"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एसीसी ट्वान्टी-२० प्रिमियर कप आजबाट सुरु

प्रकाशित मिति :  ३० चैत्र २०८०, शुक्रबार १३:२३


काठमाडौँ । एसीसी ट्वान्टी–२० प्रिमियर कप शुक्रबार ओमानमा सुरु भएसँगै नेपालको अन्तर्राष्ट्रिय क्रिकेटमा वास्तविक परीक्षा हुनेछ । नेपालले विदेशी भूमिमा दुई महिना अन्तरमा प्रिमियर कप र ट्वान्टी–२० विश्वकप गरी दुई महत्त्वपूर्ण प्रतियोगिता खेल्दै छ । 

नेपालले पछिल्लो १५ महिनामा पाएका उल्लेखनीय सफलताहरू गृहमैदानमा थिए । यही अवधिमा नेपाली टोली घरेलु मैदानमा खेलेका विश्वकप लिग २ का सबै ८ खेल जित्दै एकदिवसीय अन्तर्राष्ट्रियमान्यता बचाउनुका साथै सोझै विश्वकप छनोटमा पुगेको थियो ।

प्रिमियर कपको एकदिवसीय संरचनामा पनि नेपालले घरेलु मैदानको फाइदा उठाएको थियो । नेपालले अपराजित रहेर विजेता बन्दै पहिलो पटक एसिया कप खेलेको थियो । नोभेम्बरमा घरेलु मैदानमा सम्पन्न ट्वान्टी–२० विश्वकपको एसिया छनोटमा फाइनलमा पुगेर नेपाल दोस्रो पटक विश्वकपमा पुगेको थियो । नेपालले जुनमा अमेरिका र वेस्ट इन्डिज गएर ट्वान्टी–२० विश्वकप खेल्दै छ ।

प्रशिक्षक मोन्टी देसाई र नेपाली टोलीसामु घरेलु मैदानमा देखाएको उच्च प्रदर्शनलाई विदेशी भूमिमा पनि निरन्तरता दिनुपर्ने ठुलो चुनौती छ । विशेष गरी विदेशी भूमिमा नेपालको प्रदर्शन सोचेजस्तो हुन सकेको छैन । दुई वर्षअघि ओमानमै भएको ट्वान्टी–२० विश्वकप छनोटमा नेपाल सेमिफाइनलमै रोकिएर विश्वकपमा पुग्न असफल भएको थियो ।

नेपालले पछिल्लो दुई महिनामा पर्याप्त अन्तर्राष्ट्रिय क्रिकेट खेलेको छ । यसक्रममा नेपालले क्यानडा, नामिबिया र नेदरल्यान्ड्ससँग गरी सात एकदिवसीय अन्तर्राष्ट्रिय तथा नौ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलिसकेको छ । आयरल्यान्ड उल्भस (ए) सँग दुई ट्वान्टी–२० खेल्दै नेपाली टोली भारतको गुजरातमा स्थानीय ट्वान्टी–२० प्रतियोगिता खेल्न गएको थियो । नेपाली टोली भारतबाटै ओमान पुगिसकेको छ ।

नेपालले शुक्रबार मलेसियासँग खेलेर एसीसी ट्वान्टी–२० प्रिमियर कपको यात्रा सुरु गर्दै छ । ओमानमा १० राष्ट्रबीच हुने प्रतियोगिता विजेता टोलीले अर्को वर्ष हुने एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँग खेल्न पाउने छ । प्रिमियर कपमा नेपालले समूह चरणमा मलेसियासहित कतार, हङकङ र साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ । अर्को समूहमा यूएई, ओमान, कुवेत, बहराइन र कम्बोडिया छन् ।

नेपालका लागि सेमिफाइनलमा पुग्नु खासै चुनौती नबन्ला । तर ट्वान्टी–२० मा सबै टोली उस्तै हुने हुनाले नेपाल त्यसप्रति सजग हुनुपर्छ । मलेसिया, कतार र हङकङसँग विगतमा नेपाल पराजित भएको इतिहास पनि छ । अक्टोबरमा काठमाडौंमा सम्पन्न एसिया कप छनोटमा मलेसियाले बनाएको १ सय ६५ रनको चुनौतीलाई नेपालले १८ ओभरमै पूरा गरेको थियो । नेपालले आफ्नो स्वाभाविक खेल खेल्ने हो भने सेमिफाइनलमा यूएई, ओमानजस्ता टोलीविरुद्ध खेल्ने निश्चितजस्तै छ ।

ब्याटिङमा केन्द्रित हुँदै आएको नेपालबाट कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, कप्तान रोहित पौडेल, कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी जस्ता शीर्षक्रमका ब्याटर छन् । दीपेन्द्रसहित गुलशन, करण केसी, सोमपाल कामीजस्ता अलराउन्डरले नेपाली ब्याटिङ मजबुत देखिँदा स्पिन बलिङमा भने कमजोर देखिँदै आएको छ ।

ललित राजवंशीमात्र नेपाली टोलीमा विशेषज्ञ स्पिनर हुन् । तर, उनै ललितको प्लेयिङमा स्थान निश्चित हुन सकेको छैन । उनलाई दीपेन्द्र र कुशल मल्लले स्पिनमा सहयोग गर्दै आएका छन् । रोहित र कुशल भुर्तेल कामचलाउ स्पिन बलरको भूमिका निभाउँदै आएका छन् ।

नेपालका प्रशिक्षक देसाईले सोमपाल, करण, गुलशन, अविनाश बोहरा गरी चार मध्यम गतिका बलर खेलाउँदै आएका छन् । ट्वान्टी–२० विशेषज्ञ बलर अविनाशको प्रदर्शन एकरुप हुन नसक्नु नेपालका लागि चिन्ताको विषय बन्दै आएको छ ।

दुई वर्षअघि ओमानमा खेलेको नेपाली टोलीबाट बलरमा उनीमात्र हाल खेलिरहेका छन् । सोमपाल त्यतिखेर अस्वस्थताका कारण मस्कट गएका थिएनन् भने करण पनि अन्तिम समयमा फिट हुन नसकेपछि टोलीबाट बाहिरिएका थिए । गुलशन र कुशल मल्ल नेपाली टोलीको वास्तविक संरचनामा आइसकेका थिएनन् । त्यसैले अविनाशको पछिल्लो ओमान भ्रमणको अनुभव नेपाली टोलीले लिन सक्नुपर्छ । गुलशनले २०२१ मा अमेरिकासँग लिग २ को खेलबाट ओमानमै आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय ‘डेब्यु’ गरेका थिए ।

एसियाली क्रिकेट परिषद् (एसीसी) ले हरेक दुई वर्षमा एसिया कप आयोजना गर्ने गर्दछ, जसमा पालैपालो एकदिवसीय र ट्वान्टी–२० संरचनामा प्रतियोगिता हुँदै आएको छ । अर्को वर्ष ट्वान्टी–२० संरचनाको पालो छ । नेपालसामु पहिलोपल्ट ट्वान्टी–२० संरचनाको एसिया कप खेल्न पाउने अवसरको रूपमा प्रिमियर कप रहेको छ ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। वेष्ट इण्डिज ए ले दोस्रो टी-२० खेलमा घरेलु टोली नेपाललाई १० रनले हराएको छ । योसँगै पाँच खेलको टी-२०

काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेष्ट इण्डिज ए लाई ४ विकेटले हराएको छ । २०५

काठमाडौँ । आईसीसी टी-२० विश्वकपको तयारीका लागि वेस्टइन्डिज ‘ए’ विरुद्ध खेल्ने शृंखलाका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ ।

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको छ । प्रतियोगितामा