एमालेको सचिवालय बैठकले गरेका तिन निर्णय

काठमाडौं । नेकपा एमाले सचिवालय बैठकमा नेताहरुको कार्यविभाजन, समसामयिक राजनीतिक अवस्था र सरकारको काम प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । एमालेले पार्टीमा एक व्यक्ति एक पद लागू गर्दै छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली बाहेक राजकीय जिम्मेवारी पाएका अन्यलाई दोहोरो जिम्मेवारी नदिने एमालेको तयारी छ।
उपाध्यक्षमा गुरु बराल मनोनीत
नेकपा (एमाले)ले रिक्त रहेको उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गर्ने निर्णय गरेको छ। बिहीबार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य बराललाई उपाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए। उपाध्यक्ष सुभासचन्द्र नेम्वाङको निधन भएपछि उक्त पद रिक्त थियो। बैठकले मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत गर्ने निर्णय पनि गरेको छ।
प्रदेशमा इन्चार्जहरु फेरबदल
नेकपा एमालेले लुम्बिनी र सुदूरपश्चिमबाहेकमा प्रदेशमा इन्चार्जहरु फेरबदल गरेको छ । बिहीबार बसेको पार्टीको सचिवालय बैठकले लुम्बिनीमा पद्मा अर्याल, सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई यथावत् राख्दै अन्य प्रदेशमा नयाँ इन्चार्ज तोक्ने निर्णय गरेको हो ।
महासचिव शंकर पोखरेलले दिएको जानकारी अनुसार कोशी प्रदेशमा शेरधन राई, मधेश प्रदेशमा लिलानाथ श्रेष्ठ, वाग्मती प्रदेशमा राजन भट्टराई, गण्डकी प्रदेशमा किरण गुरुङ, कर्णाली प्रदेशमा गोरखबहादुर बोगटीलाई जिम्मेवारी दिइएको छ । एमालेले सम्बन्धित भूगोलबाटै प्रदेश इन्चार्ज तोक्ने नीतिअनुरुप जिम्मेवारी हेरफेर गरेको हो ।
१७ केन्द्रीय सदस्य मनोनीत
नेकपा एमालेको सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ। महासचिव शंकर पोखरेलका अनुसार पार्टी प्रवेश गरेका तथा महिला र विभिन्न जनवर्गीय संगठनबाट १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो।
मनोनीत हुनेहरूमा सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट), जितेन्द्र देव (सप्तरी), रामप्रीत पासवान (सिराहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम) र गोविन्द पुन (सल्यान) रहेका छन्।
यस्तै, केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), हरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर), सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की), मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जबेगु (पाँचथर) रहेका छन्।