"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रियसभा निर्वाचन : छ दलबाट यस्ता छन् उम्मेदवार

प्रकाशित मिति :  २३ पुष २०८०, सोमबार १६:५५


काठमाडौँ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि आज (सोमबार) सातै प्रदेशमा रहेका प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवार मनोनयन भए । आगामी फागुन २० गते राष्ट्रपतिद्वारा मनोनीत एकसहित २० पद रिक्त हुँदैछ। उक्त रिक्त पद (१९) पूर्तिका लागि माघ ११ गते निर्वाचन हुन लागेको हो।

संवैधानिक प्रावधानअनुसार राष्ट्रियसभा सदस्यको पदावधि सकिनुभन्दा एक महिनाअघि निर्वाचन गराउनुपर्छ। फागुन २० देखि राष्ट्रियसभा अध्यक्षसहितको पद रिक्न हुनेछ। फागुन २० गते कार्यकाल सकिनेमा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टीका १, स्वतन्त्र १ र राष्ट्रपतिद्वारा मनोनित १ जना छन्।

२० सिटका लागि सत्ता गठबन्धन दलले भागबन्डा गरेका छन्। जसमध्ये निर्वाचन हुने १९ सिटमध्ये नेपाली कांग्रेसले १० सिट भाग पाएको छ भने माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिटमा भाग पाएको छ। गठबन्धन दलले भागबन्डा गरेअनुसार र दलका मतदाताअनुसार हिसाब गर्दा गठबन्धनका सबै उम्मेदवारको जित पक्का छ। प्रमुख प्रतिपक्षी दल एमालेले भने १९ वटै पदमा आफ्नै उम्मेदवार उठाएको छ।

नेपाली कांग्रेस – नेपाली कांग्रेसले गठबन्धन दलसँगको भागबन्डामा पाएको १० वटै सिटमा उम्मेदवारी दर्ता गरिसकेको छ। कांग्रेसका १० मध्ये सभापति शेरबहादुर देउवा समूहका ६ जना, शेखर-गगन समूहका ३ जना, प्रकाशमान सिंह समूहलाई १ सिट दिइएको छ। कांग्रेसभित्र सिट बाँडफाँटका लागि चर्को विवाद भएको थियो।

कांग्रेसले कोशी प्रदेशको अन्यबाट पूर्वमहामन्त्रीसमेत रहेका कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाएको छ।

त्यस्तै मधेश प्रदेशको अन्य कोटाबाट आनन्दप्रसाद ढुंगाना उम्मेदवार छन्।

बागमती प्रदेशमा महिलातर्फ विष्णुदेवी पुडासैनी र अन्यतर्फ जीतजंग बस्नेत उम्मेदवार छन्। बस्नेत देउवा समूहका उम्मेदवार हुन् भने पुडासैनी प्रकाशमान सिंह समूहका हुन्।

कर्णालीको अन्य कोटामा कृष्ण रोकाया, सुदूपश्चिमको अपाङ्गतातर्फ नारायण दत्त भटट र अन्यमा बलदेव बोहराले उम्मेदवारी दिएका छन्। उनीहरू सबै देउवा समूहका हुन्।

गण्डकी प्रदेशको अपाङ्गतातर्फ पदमबहादुर परियार र अन्यतर्फ किरणबाबु श्रेष्ठले टिकट पाएका छन्। उनीहरू दुवै शेखर कोइराला समूहका हुन्।

लुम्बिनी प्रदेशमा शेखर समूहकी विष्णुदेवी सापकोटा महिलातर्फबाट उम्मेदवारी दिएकी छन्।

नेकपा एमाले – प्रमुख प्रतिपक्षी नेकपा एमाले राष्ट्रियसभाको निर्वाचनमा १९ वटै पदमा उम्मेदवार उठाएर एक्लै चुनावमा होमिएको छ। सत्तागठबन्धनसँग केही सिट माग्न पुगेको एमाले अन्तिममा सिट नपाउने पक्का भएपछि एक्लै चुनावमा गएर १९ वटै पदमा उम्मेदवारी दिएको हो।

एमालेले कोशी प्रदेशमा महिलाबाट सुनसरीका रुक्मिणी कोइराला, अन्यबाट भोजपुरका पर्शुराम अधिकारीलाई उठाएको छ।

मधेश प्रदेशमा महिलाबाट पर्साकी उषादेवी थरुनी, अन्यबाट महोत्तरीका विजय झालाई उम्मेदवार भएका छन्।

बागमती प्रदेशमा महिला कोटातर्फबाट दोलखाबाट रोचकुमारी चौलागाईं, अन्यबाट चितवनका त्रिलोचन निर्मल पौडेल, अपाङ्गता-अल्पसंख्यकबाट काठमाडौँका विवेक देवकोटा, दलितबाट धादिङका ध्रुवराज विश्वकर्मा उठ्दैछन्।

यता गण्डकीमा महिलाबाट गोरखाकी सम्झना देवकोटा, अन्यबाट स्याङ्जाका चक्रबहादुर पराजुली र अपाङ्गता-अल्पसंख्यकबाट मुस्ताङका हेमन्द्र शेरचन उम्मेदवार भएका छन्।

लुम्बिनीमा महिलाबाट दाङकी तुलसाकुमारी केसी, अन्यबाट पाल्पाका झपेन्द्रबहादुर घर्ती क्षेत्री लाई उम्मेदवार बनेका छन्।

कर्णालीमा महिलाबाट हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट, दलितबाट दैलेखका हिक्मत विक उम्मेदवार बनेका छन्।

सुदूरपश्चिममा महिलाबाट एमालेले कैलालीकी सावित्रादेवी घिमिरे, अन्यबाट कन्चनपुरका ईश्वरीप्रसाद खरेल र अपाङ्गता-अल्पसंख्यकबाट कैलालीका रामचन्द्र जोशीलाई उम्मेदवार बनाइएको छ।

नेकपा माओवादी केन्द्र – सत्ताको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्र यसपटकको उम्मेदवार छनोटमा कम विवाद भएको दल हो। यद्यपी मधेशमा भने माओवादी विवादमुक्त हुन सकेको छैन। गठबन्धनमा भागमा परेको ६ सिटमा माओवादीले कोशी प्रदेशमा चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको छ।

त्यस्तै बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरुपा शर्मा, कर्णालीबाट विष्णु विक, लुम्बिनीबाट झक्कु सुवेदी र सुदूरपश्चिमबाट रेणु चन्दलाई उम्मेदवार बनाएको छ। उनीहरू सबैले उम्मेदवारी दर्ता गरिसकेका छन्। उनीहरू सबै सत्ता गठबन्धनको साझा उम्मेदवार हुन्।

राप्रपा- राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय सभाको निर्वाचनमा ९ उम्मेदवार उठाएको छ। राप्रपाबाट कोशी प्रदेशमा उद्धव पौडेल तथा बागमतीमा हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट, पूर्णबहादुर विश्वकर्मा, गण्डकीमा गौमाया श्रेष्ठ र रोमबहादुर भण्डारीलाई उम्मेदवार भएका छन्। राप्रपाले लुम्बिनीमा निरञ्जन थापा, विजयलक्ष्मी सिंहलाई उम्मेदवार बनाएको छ।

मधेश प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पनि राप्रपाले उमेदवार उठाउने तयारी गरेको थियो। तर स्थानीय तह र प्रदेशमा पार्टीका जनप्रतिनिधि एक-एकजना मात्रै हुँदा प्रस्ताव र समर्थक नै भेटेन।

नेकपा एकीकृत समाजवादी– नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रियसभा निर्वाचनका लागि दुईजना उम्मेदवार उठाएको छ। सत्ता गठबन्धनमा भाग पाएको दुई सिटमध्ये नेकपा एकीकृत समाजवादीले बागमती प्रदेश दलिततर्फ दोलखाका घनश्याम रिजाल र कर्णाली प्रदेशमा महिलातर्फ दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाएको छ।

जनता समाजवादी पार्टी– जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रियसभा सदस्यमा निर्वाचनमा पूजा चौधरीलाई उम्मेदवार बनाएको छ। यसअघि प्रदेशसभा सदस्यको निर्वाचनमा पराजित चौधरीलाई जसपाले राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको हो। जसपाले गठबन्धनमा एक सिट पाएको थियो। सोही एक सिटमा रौतहटकी चौधरीलाई उम्मेदवार बनेकी हुन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले १० वर्षपछि टी-२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्दैछ। आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय

नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने खेतमा खरबुजा लगाएर अरूलाई लोभ्याउने गरी आम्दानी गरेका छन्।करिब तीन

काठमाडौँ । घुस रकमसहित पक्राउ परेका भनिएका दुईजनामध्ये एकले सफाइ पाएका छन् भने अर्का एकजनालाई कैद सजाय हुने भएको छ।