"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कुशल नेतृत्वको जनअपेक्षा

प्रकाशित मिति :  ३१ जेष्ठ २०८१, बिहीबार १२:५३


मुलुकको मेरुदण्ड राजनीति हो । राजनीतिक दलले नै लोकतन्त्रलाई सबल बनाउने हो । राजनीतिमार्फत मुलुकलाई समुन्नतितर्फ लैजाने मुख्य भूमिका नेतृत्वको हुन्छ । अर्थात् समुन्नति र सुशासनका लागि कुशल नेतृत्व अनिवार्य हुन्छ । राजनीति, समाज, अर्थतन्त्र, कानुन एकअर्काका अन्योन्याश्रित पक्ष हुन् । यीलगायत अन्य बहुपक्षमा सकारात्मक रूपान्तरण ल्याउन एउटा कुशल नेतृत्वको भूमिका अग्रणी हुन्छ । देशको परिस्थितिजन्य अवस्था अनुसार देश र जनताको सर्वोत्तम हितका निमित्त आफ्ना कार्य र उद्देश्य केन्द्रित गरी निश्चित समयमा राजनीतिको सङ्व्रmमणकाललाई सामान्यकृत गर्ने मुख्य जिम्मेवारी नेतृत्वको हुन्छ । राजनीतिक नेतृत्वका सन्दर्भमा आआफ्नै धारणा रहन सक्छन् तर कुशल नेतृत्व चाहिँ कस्तो हो भन्ने जिज्ञासा सर्वत्र देखिन्छ । 

प्रसिद्ध कूटनीतिज्ञ एवं अमेरिकी पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको हालै प्रकाशित पुस्तक ‘लिडरसिप’ मा विश्वका प्रतिष्ठित राजनीतिज्ञमध्ये छ जनाले देश, काल र परिस्थितिमा निर्वाह गरेको भूमिकालाई विश्लेषण गरिएको छ । किसिन्जरले पुस्तकमा विभिन्न उपशीर्षकमा विश्लेषण गर्दै नेतृत्वले देखाएको शासकीय कौशलबारे चर्चा गर्नुभएको छ । कोनार्ड एडेनाउर (जर्मनी), चाल्र्स डी गाउल्ले (फ्रान्स), रिचार्ड निक्सन (अमेरिका), अनवार सदात (मध्य अरब), ली क्वान यु (सिङ्गापुर) र मार्गरेट थ्याचर (बेलायत) बारे किसिन्जरले चर्चा गर्नुभएको छ । 

पुस्तकमार्फत भावी नेतृत्व परिकल्पना कस्तो होला भन्ने निकै सान्दर्भिक र महत्वाकाङ्क्षी विषयलाई उठाउनुभएको छ किसिन्जरले । राजनीतिमा मात्र होइन, कुशल नेतृत्व हरेक बहुआयामिक पक्षमा अनिवार्य आवश्यकता हो तर नीतिहरूको सर्वश्रेष्ठ नीति राजनीतिले त्यस्ता बहुआयामलाई प्रत्यक्ष रूपमा प्रभाव पार्ने हुँदा राजनीतिक नेतृत्वका सन्दर्भमा विश्वभर निकै चासोसाथ हेरिन्छ । राजनीति, समाज र आर्थिक रूपान्तरणका लागि कुशल मियोको भूमिका अद्वितीय रहन्छ । हामीले अन्य आयाममा भन्दा पनि राजनीतिमा कुशल नेतृत्वको अपेक्षा बढी गर्छौं ।

कस्तो हुन्छ कुशल नेतृत्व ?

आदर्श राज्य र कुशल नेतृत्वको कल्पना निकै गहिरो छ । अथवा कल्पनाको राज्य युटोपियन, रामराज्य अयोध्यापुरी, महाभारतकालीन श्रीकृष्णको वृन्दावन, गोकुलधाम कि मथुरा, युधिष्ठिरको हस्तिनापुर कि इन्द्रप्रस्थ, रावणको लङ्का, यशुको भ्याटिकन सिटी, मोहम्मदको मक्का मदिना, कुन हो आदर्श राज्य ? को थिए आदर्श नेतृत्व ? के हुन् आदर्श राज्यका मानकहरू ? प्राचीन पश्चिमा राजनीतिक दार्शनिक सुकरात, प्लेटो, अरस्तु या पूर्वीय दार्शनिक मनु, कौटिल्य र कन्फ्युसियस, को थिए आदर्श नेतृत्व ? मध्य युगका म्याकियावेलीदेखि जोन लक, इमान्युयल कान्ट, रुसो, कार्ल माक्र्स, लेनिन र माओ तथा आधुनिक राजनीतिक दार्शनिक गान्धी, मन्डेला, को थिए त प्रभावशाली नेतृत्व ? यो समग्र राजनीतिशास्त्रकै निम्ति महत्वपूर्ण प्रश्न हुन सक्छ । हामी हरेक कल्पनामा सर्वगुण सम्पन्न नेतृत्वको खोजी गर्छौं । यही हाम्रो कमजोरी छ कि सर्वगुण सम्पन्न नेतृत्व आदर्शमा मात्र हुन सक्छ तर यथार्थ र व्यवहारवादी राजनीतिमा सम्भव छैन । 

पर्फेक्ट लिडर कल्पनाको दुनियाँ युटोपियनमा मात्र सम्भव छ भन्ने तर्क आधुनिक राजनीतिक दार्शनिकले गर्छन् । मानिसका तर्क, वितर्क र सोच अनुसार नेतृत्व फरक फरक शैली र गुणको हुन सक्छ । साँच्चैै सर्वमान्य नेतृत्व चाहिँ कस्तो होला त ? पक्कै पनि राजनीतिको नेतृत्व मात्र सर्वमान्य नहुन सक्छ । विश्वव्यापी व्यापारको सञ्जालबाट आफ्नो साम्राज्य खडा गरेका धनाढ्य पनि त कुशल नेतृत्वकै परिणाम होलान् । खेल जीवनमा पटक पटक उच्च मान पदवी जितेका हस्तीको कलालाई कसरी लिने ? वर्तमान उत्तरआधुनिक समयमा निश्चित भूगोल, निश्चित सङ्घ संस्थालाई मात्र होइन, विश्वलाई नै ‘म्यानिपुलेट’ गरेर शासन गरिरहेका सोसल मिडियाका मालिक पनि कुशल नेतृत्वको हकदार हुन नसक्लान् त ? 

विश्व राजनीतिको वर्तमान परिवेशलाई विश्लेषण गर्ने हो भने सम्पन्नशाली मुलुकका शक्तिशाली नेतृत्वको योगदान पनि आफ्नै स्थानमा महत्वपूर्ण छ । फोब्र्स र टाइम म्यागजिनको सूचीमा सी चिनफिङ, भ्लादिमिर पुटिन, जो बाइडेन, ओल्फ सान्चोस, जेफ बेजोस, वारेन बफेट, बिल गेट्स, नरेन्द्र मोदी, ल्यारी पेज, इमान्युयल म्याक्रोँ र ऋषि सुनकलाई विश्वकै प्रभावशाली नेतृत्वका रूपमा उल्लेख गरिएको छ । किसिन्जरले उल्लेख गरेजस्तै निश्चित मापदण्ड र सूचकबाट प्रभावशाली नेतृत्व चुन्नु निकै कठिन विषय हो तर निश्चित समय र सीमित स्रोतसाधनबाट मुलुकको एक युगको आकाङ्क्षालाई अगाडि बढाएर नयाँ व्यवस्था स्थापित गर्न सक्नु नेतृत्वको सफलता हो । 

नेपाली राजनीतिमा नेतृत्व  

नेपालको सन्दर्भमा भने हेनरी किसिन्जरले तुलना गरेजस्तै नेतृत्व विगत र वर्तमानमा कस्तो छ ? भविष्यमा कस्तो होला ? के नेपालमा प्रभावशाली नेतृत्व उदयको सङ्केत वा लक्षण देखिन्छन् ? भन्ने अर्थपूर्ण खोज निकै चाखलाग्दो छ । नेपालको राजनीतिक कालखण्डका विभिन्न आरोहअवरोहमा सङ्घर्ष गरेका समकालीन नेतृत्व किसिन्जरका नजरमा परे या परेनन् ? हाम्रो इतिहासलाई किसिन्जरले महŒव दिए अथवा दिएनन् ? नेपाली भूमिले इतिहासको कालखण्डमा त्यस्ता नेतृत्वको जन्म दिनै सकेन त ? 

नेपालको राजनीतिक कालखण्डलाई मुख्यतः तीन चरणमा राखेर चर्चा गर्न सकिन्छ । पहिलो प्रजातन्त्र प्राप्तिपूर्वको समय, दोस्रो, प्रजातन्त्रपछिको समय र तेस्रो, जनआन्दोलनदेखि गणतन्त्र हुँदै हालसम्मको समय । यस लेखमा विशेषतः प्रजातन्त्र प्राप्तिपश्चात्को समयलाई जोड दिन खोजिएको छ । १०४ बर्से जहानियाँ राणा शासनको अन्त्य र लामो विरासत बोकेको राजतन्त्र अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापनाका नायकलाई बिर्सन मिल्दैन । प्रजातन्त्रमार्फत नागरिकको अधिकार सुनिश्चित गर्ने नेतृत्वदायी भूमिकामा बिपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतका नेताको योगदान अविस्मरणीय छ । निरक्षरतामा निदाइरहेको समाजलाई राजनीतिक चेतनामार्फत ब्युँझाएर व्यवस्थाकै परिवर्तन गर्नु सामान्य कर्म होइन । 

पञ्चायती शासन ढालेर जनआन्दोलनमार्फत बहुदलीय व्यवस्थाको स्थापना गर्ने अथक नायकलाई पनि यहाँ बिर्सन मिल्दैन । जनताको बहुदलीय जनवादलाई व्याख्या गर्ने मनमोहन अधिकारी, पुष्पलाल र मदन भण्डारीजस्ता स्वच्छ नेतृत्वले प्रतिपादन गरेका सिद्धान्त पनि युगीन छन् । राजनीतिक उतारचढावबिच १० वर्षसम्म सशस्त्र द्वन्द्व हाँकेका पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराई, मोहन वैद्यलगायतले हाँकेको माओवादीलाई शान्ति वार्तामार्फत राजनीतिको मूल प्रवाहमा ल्याउने गिरिजाप्रसाद कोइरालाको नेतृत्व यहाँनेर स्मरणीय छ । अर्कातर्फ गणतन्त्र, संविधान, सङ्घीयता, समावेशी, समानुपातिक व्यवस्था र सामाजिक न्यायका सूत्रधार प्रचण्ड–बाबुरामलाई नै मान्नु पर्छ । जनप्रतिनिधिले लेखेको संविधान जारी गर्ने नेतृत्वमा भने सुशील कोइराला अब्बल ठहरिए । 

समकालीन नेपाली राजनीतिको नेतृत्वको चर्चा गर्ने हो भने शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी ओली शीर्ष स्थानमा देखिन्छन् । विगत तीन दशकदेखि प्रत्यक्ष अप्रत्यक्ष रूपमा यिनै नेतृत्वले शासकीय बागडोर समालिरहेका छन् तर अपेक्षाकृत उपलब्धि हासिल हुन सकेको छैन ।  

भावी नेतृत्वको अपेक्षा

नेपालमा पछिल्लो राजनीतिक व्यवस्था बदलिएपछि आमअपेक्षामा जनताको अवस्था पनि बदलिन्छ भन्ने थियो । राजनीतिक अधिकारको अथक लडाइँबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र जस्तो जनकेन्द्रित व्यवस्था लागु भयो तर जनताका दिमागमा सञ्चार भए जस्तो महत्वाकाङ्क्षी रूपान्तरण देखिएन । राजनीतिक स्थिरता कायम हुन सकेन । राजनीतिक, आर्थिक, सामाजिक आयाममा देखिएका वितृष्णा राजनीतिक नेतृत्वप्रति पोखिएको छ । 

नेपालको भावी राजनीति यिनै कम्प्लेक्ससिटी र सिम्प्लिसिटीका आयामलाई कसले कुशलतापूर्वक सञ्चालन गर्न सक्छ भन्ने विषयमा निर्भर रहन्छ । राजनीति संवेदनशीलता र सम्भावनामा दुवै अवसर र चुनौतीले भरिएको हुन्छ । एउटा कुशल राजनीतिज्ञले शासकीय नेतृत्व गर्न पायो भने जरैदेखि परिवर्तनको प्रयत्न गर्छ । त्यसले जग राख्छ । बलियो जग भनेको बलियो व्यवस्था हो । व्यक्तिको शक्तिले होइन कि व्यवस्थाको बलले मुलुकमा सुशासनको अभ्यास र समुन्नतिको जग बस्ने हो । नेतृत्वले कानुनी शासनप्रति पूर्ण प्रतिबद्धता कायम गरेको हुनुपर्ने अनिवार्य सर्त हो । प्रियतावादको भिडबाट प्रेरित, भयभीत र उद्वेलित नेतृत्वले मुलुकलाई उचाइमा लैजान कदापि सक्दैन । 

पछिल्लो समय वैकल्पिक राजनीतिको वेगले अनपेक्षित  नतिजा  देखाइरहेका  छन् । राजनीति  र सामाजिक संरचनामा आएका परिवर्तनले प्रियतावादी नेतृत्वको स्वप्नदर्शिताको अपेक्षा बढ्दो छ । पुराना र ठुला दलहरूले केही पनि गरेनन्, भ्रष्टाचारको विकृति र अविकासका कारक यिनै हुन्, त्यसैले हामी समाजमा जरैदेखि परिवर्तन ल्याउँछौँ भन्ने भाष्य सिर्जना गरेर राजनीतिक मैदानमा उत्रिएकाहरूको विगत र वर्तमानको कार्यशैलीबाट भविष्यमा कस्तो नेतृत्वको अपेक्षा गर्न सकिन्छ ? कानुनी शासन र सुशासनका नारा लगाउनेहरूका व्यवहारमा उस्तै प्रवृत्ति पाइन्छ त ?  

राजनीतिक परिपक्वता र कौशल कति महत्वपूर्ण छ भन्ने कुरा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले नै बताउँछ । सामाजिक सञ्जालको स्वप्न शासनबाट यथार्थमा अवतरण हुने शासन कुन हो ? नागरिकका अधिकार, सामाजिक सुरक्षा, सामाजिक न्याय, सुशासन र समुन्नतिसहितको लोककल्याणकारी शासन व्यवस्थाका लागि कस्तो नेतृत्व चाहिन्छ ? अपवादबाहेक युवावयमा राज्यसत्ताको नेतृत्व गरेका कति नेतृत्व सफल 

देखिन्छन् ? राजनीतिले गरेको समाजको परिकल्पना के हो ? समाजले निर्देश गरेको राजनीति कस्तो हुनुपर्ने हो ? समाजको माग राजनीतिज्ञको दृष्टिमा किन पर्दैन ? राजनीतिमार्फत समाजमा के र कस्ता प्रभाव परेका छन् ? यस्ता प्रश्नले सार्थक उत्तरको खोजी गरिरहेका छन् । यसर्थ कुशल नेतृत्वले आममानिसका यस्ता प्रश्नको शीघ्र सम्बोधन गर्ने प्रयत्न गर्नु पर्छ । अन्यथा प्रियतावादी नेतृत्वको जनअपेक्षाले कतै लोकतन्त्र पनि अयोग्यको शासन बन्न त पुग्दैन ?   



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

वीवीसी/ एजेन्सी । संयुक्त राष्ट्रसङ्घको एक नयाँ प्रतिवेदनका अनुसार विश्वको जनसङ्ख्या ८ अर्ब २० करोडबाट १० अर्ब ३० करोड पुग्ने

सार्वजनिक आर्थिक क्रियाकलापको लेखाजोखा गरी मुलुकमा वित्तीय जवाफदेहिता तथा पारदर्शिता कायम गर्न सर्वोच्च लेखा परीक्षण संस्थाको स्थापना गर्ने विश्वव्यापी मान्यता छ

संविधानको धारा ४० मा पहिलो पटक दलित हकको सुनिश्चित गरिएको छ । संविधानमा राज्यका सबै निकायमा दलितलाई समानुपातिक समावेशी सिद्धान्तको

असारको पहिलो हप्ता भएको हुँदा यतिबेला सबैजसो स्थानीय तहहरू नीति तथा कार्यक्रम र बजेट तयारीका क्रममा व्यस्त छन्। आ–आफ्नो तहमा