"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उपनिर्वाचन : इलाम- २ मा २० जनाको उम्मेदवारी

प्रकाशित मिति :  २५ चैत्र २०८०, आईतवार १५:०७


काठमाडौं । आगामी वैशाख १५ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि इलाम–२ मा २० र बझाङ १ (१) मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । संविधानसभा अध्यक्ष तथा एमाले नेता सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको इलाम–२ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि शनिबार दलका १२ जना र स्वतन्त्र ८ जनाले उम्मेदवारी दिएका हुन् । 

यहाँ कांग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादीलगायत १२ राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । कांग्रेसका डम्बर खड्का, एमालेका सुहाङ नेम्वाङ, रास्वपाका मिलन लिम्बू, एसका जितबहादुर राईलगायतले उम्मेदवारी दर्ता गराएका छन् । एमाले उम्मेदवार सुहाङ संविधानसभा पूर्वअध्यक्ष नेम्वाङका छोरा हुन् । माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले भने नेम्वाङलाई समर्थन गर्ने जनाएको छ ।

सत्ता गठबन्धनमा आबद्ध दल रास्वपा र एस भने एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा उत्रिने भएका छन् । २०७९ को निर्वाचनमा कांग्रेस, माओवादी र एसको गठबन्धनका उम्मेदवार कांग्रेसका खड्कालाई नेम्वाङले १ सय १४ मतको झिनो अन्तरले हराएका थिए । नेम्वाङले ३० हजार २० र खड्काले २९ हजार ९ सय ६ मत पाएका थिए । रास्वपाबाट प्रकाश सापकोटाले १ हजार ३ सय ८० मत पाएका थिए । समानुपातिकतर्फ रास्वपाले ४ हजार ६ सय ८६ मत ल्याएको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनिबहादुर लिम्बूले पनि मनोनयन दर्ता गराएका छन् । त्यस्तै राप्रपाबाट लक्ष्मी गुरुङ, राप्रपा नेपालबाट गणेशबहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन दलबाट जयवन्तविक्रम शाह, नेपाली जनता दलबाट रेशमबहादुर सुनार, नेसनल रिपब्लिकन पार्टीबाट धनराज रानामगरको उम्मेदवारी दर्ता भएको छ ।

पहिचानवादी नेता डकेन्द्रसिंह लिम्बू, डाकप्रसाद गौतम, अर्जुनकुमार शाही, केशवकुमार चापागाईं, दीपेश बोहरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बस्यालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जनाए । उनका अनुसार उम्मेदवारविरुद्ध आइतबार ३ बजेसम्म उजुरी दिन सक्ने तालिका छ । उपनिर्वाचनका लागि ७९ मतदानस्थल र १ सय ४९ मतदान केन्द्र रहेको निर्वाचन आयोगले जनाएको छ । इलाम–२ मा करिब १ लाख १५ हजार ८ सय ८९ जना मतदाता छन् ।

बझाङ १ (१) मा १२ दलका उम्मेदवार

बझाङ १ (१) मा प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि १२ दलबाट उम्मेदवारी परेको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री एवं प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । कांग्रेसका तर्फबाट सिंहकै छोरा अभिषेकबहादुर सिंहले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनका दलहरूले पनि उपनिर्वाचनमा छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनको ठूलो दल एमालेका तर्फबाट दमन भण्डारी उम्मेदवार छन् ।

गठबन्धनकै अर्को दल माओवादीका जनक बुढाले पनि उम्मेदवारी दिएका छन् । इलाममा माओवादीले एमाले उम्मेदवारलाई सघाएबापत बझाङमा आफ्नो उम्मेदवारलाई एमालेले सघाउनुपर्ने माग माओवादीले राख्दै आएको थियो । तर एमालेले पनि उम्मेदवारी दिएको छ । सत्ता गठबन्धनकै अर्को घटक एसका तर्फबाट दिलबहादुर सिंह तथा राप्रपाबाट किशोर खड्काको उम्मेदवारी दर्ता परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएका छ ।

यी सबै दल उम्मेदवारी दर्ताका क्रममा बाजागाजा र जुलुससहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । उम्मेदवारी दर्ता गराउनेमा राष्ट्रिय मातृभूमि पार्टीबाट विनोद थापा, जनता दलका अशोक सुनार, नेमकिपाबाट खगेन्द्र शाही र नेसनल रिपब्लिकबाट कमल घर्तीमगरले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रकाश सिंहले बताए । यस्तै जनता समाजवादीबाट रामबहादुर जाग्री, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दिपकबहादुर खड्का र जनमत पार्टीका सुशीलादेवी विष्टले उम्मेदवारी दिएको सिंहले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने खेतमा खरबुजा लगाएर अरूलाई लोभ्याउने गरी आम्दानी गरेका छन्।करिब तीन

काठमाडौँ । घुस रकमसहित पक्राउ परेका भनिएका दुईजनामध्ये एकले सफाइ पाएका छन् भने अर्का एकजनालाई कैद सजाय हुने भएको छ।

काठमाडौँ । ७० प्रतिशतभन्दा बढी आप्रवासी कामदार गर्मी र जलवायु परिवर्तनको जोखिममा परेको एक अध्ययन देखाएको छ। नेशनल इन्स्टिच्युट अफ अकुपेशनल

काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको