुन्तला बगैँचा बनाएका तिमिल्सिना सुन्तलाका बोट मर्दै गएपछि समस्यामा परेका थिए । सुन्तलामा भविष्य नदेखेपछि मौरीपालनतर्फ आकर्षित भएको उनी बताउँछन् ।

सुरुमा उनले घरको आँगनमा केही मौरी पाल्न थालेका थिए । माहुरीको घार र महको माग बढ्न थालेपछि आफ्नो व्यवसायलाई विस्तार गर्दै लगेको तिमिल्सिना बताउँछन् । पहाडी भेगमा अनुकूल हुने ‘एपि सेरेना’ जातको मौरी पालेको उनले सुनाए । भन्छन्, ‘यहाँ उत्पादन गरेको मह घरबाट नै बिक्री हुने गरेको छ । गुणस्तरीय मह भएकाले डुलाउँदै हिँड्नुपर्ने अवस्था छैन । मागअनुसार ग्राहकलाई पुर्‍याउन सकिरहेको छैन ।’

विभिन्न पालिकाले अनुदानमा वितरण गर्ने घार र मौरीको स्रोतसमेत तिमिल्सिनाको फार्म बनेको छ । कृषि ज्ञान केन्द्र तथा गाउँपालिकाको समन्वयमा गत वर्ष मात्र उहाँले एक सयभन्दा बढी माहुरीका घार बिक्री गरेका छन् ।

घरवरिपरि मौरीका घारैघार छन् । बिहान उठेदेखि साँझ नपरुञ्जेल तीनै मौरीका घारको हेरचाह गर्ने उनको दिनचर्या हो । परिश्रम र मेहनत गर्ने हो भने गाउँमा बसेर पनि लाखौँ आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण तिमिल्सिना बनेका छन् ।

सुरुका केही वर्ष चिसोका कारण ५० प्रतिशत घाटा व्यहोरेका तिमिल्सिनाले पछिल्ला वर्ष सोचे जति आम्दानी हुने गरेको बताए । उनले वर्षमा दुईपटक मह निकाल्ने गरेका छन् । विसं २०५७ देखि व्यावसायिक माहुरीपालन गर्न थालेका तिमिल्सिना जिल्लाकै नमुना मौरीपालक किसान बनेका छन् ।

उत्पादित मह धेरै मात्रामा घरबाट बिक्री हुने गरेको बताउँदै तिमिल्सिनाले काठमाडौँ, चितवन, बुटवललगायत बजारमा ब्राण्ड बनिसकेको जानकारी दिए । ‘कुश्माबजार, बागलुङ, काठमाडौं, पोखरा र बुटबललगायत क्षेत्रबाट पनि व्यवसायीहरू घरमा आएर खरिद गरी लैजाने गरेका छन्’, उनले भने ।

विभिन्न संस्थाको सहयोगमा तालिम लिएपछि तिमिल्सिना मौरीपालनमा हौसिएका थिए। उनले महमात्र होइन, मौरीको घार र गोलासमेत बिक्री गर्दै आएका छन् । मौरीसहितको घार बिक्रीबाट बर्सेनि २० लाख रुपैयाँभन्दा आम्दानी गर्छन् । उनको व्यवसायमा श्रीमती र छोराछोरीले समेत सहयोग गर्ने गरेका छन् ।

मौरीसहितका घार प्रतिगोटा १० हजार र मह प्रतिकिलो एक हजार रुपैयाँमा बिक्री गर्दै आएको उनले बताए । उनले एक सिजनामा सात क्विन्टलभन्दा बढी मह काढ्दै आएको अनुभव सुनाए ।

मौरीपालनमा अन्य पेसा जस्तो एकैपटकमा लाखौँ लगानी गर्न नपर्ने, आम्दानी भने उल्लेख्य हुने यस व्यवसायमा लागेकाहरू बताउँछन् । तरकारी खेती, पशुपक्षी तथा कुखुरापालनमा जस्तो निरन्तर खट्न पनि नपर्ने भएकाले मौरीपालनमा किसानको आकर्षण बढेको अगुवा किसान उमाकान्त शर्माले बताए ।

उनका अनुसार अहिले पर्वतका देउपुर, मल्लाज, भङ्गरा, कुर्घा, ठानामौला, पाङराङ, बाच्छा, लुङ्खुलगायत व्यावसायिक मौरीपालक किसानले बर्सेनि सय बढी मौरीसहितका घार उत्पादन गरेर बिक्री गर्दै आएका छन् । सोही अनुपातमा महसमेत उत्पादन भइरहेको छ ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दैलेख- नाबालकमै आमा गुमाएका दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका-९ का नगेन्द्र खड्का ५० वर्ष पुगे। गाउँमै व्यावसायिक सागसब्जीखेतीबाट वार्षिक पाँच-छ लाख रुपैयाँसम्म आम्दानी

झापा – नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ

काठमाडौँ – चालू आर्थिक वर्षको चार महिनाको राजस्व सङ्कलन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ।

म्याग्दी- दुई महिनामा १ लाख ७३ हजार पर्यटकले मुस्ताङको भ्रमण गरेका छन्। असोज र कात्तिक महिनामा १ लाख ४४ हजार १५५